काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढिरहेको छ । निर्वाचनका दिन आ–आफ्नो गृहजिल्लामा पुगेर मतदान गर्न सर्वसाधारण उपत्यका छाड्ने क्रम बढेको हो ।
ट्राफिक प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले हालसम्म करिब सात लाख ५० हजारभन्दा बढी व्यक्तिले उपत्यका छाडिसकेको जानकारी दिए । “निर्वाचनका लागि उपत्यकाबाट बाहिरिने क्रम बुधबारसम्म जारी रहनेछ,” उनले भने, “सार्वजनिक यातायातका साधनहरू खचाखच भरिएका छन् भने निजी सवारीसाधनको आवागमन पनि उल्लेख्य रूपमा बढेको छ ।”
यात्रुको चाप बढेसँगै मुख्य राजमार्ग, बसपार्क तथा उपत्यकाबाट बाहिरिने नाकाहरूमा सवारीसाधनको लामो लाम देखिएको छ । शाहका अनुसार यातायात व्यवस्थालाई थप सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरीको जनशक्ति वृद्धि गरिएकोे छ ।
“सवारीसाधनको चाप बढी हुने क्षेत्रमा अतिरिक्त ट्राफिक प्रहरी परिचालन गरिएको छ भने आवश्यकताअनुसार सवारीसाधनको चाप व्यवस्थापनका लागि नजिकका प्रहरी इकाइसँग समन्वय गरी निगरानी बढाइएकोे छ,” ट्राफिक प्रहरी नायब उपरीक्षक शाहले भने,“निर्वाचन सुरक्षामा खटिएको प्रहरी टोलीले समेत यातायात व्यवस्थापनमा आवश्यक सहयोग गरिरहेको छ ।”
यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै राजमार्गहरूमा गस्ती बढाइएको र आवश्यकता अनुसारका क्षेत्रहरूमा विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले सर्वसाधारणलाई सुरक्षित र संयमित यात्रा गर्न, क्षमताभन्दा बढी यात्रु नचढाउन तथा ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ । साथै, लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था जाँच गर्न र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिइएको छ ।
वि.सं.२०८२ फागुन १९ मंगलवार १७:५४ मा प्रकाशित




























