back
CTIZAN AD

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

वि.सं.२०८३ साउन १८ सोमवार

141 

shares

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई अङ्कित मूल्य अर्थात् प्रतिकित्ता रु १०० मा नै सेयर उपलब्ध गराउन सबै प्रवद्र्धक कम्पनीलाई आग्रह गरेको छ ।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीका अनुसार केही जलविद्युत् आयोजनाको साधारण सेयर निस्कासन प्रक्रियामा भएको ढिलाइका कारणले कतिपय प्रवद्र्धक कम्पनीले स्थानीय प्रभावितका लागि प्रिमियम मूल्यमा सेयर निस्कासन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।

धितोपत्र दर्ता तथा निस्कासन नियमावली, २०७३ अनुसार स्थानीय प्रभावित बासिन्दालाई लाभान्वित गर्ने उद्देश्यले १० प्रतिशत सेयर उपलब्ध गराउने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुरूप अङ्कित मूल्यमा नै सेयर उपलब्ध गराउन सम्पूर्ण सदस्य कम्पनीलाई इप्पानले अनुरोध गरेको छ ।

इप्पानले जलविद्युत् आयोजना केवल लगानीको माध्यममात्र नभई स्थानीय समुदायसँगको विश्वास, सहकार्य र साझेदारीमा आधारित विकासको अभियानसमेत भएको जनाएको छ ।

आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव व्यहोर्ने, निर्माण अवधिका असुविधा सहने तथा आयोजनाको सफल कार्यान्वयनमा प्रत्यक्ष सहयोग गर्ने स्थानीय समुदायलाई स्वामित्वमा सहभागी गराउने उद्देश्यले नै स्थानीयका लागि सेयर छुट्याउने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

स्थानीयका लागि छुट्याइएको सेयर प्रिमियम मूल्यमा निस्कासन गरिए स्थानीय समुदायको पहुँच सीमित हुने, उनीहरूमा आयोजनाप्रतिको अपनत्वको भावना कमजोर बन्ने तथा आयोजना र समुदायबीच वर्षौँदेखि निर्माण भएको विश्वासको सम्बन्धमा नकारात्मक असर पर्न सक्ने इप्पानको ठहर छ ।

अङ्कित मूल्यमा सेयर उपलब्ध गराउँदा स्थानीय समुदाय आयोजनाका वास्तविक साझेदार बन्ने, स्वामित्वको भावना अभिवृद्धि हुने स्पष्ट पारिएको छ । यस्तै, आयोजना निर्माण तथा सञ्चालनका क्रममा देखिने सामाजिक विवाद र अवरोध कम हुने तथा स्थानीयस्तरमा सहयोग र सहकार्य थप सुदृढ हुने विश्वास संस्थाले व्यक्त गरेको छ । यसबाट जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न सहज वातावरण बन्नुका साथै स्थानीय समुदायले दीर्घकालीन आर्थिक लाभ प्राप्त गर्ने अवसर सुनिश्चित हुने, आर्थिक सशक्तीकरण, स्थानीय विकास तथा सामाजिक सद्भावमा समेत टेवा पुग्ने विज्ञप्तिमा उल्लेख छ ।

इप्पानले सरकार, सम्बन्धित नियामक निकाय तथा सबै प्रवद्र्धक कम्पनीलाई स्थानीय प्रभावित बासिन्दाको हित, जलविद्युत् आयोजनाको दीर्घकालीन स्थायित्व तथा निजी क्षेत्र र स्थानीय समुदायबीचको सुमधुर सम्बन्धलाई प्राथमिकतामा राख्न अनुरोध गरेको छ । स्थानीयका लागि छुट्याइने सेयर अङ्कित मूल्य अर्थात् प्रतिकित्ता रु १०० मै उपलब्ध गराउने नीतिलाई निरन्तरता दिनसमेत आग्रह गरिएको छ ।

साथै, साधारण सेयर निस्कासनसँग सम्बन्धित नियामकीय प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउन इप्पानले सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ । सेयर निस्कासनमा भइरहेको ढिलाइका कारण जलविद्युत् आयोजनाले भोगिरहेका समस्या समाधान गर्न तथा समयमै सेयर निस्कासन हुने व्यवस्था मिलाउन सरकार र सम्बन्धित निकायको इप्पानले ध्यानाकर्षण गराएको छ ।

 

वि.सं.२०८३ साउन १८ सोमवार ०६:२६ मा प्रकाशित

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...