back
CTIZAN AD

पाटन विमानस्थल पुनः सञ्चालनमा ल्याउने तयारी

वि.सं.२०७४ साउन ३ मंगलवार

663 

shares

३ साउन , बैतडी। सुदूरपश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा अवस्थित विमानस्थल पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।

विसं २०५२ देखि पूर्णरुपमा बन्द रहेको पाटन विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन काम शुरु भएको हो । विमानस्थललाई १५ महिनाभित्र कालोपत्र गर्ने लक्ष्यसहित ‘कटिङ’को काम शुरु गरिएको छ । गत वर्षको बजेट भाषणमा सरकारले पाटन विमानस्थललाई पुनः सञ्चालनमा ल्याउने प्रतिवद्धतासहित बजेट विनियोजन गरेको थियो । सोहीअनुसार गत मंसिरमा विमानस्थल सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पार्ने काम भयो ।

क्षेत्रफल र वरिपरिको पर्यावरणका दृष्टिले पाटन विमानस्थल उत्कृष्ट रहेको डिपिआरको तयारीमा संलग्न प्रविधिज्ञले बताएका छन् । सोही प्रतिवेदनअनुसार विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन बोलपत्र आह्वान गरिसकिएको मात्र हैन ठेक्का पनि दिइसकिएको छ ।

करिब रु १० करोडको लागतमा विमानस्थललाई कालोपत्र गरिने भएको छ । च्याङमिला गलुवा जगदम्बा जेभी निर्माण कम्पनीले विमानस्थललाई कालोपत्र गर्ने ठेक्का पाएको कम्पनीका स्थानीय प्रतिनिधि दानसिंह रावलले जानकारी दिनुभयो । ठेक्काअनुसार अहिले कटिङको काम भइरहेको छ । यो सकिएपछि ‘फिलिङ’ को काम हुनेछ र त्यसपछि कालोपत्र गरिने छ ।

प्रजातन्त्रको पुनःबहालीसँगै सञ्चालन हुन छाडेको यो विमानस्थल लोकतन्त्रको स्थापनापछि पनि सञ्चालनमा आउन सकेन । फलतः यो विमानस्थल गौचरन, खेलमैदान तथा सवारीसाधन सिक्ने मैदानमा परिणत हुनपुग्यो ।

एमाओवादीको सरकार रहेको बेला तत्कालीन नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्टमगरले सुदूरपश्चिममा रहेका विमानस्थललाई तत्काल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

नेपाल सरकारले घोषणा गरेको दश नमूना शहरमध्येको एकमा पर्ने पाटनमा अवस्थित यो विमानस्थल सञ्चालन हुनसके यहाँ पर्यटकको आगमनमा वृद्धि हुने देखिन्छ ।

बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्यभागमा पर्ने पाटन बैतडीको ‘मिनी’ सदरमुकामका रुपमा परिचित छ । पर्यटकीय आकर्षणको मुख्य केन्द्रबिन्दु रहेको पाटनमा नेपालकै गहिरो गुफा पाताल भुमेश्वर, उदयदेव मन्दिर, त्रिपुरा सुन्दरी, निङलाशैनी मन्दिर, ईश्वरी गंगा धाम, मेलौली भगवती मन्दिर, दोगडा धाम, रौलाकेदार मन्दिर, सिगास धाम जस्ता धार्मिक तथा ऐतिहासिक स्थल रहेका छन् जहाँ पर्यटक भित्र्याउन सकिन्छ ।

विमानस्थललाई सञ्चालनमा ल्याउन सकिए बैतडीसहितका जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रको महत्व बढ्ने तथा सुदूरपश्चिमका जनताको जीवनस्तरमा परिवर्तन आउने स्थानीयवासी कपिल केसीको विश्वास रहेको छ । विमानस्थल पुनः सञ्चालन आए ओझेलमा परेका पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्ने धारणा राख्नुहुने उहाँ भन्नुहुन्छ – “यसले व्यापार व्यवसाय फस्टाउँछ र भारतसँग सीमा जोडिएकाले भारतीय पर्यटकसमेत भित्र्याउन मद्दत गर्छ ।”

बैतडी मात्रै नभएर दार्चुला, डडेल्धुरा र बझाङका लागि समेत पाटन मध्य क्षेत्रमा पर्ने भूभाग भएकाले यहाँको विमानस्थलको सञ्चालनबाट प्रदेश नं ७ का पहाडी जिल्लाका नागरिक लाभान्वित हुने स्थानीयवासी छविराज जोशीले बताउनुभयो । उहाँका अनुसार दार्चुलाको अपि हिमाल, बझाङको साइपाल हिमाल, बैतडीका धार्मिक स्थलको अवलोकन गर्न चाहने पर्यटकलाई भित्र्याउन पनि पाटन विमानस्थललाई पुनःसञ्चालनमा ल्याउन अत्यावश्यक छ । यसको सञ्चालनबाट सीमावर्ती क्षेत्रमा आर्थिक गतिविधि बढ्ने सम्भावना पनि त्यत्तिकै छ ।

लामो समयदेखि बन्द रहेको विमानस्थलमा निर्माणको काम शुरु भएपछि स्थानीय बासिन्दा खुशी देखिएका छन् ।

गौचरण तथा खेलमैदानमा परिणत भएको पाटन विमानस्थल पुनः सञ्चालन हुने भएपछि स्थानीय बासिन्दा हर्षित भएको स्थानीयवासी बसन्त विष्टले बताउनुभयो ।

विगत दुई दशकदेखि बन्द यो विमानस्थलले बैतडीसहित चार जिल्लाको पर्यटकीय सम्भावनालाई उजागर गर्ने र सुदूरपश्चिमकै जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनेमा उहाँ आशावादी देखिनुहुन्छ ।

विसं २०३४ मा सञ्चालनमा आएको यो विमानस्थल विसं २०५२ देखि पूर्णरुपमा बन्द रहँदै आएको छ । सुदूरपश्चिममा कैलालीको गेटा विमानस्थल पछिको सबैभन्दा ठूलो पाटन विमानस्थल हो ।

यो विमानस्थलको धावनमार्गको लम्बाइ नौ सय ५० मिटर रहेको छ । यस विमानस्थलका कार्यालय भवन र अन्य भौतिक संरचना १० वर्ष लामो द्वन्द्वकाल ध्वस्त भएका थिए ।

वि.सं.२०७४ साउन ३ मंगलवार १०:५३ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...