back
CTIZAN AD

नयाँ शिराबाट कुटनीतिक सम्बन्ध सुरु गर्नुपर्छ

वि.सं.२०७४ माघ ८ सोमवार

1.2K 

shares

गणतन्त्र स्थापनाका लागि ठूलो राजनीतिक उपलब्धी ०६२\०६३ को जनआन्दोलनको ११ बर्ष पछि मात्र त्यसको कार्यान्वयन सफल भएको छ । लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक नेपालको संविधान जारी गर्न बनेको पहिलो संविधानसभा विना उपलब्धी अवसान भएपनि दोस्रो पटक गठन भएको संविधानसभा मार्फत दलहरू वि.स. २०७२ असोज ३ गते संविधान जारी गर्न सफल भए । त्यहि संविधानले निर्दिष्ट गरेको समय सीमा भित्रै ३ तहको संरचना स्थापित गर्न पनि दलहरू सफल भए ।

निर्वाचन सँगै देशमा राजनीतिक मुद्दा सकिएको भन्ने गरिएको छ, यद्यपी मधेसका मुद्दा सम्बोधन हुन नसकेको तर्क गर्ने मधेसवादी दलहरूले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा ल्याएको नतिजाले मधेस मुद्दालाई वर्तमान अवस्थामा नै रहिरहन नदिने संकेत गराएको छ ।
नेपालमा संविधान सभाबाट संविधान जारी गर्ने भन्ने वैचारिक बहस बषौंदेखि चलेपनि यो अवस्थामा आएर मात्र पूरा भयो । संविधान जारी भएदेखि संविधान कार्यान्वयनका लागि ३ तहको निर्वाचन सम्पन्न भइरहँदा त्यस बीचका केहि राजनीतिक र कुटनीतिक परिघटनाहरू नेपालका निम्ति नयाँ मोड, अवसर र चुनौतिका रुपमा दर्ज भए ।

यो अर्थमा नयाँ मोड, संविधान जारी गर्दाका बखत छिमेकी मुलुक भारत असन्तुष्ट बन्यो, उसले झोंकमै अघोषित नाकाबन्दी पनि लगायो । नाकाबन्दीका बखत एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले नाकाबन्दीको सामना गर्यो र राष्ट्रियताका सवालमा कसैसँग नझुक्ने स्पष्ट पार्यो । अन्तत्तोगोत्वा भारतीय पक्षको असमझदारीका बीच जारी भएको संविधान अनुरुपै नेपालमा ३ तहको निर्वाचन सम्पन्न भयो र त्यस निर्वाचनमा मधेसवादी दलपनि सहभागी बने । नेपाली राजनीतिमा भारतीय प्रभाव कमजोर बनेको विश्वका शक्ति राष्ट्रहरूले ठम्याइरहँदा अर्को छिमेकी मुलुक चीनको नेपालमा पनि भारतीय पक्षको झैं सकृयता बढ्यो । त्यतिमात्र होइन भारतीय नाकाबन्दीलाई खरोरुपमा सामना गरेको राजनीतिक दल नेकपा एमाले हालै सम्पन्न स्थानीय निकाय, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा देशकै ठूलो दल बन्न पुग्यो । राष्ट्रियताको सवालमा खरो उत्रिएर जनताको भावनात्मक साथ पाएको एमाले र नाकाबन्दीका बखत सरकारमा सहभागी दल माओवादी केन्द्र बीच चमत्कारिक ढंगबाट पार्टी एकिकरणनै गर्ने गरी भएको चुनावी तालमेलका कारण नेपालमा वामपन्थी स्थिर सरकार बन्ने आधार खडा गर्यो । जसलाई नेपालको इतिहासमा नयाँ मोडका रुपमा लिन सकिन्छ ।

यो एक अवसर पनि हो । अवसर यो अर्थमा, नेपालमा कम्युनिष्टको स्थिर सरकार बने छिमेकी कम्युनिष्ट मूलुक चीनले नेपाललाई आर्थिक सम्बृद्धि हासिल गर्ने कुरामा साथ दिन सक्ने आधार छन् । चीनले छिमेकी राष्ट्रसँगको सम्बन्धलाई थप सघन र मजबुत बनाउने, क्षेत्र र बाटो परियोजना (ओविओआर) लाई अन्तर्राष्ट्रिय सहयोगको माध्यम बनाउने नीतिलाई चीनको राजधानी बेजिङस्थित गे्रट हल अफ द पिपलमा गत अक्टोबर १८ देखि २४ सम्म चलेको चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनले पार्टीको विधानमा नै उल्लेख गरेको छ । चिनियाँ समाजलाई सन् २०५० सम्ममा उत्कृष्ट समाज (समाजवाद) मा पुर्याउने लक्ष्य किटान गरको चीनले मुख्य देश कुटनीतिलाई प्राथमिकतामा राखेको छ ।

अन्तर्राष्ट्रिय बजार विस्तारमा लागेको चीनले छिमेकी मूलुक सम्बृद्ध भएमात्र आफ्नो पनि अर्थतन्त्र मजबुत हुने भन्दै छिमेकी मुलुकहरू विकसित र सम्मुनत भएको हेर्न चाहेको बताएका छन् । पछिल्लो समय नेपाल प्रति सघन ढंगले नजिक बन्दै गएको चीनले नेपाल र नेपालीसँग भावनात्मक एकता बलियो बनाउने तर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ । डिसेम्बर ११ तारिखमा चीनको पेचिङमा नेपाली भाषा विशेषज्ञ समिति गठन गरेको चीनले चिनियाँ र नेपाली संस्कृतिलाई एकअर्कामा अनुवाद क्षमतालाई उकास्ने प्रयास गरिरहेको छ ।

२ हजार बर्ष पुरानो नेपाल र चीनको सम्बन्धलाई अझ प्रगाढ बनाउन चीन र नेपाली पक्ष गम्भिर ढंगले लागि पर्नु, शिक्षा, स्वास्थ्य, सेवा र विकास निर्माणमा चीनको सहयोग र सकृयताले आगामी दिनमा चिनियाँ सहयोग नेपाल प्रति थप बढ्ने विश्वास लिन सकिन्छ ।
स्वाभाविक रुपमा एक छिमेकी मूलुकले आफ्नो प्रभाव नेपालमा बढाईराख्दा अर्को छिमेकी मूलुकले पनि नेपालमा आफ्नो प्रभाव टिकाइराख्न सम्बन्ध सुधारका लागि प्रयास जारी राख्दछ । भारतसँगको विग्रँदो कुटनीतिक सम्बन्धमा अब बन्ने सरकारले सहजता स्थापित गर्न नयाँ शिराबाट कुटनीतिक सम्बन्ध सुरु गर्नुपर्ने हुन्छ ।

भारतले हालै सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको नतिजाको स्वागत गर्दै नेपालसँगको सम्बन्ध सुधारका लागि नयाँ शिराबाट अघि बढ्नु पर्ने संकेत गरेको छ । मंसीर २८ गते भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रवीशकुमारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको प्रति सरकार र जनतालाई बधाई दिएको बताएका थिए । साथै लोकतान्त्रिक प्रकृयाबाट आउने नयाँ सरकारसँग मिलेर काम गर्न भारत आतुर रहेको बताएका थिए । यसलाई भारतको नेपालप्रति कुटनीतिक सम्बन्ध सुधारका लागि थालिएको ‘ग्रिन सिग्नल’ मान्नुपर्छ ।

चीन र भारतसँगको सम्बन्ध नयाँ उचाईमा पुर्याउन सके २ छिमेकी मूलुकबाट नै सकारात्मक सहयोग जुट्न सक्छ । त्यतिमात्र होइन युरोपेली युनियनसहित शक्ति देशहरूपनि नेपालमा आफ्नो प्रभाव बलियो नै रहोस् भन्ने चाहन्छन् । वामपन्थी सरकारले चीनसँगको सम्बन्धमा अझ सुधार गरी सहायता वृद्धि गर्न सके समान अस्तित्वका लागि अरु छिमेकी र शक्ति देशले सोहि अनुरुप गतिविधि गर्ने छन् । जसले देशको आर्थिक पक्ष बलियो बन्न सक्छ ।

अब बन्ने नयाँ सरकारले विदेश नीतिमा समयानुसार परिमार्जन गरी नयाँ शिराबाट छिमेकी देश र अरु देशसँगको सम्बन्ध स्थापित गर्न सक्नुपर्छ । यसो गर्न सक्दा विदेशी लगानीमा दीर्घकालिन फाइदाका क्षेत्रमा सहयोग बढ्न सक्छ । अब स्थिर सरकार निर्माण गर्ने कुरामा वामपन्थी दलहरू दलीय स्वार्थभन्दा माथि उठेर सुरक्षाको ग्यारेन्टी गराउन सके आर्थिक सम्बृद्धि तथा रोजगारमूलक क्षेत्रमा विदेशी लगानी ह्वातै बढ्न सक्ने अवस्था छ ।
आन्तरिक उपलब्धीका कुरा गर्नुपर्दा, स्थिर सरकार बनाइराख्न वामपन्थी दल एक ढिक्का भईरहे स्वाभाविक रुपमा देशले आर्थिक उन्नति हासिल गर्न सक्छ । प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा दलहरूबीच भएको चुनावी तालमेलले अव साना झुण्डमा रहेका दल मर्ज हुनु पर्ने अवस्था आएको छ, थे्रसहोल्डलाई सकारात्मक कदम मान्न सकिन्छ ।

अर्को तर्फ चुनौतिका पहाड पनि छन् । वामपन्थीहरूले सरकार चलाउने निश्चित प्रायः छ, नेपाली काँग्रेस प्रतिपक्षी दल हुने अवस्था मत परिणामले देखाएको छ । वामपन्थी दलमा टुटफुटको राजनीति हुने नेपाली इतिहासले पनि दर्शाएकै कुरा हो । स्वेच्छाचारी ढंगले सरकार संचालन भयो भने फेरिपनि देश प्रगतिपथमा जान सक्दैन । त्यतिमात्र होइन ५ बर्ष पछि अहिलेका ठूला दल नराम्ररी खुम्चनुपर्ने स्थिति पनि देखा पर्न सक्छ । यी आन्तरिक राजनीतिका पाटा हुन् । त्यो भन्दा ठूलो चुनौती भनेको छिमेकी मुलुकसँगको सम्बन्ध नै हो ।
नेपाली राजनीतिमा बाह्य हस्तक्षेप जारी रहेका बखत २ ठूला वाम शक्ति पार्टी एकिकरणमा अघि बढ्नु ‘मित्रताको दरिलो ‘आड’ को सम्भावनालाई नकार्न पनि सकिन्न । नेपाल दुई ठूला मूलुकले घेरिएको भौगोलिक दृष्टिले सानो मुलुक हो । अन्य शक्ति राष्ट्रहरूले नेपाललाई चीन र भारतको हरेक गतिविधिलाई शुस्म ढंगले नियाल्ने र त्यस विषयमा गहन अध्ययन गरेर बस्ने एक अध्ययन भूमिको रुपमा लिएका छन् ।

छिमेकी मुलुकहरू र अन्य शक्ति राष्ट्रहरू नेपाल जस्तो विपन्न मुलुकमा आफ्नो प्रभाव जमाइराख्न चाहन्छन् । यो कुरा नेपालका लागि सबै भन्दा ठूलो चुनौतिको विषय हो । यी सबै देशसँगको कुटनीतिक सम्बन्धमा कहिकतै दरार उत्पन्न भएमात्र पनि नेपाल अस्थिर ढंगबाट हिंसा तर्फ उन्मुख हुन सक्ने सम्भावना रहन्छ । दुई छिमेकी मूलुकसँग समदुरी स्थापित गर्न जरुरी देखिएको छ भने शक्ति राष्ट्रहरूसँगको कुटनीतिक सम्बन्ध सुमधुर बनाउन सक्नुपर्छ ।
नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुष्ण राख्दै अब बन्ने सरकारले विदेश नीति नयाँ शिराबाट अगाडी बढाउनुपर्छ ।

वि.सं.२०७४ माघ ८ सोमवार ०७:३३ मा प्रकाशित

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...

 सक्कली माननीय

 सक्कली माननीय

“माननीय” शब्द संस्कृत मूलबाट आएको हो। “मान” अर्थात् सम्मान, आदर,...

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...