१७ असोज,जाजरकोट । यहाँको भेरी नदी तथा साना सहायक नदीमा रहेका दर्जन पुल जीर्ण बन्दै गएका छन् । रुकुम र जाजरकोट दुवै जिल्लाका सरोकारवालाले खासै ध्यान नदिँदा पुल जीर्ण बनेका हुन् ।
समयमा पुल मर्मतसम्भार नहुँदा यात्रु भेरी नदी तथा अन्य नदीमा ज्यानको बाजी लगाएर वारपार गर्न बाध्य भएका छन् ।
जाजरकोट तल्लुबगर र रुकुमको गोतामकोट जोड्ने भेरी नदीको झोलुङ्गे पुल निर्माण भएको ३८ वर्ष भयो तर अहिलेसम्म मर्मत हुन सकेको छैन ।
त्यस्तै राणाकालमा बनेको मटेला पुलदेखि दर्जनौँ स्थानका पुल जीर्ण अवस्थामा रहेका छन् । रिम्ना, चिसा, राडी ज्यूला, तल्लुबगर, दामाचौरलगायत दर्जन बढी स्थानमा रहेका पुल वारपार गर्न धौधौ हुने गरेको भगवती तल्लुबगरका अमर बस्नेतले बताउनुभएको छ ।
पुलका दायाँबायाँ र बीचका लठ्ठा, नटभोल्ट खिया लागेर झरेका छन् तर उक्त पुल मर्मतमा कसैको पनि चासो नगएको उहाँले भन्नुभयो ।
कर्णाली अञ्चलको जुम्ला र डोल्पासम्म आवतजावत गर्ने बाटोमा पर्ने पुल मर्मत नहुँदा घोडा खच्चडबाट सामान ओसारपसार गर्न समस्या हुने गरेको डोल्पाका रामचन्द्र न्यौपानेले बताउनुभयो ।
भेरी नदीबाहेकका अन्य खोलाका पुल पनि जीर्ण अवस्थामा रहेका छन् । जिल्लाको छेडागाड, मजकोट खोला, सरुगाढ, नलसिंहगाडलगायतका खोलाका पुल पनि मर्मत हुन सकेका छैनन् ।
पुल मर्मतका लागि जिविस, जाजरकोट र रुकुम एक अर्काको मुख ताकेर बस्ने गरेकाले पनि समस्या उब्जिएको हो । दुवै जिल्लाको बीचमा बग्ने भेरी नदीको अधिकांश स्थानमा पुल निर्माण भएको वर्षौं बिते पनि मर्मत सम्भारमा कसैले पनि चासो दिएको देखिँदैन ।
जाजरकोट जिल्लामा एक सय बढी झोलुङ्गे पुल रहेका छन् । भेरीका सबै पुल जाजरकोटले नै निर्माण गरेको हो । रासस

