back
CTIZAN AD

फोनको घण्टी

वि.सं.२०८३ असार १४ आइतवार

1.5K 

shares

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र श्रीमती मात्र छन् ।

पहिले यो घर चहलपहलले भरिन्थ्यो । बिहान उठ्नासाथ कोही दौडिन्थ्यो, कोही हाँस्थ्यो, कोही पढाइको तयारीमा हतारिन्थ्यो । तर अहिले सबै सुस्त र शान्त छ । झ्यालको पर्दा हावाले उडाउँदा पनि कसैले थाम्न आउँदैन । कोठाको कुनामा राखिएको बाँसुरी धूलोले ढाकिएको छ, जुन कहिल्यै नबजाइएको सम्झनाको प्रतीक जस्तो भएको छ ।

श्रीमान श्रीमती दुवै बिसौं बर्ष पहिले स्नातकोत्तर गरेका शिक्षित हुन् । श्रीमान् कमल सरकारी जागिर छोडेर बसेको पनि पन्ध्र वर्ष भयो ।

कहिलेकाहीँ उनी आफ्नो पुरानो टेबुलमा बसेर पेन्सिलले केही कोर्छन् । सायद बजेटको लेखाजोखा वा कुनै पुरानो अधुरो योजना । तर उनका आँखा कोराईमा भन्दा बढि मोबाइलतिरै लागिरहन्छ । श्रीमती माधुरी भने सामाजिक अभियन्ता हुन् । समाजमा उनको नामले ठाउँ बनाएको थियो, तर अहिले ती सबै सम्मानहरू पनि कोठाको भित्तामा झुन्डिएका मात्र छन् । उनीहरुले ज्यान गुजाराकै लागी आफना पुराना तक्मा सबै बेचेर भित्तो हलुका बनाएका छन् । जीवन्तता हराइसकेको सजावटमा उनीहरुको ओहोर दोहोर छ ।

उनीहरुका दुई सन्तान । एउटा छोरा, एउटा छोरी । दुवै जना हुर्किए, पढे, र भविष्यको खोजीमा विदेशिए । छोरा अहिले अमेरिकाको एउटा ठूलो प्राविधिक कम्पनीमा इन्जिनियर छ । छोरी अस्ट्रेलियामा अनुसन्धान गर्छे । फोनको पर्दामा कहिलेकाही तिनीहरूको मुहार देखिन्छ, मुस्कान देखिन्छ, तर त्यो पर्दा चिसो छ । त्यसले छुँदैन, अँगालो दिँदैन, राम्ररी सोध्दैन् ।

सुरु–सुरुमा त दैनिक कुरा हुन्थ्यो ।
“बाबा, आमा, कस्तो छ ?”
“हजुरलाई सन्चै छ नी ?”
“खाना खानु भयो ?”

ती सबै कुरा अहिले पुरानो रेकर्डिङ जस्तो लाग्छ । बिहान उठ्नासाथ आमा चिया बनाउँदै भन्छिन्, “आज त छोराको फोन आउँछ होला ?” र बाबु मुस्कुराउँदै भन्थे, “आउँछ, किन नआउने ? उसको त माया नै हामीसँग छ ।”तर आजकल त्यो कुराकानी पनि कथा जस्तै बनेको छ, अझै कतिबेला आउँछ, त्यो पनि लामै प्रतिक्षाको विषय भएको छ ।

एक्कासी समय तीव्र गतिमा दौडियो । फोनको चाङ घट्यो । सन्देशको जवाफ आउन घण्टौं लाग्यो । कहिले छोराको कामको बोझ, कहिले छोरीको परीक्षा, कहिले समयको फरक । यी सबै बहाना थिए, वा सायद वास्तविकता पनि । तर आमाबुवाको मनले ती बहाना बुझ्दैन, मनले त केवल माया खोज्छ, सम्झना खोज्छ ।

शनिवारको दिन बिहानको ५ बजे । अँध्यारो अझै पुरै पग्लिसकेको थिएन ।

बाबु उठे । अनुहार धोई मोबाइल हातमा लिए । उनको नियमित दिनचर्या यस्तै हो, पहिले मोबाइल, त्यसपछि खाना । पर्दामा कुनै नयाँ सन्देश छ ? छैन । कुनै मिस्ड कल छ ? छैन । उनले फोनको सेटिङ खोले, आवाजको घण्टी जाँचे ।, आफ्नो नम्बर नै बन्द त भएन ? सबै ठीक छ । ठीक त छ तर किन फोन आउँदैन ?

आमाले भर्खरै आँखा मिच्दै भनिन् “फेरि मोबाइल हेर्दै हुनुहुन्छ, छोराछोरी व्यस्त होलान् । तपाईं चिन्ता नलिनुस् ।”

तर उनको स्वरमा पनि त्यही पीडा थियो, जो आफैलाई झुटो सान्त्वना दिन थालेको थियो । बाबुले घरीघरी मोबाइल उठाउँथे, फोनको रिंगटोन बजाउँथे कि केहि आउँछ, तर केवल मौनता ।

त्यो मौनता अहिले उनीहरूको कोठाको चाैथो साथी बनेको छ, जसले चिच्याउँछ, तर कत्ति आवाज हुँदैन ।

अक्सर बेलुकीको समय, जब टिभीमा कुनै पुरानो चलचित्र आउँछ, आमाको आँखाबाट आँसु बग्न थाल्छ । त्यो कुनै चलचित्रको दृश्यले होइन, सम्झनाको पहिरोले ।

किनभने त्यो चलचित्रमा एउटी आमा आफ्नो छोरालाई स्कुल पुर्याउँछे । आमालाई ती दिनहरू याद आउँछन् । जब छोरा सानो थियो, काखमा सुत्थ्यो, राति ज्वरो आउँदा उनी पहरा दिन्थिन् । छोरी जब परीक्षामा फेल भइन्, आमा उसको साथमा बसेर रातभर पढाउथिन् । छोरीले भनेकी थिइन, । ‘आमा, म ठूलो भएर तपाईंलाई दुनियाँ घुमाउँछु ।’ अहिले छोरी त दुनियाँमा छे, तर आमा अझै यहीँ कोठामा छिन्, घुम्न जाने कुनै योजना छैन किनभने छोरीलाई ‘समय’ नै छैन ।

बाबु पनि सम्झन्छन् । जब उनी जागिरबाट फर्केर आउँदा छोराछोरी दुवैले धाएर अँगालो हाल्थे । “बाबा, आज मैले स्कुलमा पहिलो पुरस्कार पाएँ !”
“बाबा, मलाई तपाईंले सिकाउनुभएको कविता सुनाउँछु ?”

ती मीठा स्वरहरू अहिले फोनको रिंगटोनमा पनि सुनिँदैनन् ।

एक दिन बाबुले धैर्य गुमाएर फोन हाने । हात काँप्दै थियो, मन डरले भरिएको थियो । ‘कतै बीचमै उठेनन् भने ? कतै व्यस्त भएर पछि कुरा गरौला, भने भने ?’

उनले पहिले छोरालाई फोन लगाए । घण्टी बज्यो, बज्यो, बज्यो । एक मिनेट, दुई मिनेट । ‘तपाईंले सम्पर्क गर्नुभएको नम्बर हाल उपलब्ध छैन ।’ म्यासेज पठाए । ‘छोरा, कस्तो छ, हजुरआमा नाति देख्न खोज्दै थिइन् मिलाएर फोन गर न ।’ त्यो म्यासेज पनि ‘सिल’ भयो, तर पढिएको ‘टिक’ आएन ।

त्यसपछि छोरीलाई फोन लगाए । उतातिर घण्टी बजिरहेको थियो तर कसैले उठाएन । बाबुले तीन पटक प्रयास गरे । अन्त्यमा एउटा अटोमेटिक म्यासेज आयो—‘म हाल व्यस्त छु, पछि फोन गर्छु ।’

त्यसै दिन राति बाबुले आमालाई भने, “अब हामी बिर्सिएका होलौं ।”

आमाले केही जवाफ दिन सक्ने अवस्था भएन, केवल कोठाको झ्यालबाहिर हेरीन् । जहाँ अँध्यारोमा कतै टाढा एउटा बत्ती बलेको थियो । सायद कसैको आशाको झलक ।

अर्को दिन बाबुले एउटा शंका गरे ‘के मेरो मोबाइल बिग्रिएको हो ? त्यसैले त फोन आएन ?’

उनी शहरको एउटा सानो मोबाइल मर्मत पसलमा पुगे । पसलको मालिक युवा थियो, उसले मोबाइल जाँच्यो—नेटवर्क ठीक, सिम ठीक, सफ्टवेयर ठीक। उसले भन्यो, “हजुर, मोबाइल त एकदम ठीक छ । फोन आउनु नआउनु हाम्रो हातमा हुँदैन नि !”

त्यो जवाफ सुनेर बाबुको आँखाको कुनाबाट एक थोपा आँसु बग्यो । उनले पसल मालिकलाई पीडा देखाउन खोजेनन, तर त्यो युवाले देख्यो र ऊ चुपचाप बस्यो । बाबुले पर्सबाट सय रुपैयाँ निकालेर “ठीक छ, पैसा लिनुस् ।” भने । पसलेले भन्यो, “हजुर, तपाईंको मोबाइलको काम भएन, पैसा लिँदिन ।” तर बाबुले जोड गरे, “तिमीले जाँच गर्यौ, त्यसैको पैसा ।”

त्यो दिन बाबु फर्केर आउँदा मोबाइल त ठीक थियो तर मन भाँचिएको थियो । उनलाई थाहा भयो । समस्या मोबाइलको होइन, समस्या समय र दूरीको हो, समस्या ‘व्यस्तता’ नामक पर्दाको हो ।

छिमेकीले कहिलेकाहीँ सोध्थे, “हजुरका छोराछोरीको कस्तो छ खबर ?”

बाबु तुरुन्त मुस्कुराउँथे । मुस्कान मानौं नाटकको पर्दा हो । “सबै ठीक छ । छोराले अमेरिकामा नयाँ घर गाडी किन्यो, छोरीको अनुसन्धानले धेरै पुरस्कार पायो । नाती नातिनीले पनि पढाइमा राम्रो गरेको सुनाएका थिए । दैनिक फोन गर्छन्, यति भएपछि के चाहियो र !”

छिमेकीले ‘वाह’ भनेर प्रशंसा पनि गर्थे, तर उनीहरूको आँखा चलाख थियो । उनीहरूले देख्थे, बाबुको मुस्कानको पछाडि भय छ, र आमाको खुसीको स्वरमा गाँठो छ ।

बाबुआमा समाजको बन्धनमा थिए । उनीहरू कसरी भन्न सक्थे, “हाम्रा छोराछोरीले महिनौंदेखि फोन गरेनन्, हामी एक्लो भयौं ।” समाजले के भन्छ ? “यति शिक्षित आमाबुवा, यति प्रतिष्ठित, तर छोराछोरीले बिर्सेका ?” त्यो कलंक उनीहरूले सहन सक्दैनथे ।
त्यसैले ती झुटो कथाहरू दोहोयाइरहन्थे । जति पटक दोहोयाउँथे, त्यति नै मनको पीडा गहिरो बन्दै जान्थ्यो, तर अनुहारले हाँसिरहन्थ्यो ।
बाबुको निद्रा कम भएको धेरै भयो । जब रातको १२ बज्थ्यो, ऊ चुपचाप मोबाइलको स्क्रिन हेरिरहन्थे । म्यासेज आएको छ कि ? नेट चलेको छ कि अनि चार्जमा राखेको फोन पो अफ छ कि ?

एक रात बाबुले आमालाई भने, “यदि मलाई छोराछोरीको अत्यासले केही भयो भने, मुटुको आक्रमण आयो भने, छोराछोरीले कसरी थाहा पाउलान् ?”

आमाले जवाफ दिइन्, “त्यस्तो नसोच्नुस्, सबै ठीक हुन्छ ।” तर उन? आफैलाई पनि त्यो विश्वास थिएन, छोराछोरीले समयमै खबर पाउलान् त ।
एक दिन दिउँसो मोबाइल चलाउँदै गर्दा सामाजिक सञ्जालमा एउटा पोस्ट पढ्न पुगेका थिए उनी । जहाँ समाचार थियो ‘एक्लो बुबा बिरामी परे, छोरा विदेशबाट आइपुग्न ७ दिन लाग्यो, तबसम्म बुबा बितिसकेका थिए ।’

शायद त्यो पोस्ट पढेपछि बाबुको मनमा आतंक छायो । उनी सोच्दा हुन ‘के मेरो पनि त्यस्तै होला ? के म मर्दा पनि छोराछोरीलाई समयमा थाहा नहोला ? अनि यदि थाहा भए पनि काजकर्म गर्न आउलान् त ? उनीहरूलाई त धार्मिक कर्ममा विश्वास छैन, तर म मरे भने तिमीलाई समाजले के भन्छ ? ‘छोराछोरी आएनन् कि !’ त्यसले झन् पेश्कि पीडा दिन्छ ।’

यो डरले उनलाई पागलजस्तो बनाउँदै थियो । उनले आफ्नो इच्छापत्र (विल) बनाउने सोच पनि लिए, तर कसलाई के दिने ? सबै त टाढा छन् ।
एक बेलुका बाबुले साथीको घरबाट फर्केर आउँदा कोठामा ‘भिडियो कल’ को घण्टी बजिरहेको थियो । आमाले फोन उठाएकी थिइन । त्यहाँ छोरी थिइन् ।

आमाको अनुहारमा चमक आयो । तर कलमा आवाजको गुणस्तर खराब थियो, इन्टरनेट ढिलो थियो । छोरीले हतार हतार भनिन्, “आमा, म हतारमा छु, सबै ठीक छ नि ?”

आमाले भनिन्, “ठीक छ, तिमी कस्ती छौ ?”

जवाफ आयो—‘ठीक छु, म पछि कल गर्छु ।’

त्यो कल ५२ सेकेन्डको थियो । उनीहरु बीच खासै लामो कुराकानी त कहिल्यै हुँदैनथ्यो । त्यो पनि ५२ सेकेन्डमा सम्पूर्ण सम्बन्धको सार समेटिएको थियो—हतार, संक्षिप्तता, र अधूरा कुरा ।

कल सकिएपछि बाबुले आमालाई सोधे “के भयो ?”

आमाको आँखाबाट आँसु बग्यो, “केही सोधिनन्, केवल ठीक छ भनेर भनिन् र लटकाइन् ।”

त्यो रात बाबुले छोरीलाई म्यासेज गरे ‘छोरी, मुटु अलि असहज छ ।’ उत्तर आयो, ‘बाबा, डाक्टरलाई देखाउनुस्, पैसा पठाउँछु, म अहिले कन्फरेन्समा छु ।’

पैसाले के हुन्छ ? माया, पैसाले किन्न सकिन्छ ? त्यो म्यासेजले बाबुलाई चिसो तरवारले घोचेजस्तो भयो । पैसा चाहिएको थिएन, मुटुको उपचारभन्दा पनि टाढा गएका मुटुको न्यानो चाहिएको थियो ।

एक दिन अचानक बाबुलाई छातीमा पीडा भयो । उनी भुइँमा लडे । आमाले हल्लाउँदै जगाउने प्रयास गरिन् । घरमा कोही थिएन । छिमेकीको सहायताले अस्पताल पु¥याईन ।अस्पतालको बेडमा पनि बाबु उनको मोबाइल तर्फ नै घोरिँदै थिए, फोनको घण्टी बजोस्, कसैको म्यासेज आओस् । तर सबै शान्त थियो ।

आमाले बाहिर गएर छोरालाई फोन गरिन् । यसपालि फोन उठ्यो ।
“आमा, के भयो ?”
“तिम्रो बाबालाई मुटुमा अट्याक भयो ।”
एक छिन मौनता, अनि जवाफ—‘आमा, म अहिले हप्ता दिनपछि मात्र आउन सक्छु, मेरो प्रोजेक्टको डेडलाइन छ ।’

आमाले फोन राखिन् । त्यो जवाफले उनलाई धेरै कुरा भन्यो । उनी अस्पतालको कुर्सीमा बस्दै उठदै गरिन् । आँखाभरि आँसु लिएर श्रीमानको नजिकै गएर हात समाइन् । श्रीमानको आँखा भिजेको थियो । उनले भने, “अब मलाई फोनको पर्खाइ छैन, निधारमा तिम्रो हातको स्पर्श भए पुग्यो ।”

त्यो रात बाबुको आँखा बन्द भयो पूर्ण रूपमा ।

वि.सं.२०८३ असार १४ आइतवार १२:४० मा प्रकाशित

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...

झिल्का कविताहरू

झिल्का कविताहरू

विकास क्षेत्री अञ्जान बिजनबारी बजार, भारत १ नेताले कसम खायो...