क्यान्सरबाट जोगिन के गर्ने ?
हिन्दीमा एउटा भनाइ छ, “जब जागा तब सबेरा” जब क्यान्सर लागेको थाहा पाइन्छ : डर पनि लाग्छ, आँखा पनि खुल्छ। यसको नाम सुन्नासाथ धेरैलाई डर लाग्नु स्वाभाविक हो। तर एउटा कुरा सधैं सम्झनुपर्छ—डरभन्दा शक्तिशाली कुरा सचेतना, समयमै परीक्षण र सही उपचार हो।
क्यान्सर भनेको के हो ?
हाम्रो शरीरमा रहेका करोडौं कोशिकाहरू निश्चित नियमअनुसार जन्मिन्छन्, बढ्छन् र आवश्यक पर्दा नष्ट हुन्छन्। तर कुनै कारणले यी कोशिकाहरूको वृद्धि अनियन्त्रित हुन थालेमा क्यान्सर विकसित हुन सक्छ। सुरुमा एउटा अंगमा देखिएको क्यान्सर उपचार नगर्दा शरीरका अन्य भागमा समेत फैलिन सक्छ।
के क्यान्सरबाट जोगिन सकिन्छ त ?
अवश्य पनि। प्राकृतिक चिकित्साशास्त्रले भन्छ, “क्यान्सर लाग्नै नदिने जीवनशैली अपनाउन सकिन्छ।” तर। एलोपेथिक चिकित्साशास्त्रका अनुसार “केही क्यान्सर वंशाणुगत (Genetic) कारणले हुने भएकाले त्यसलाई पूर्ण रूपमा रोक्न सकिँदैन।” विश्वभर भएका अध्ययनले देखाएका तथ्य अनुसार धेरै प्रकारका क्यान्सर स्वस्थ जीवनशैली, खोप, जोखिम कम गर्ने बानी, खानपिन र नियमित स्वास्थ्य परीक्षणबाट उल्लेखनीय रूपमा घटाउन सकिन्छ।
साँच्चै, क्यान्सरले जात, धर्म, लिङ्ग, उमेर, धनी वा गरिब भनेर छुट्याउँदैन। आज सुरु गरिएको सचेतनाले भने भोलिको ठूलो जोखिम कम गर्न सक्छ। समयमै स्वस्थ जीवनशैली अपनाउँदा धेरै हदमा क्यान्सरबाट जोगिन सकिन्छ।
यदि क्यान्सर देखिसकेको छ भने के गर्ने ?
सबैभन्दा पहिले नआत्तिनुहोस्, आशा नगुमाउनुहोस्।
आज चिकित्सा विज्ञान धेरै अघि बढिसकेको छ। धेरै प्रकारका क्यान्सर समयमै पत्ता लागेमा सफलतापूर्वक उपचार गर्न सकिन्छ, र धेरै बिरामी उपचारपछि सामान्य जीवनमा फर्किएका उदाहरणहरू पनि प्रशस्तै छन्। हाम्रै अध्ययनमा पनि २०० जना cancer विजेताहरुको फरकफरक स्टोरी सङ्कलन गरेका छौं। त्यहाँ प्रशस्तै आशा र उपलब्धिहरू भेटिएका छन् ।
क्यान्सरबाट जोगिन सकिने केही टिप्सहरू तल दिइएको छ :
१, सही जानकारी तथा परामर्श लिनुहोस् । अपुष्ट र अप्रमाणित अफवाहको पछाडि नलाग्नुहोस्।
२, दक्ष क्यान्सर विशेषज्ञ (Oncologist-consulttant) को सल्लाहअनुसार उपचार सुरु गर्नुहोस्।
३, आवश्यक सबै परीक्षण समयमै गराउनुहोस्। उन्नत प्रविधि र दक्ष प्राविधिक रहेको संस्थाबाट परीक्षणहरू गर्नुहोस्।
४, त्यसपछि आफूलाई सहज हुने अस्पताल रोज्नुस्, आर्थिक स्रोतहरू अनुसार के कति लाग्छ अनुमानित बजेट बनाउनुस् ।
५, परिवार, साथीभाइ र समाजको साथ लिनुहोस् रदिनुहोस्। बिरामीको मानसिक बल बढाउनुस्।
नोट : क्यान्सरले शरीरलाई चुनौती दिन सक्छ, तर आशा, आत्मविश्वास र परिवारको साथले उपचारको यात्रालाई धेरै सहज बनाउन सक्छ।
क्यान्सरको जोखिम घटाउने ७ सुनौला उपाय अवलम्बन गर्नुहोस्:
१) सुर्तीजन्य पदार्थ र मदिराबाट टाढा रहौं ।
चुरोट, बिँडी, सुर्ती, खैनी, गुट्खा, पानमसला तथा अत्यधिक मदिराले मुख, घाँटी, फोक्सो, अन्ननली, कलेजो लगायत धेरै प्रकारका क्यान्सरको जोखिम बढाउँछन्। यी बानी त्याग्नु नै सबैभन्दा ठूलो रोकथाम हो।
२) स्वस्थ र पोसिलो नेपाली खानपान अपनाऔं ।
हाम्रो परम्परागत नेपाली भोजन नै स्वास्थ्यका लागि धेरै उपयुक्त छ। हरियो सागसब्जीस् साग(गुन्द्रुक, धनिया, गोलभेडा, च्याउ, मौसमी फलफूल : चुकन्दर, कुरिलो, अमला, प्लम, ड्रागन फ्रुट, एभोकाडो, लिच्ची, किवी, कागती,गेडागुडीस् मुङ, मुसुरो, सिमी, मास, भटमास। पूर्ण अन्न (whole grain) कोदो, फापर, चिनो, कागुनो जस्ता स्थानीय अन्न र पर्याप्त प्रोटिन, भिटामिन र फाइबरयुक्त खाना खाऔ।
३) अत्यधिक प्रशोधित (Altra-Processed food) बचाैँं ।
खाना तथा पेय पदार्थ, जङ्कफुड, धेरै भुटेको, पोलेको, चिल्लो, नुनिलो, गुलियो चिनीयुक्त, मदिरा जन्य, खानपिनबाट टाढा रहौँ।
४) दैनिक सक्रिय जीवन बिताऔं
कम्तीमा ३० मिनेट नियमित हिँड्ने, व्यायाम गर्ने, साइकल चलाउने वा शारीरिक परिश्रम, योग, ध्यान, पर्याप्त निद्रा र तनाव व्यवस्थापनले पनि समग्र स्वास्थ्य सुधार गर्न मद्दत गर्छ।
५) वंशाणुगत जोखिमलाई बेवास्ता नगरौं
यदि परिवारमा कम उमेरमै स्तन, डिम्बाशय, ठूलो आन्द्रा वा अन्य क्यान्सर पटक–पटक देखिएको छ भने चिकित्सकसँग परामर्श गरी आवश्यक परे आनुवंशिक परामर्श (Genetic Counselling) तथा नियमित स्क्रिनिङ गराउनु उचित हुन्छ।
६) खोप लगाऔं
HPV खोप — पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन प्रभावकारी छ।
हेपाटाइटिस–बी खोप — कलेजोको क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ।
७) नियमित सूचना र स्वास्थ्य परीक्षण गराऔं
शरीरका असामान्य संकेतलाई बेवास्ता नगरौं। यस्ता लक्षण देखिएमा ढिलाइ नगरी चिकित्सकलाई भेट्नुहोस्। धेरै क्यान्सर सुरुको अवस्थामा कुनै लक्षण नदेखिन पनि सक्छ। त्यसैले उमेर, पारिवारिक इतिहासको जोखिम हेरेर नियमित स्क्रिनिङ गराउँदा क्यान्सर प्रारम्भिक चरणमै पत्ता लाग्न सक्छ, जसले उपचार सफल हुने सम्भावना उल्लेख्य मात्रामा हुन्छ।
यो पनि ख्याल गर्नुहोस्
लामो समयसम्म निको नहुने घाउ, असामान्य गाँठागुँठी,असामान्य रक्तस्राव, लामो समयसम्म जरो आएमा, आन्तरिक घाउ तथा सुनिने-सुजन भएमा, कारण नखुलेको तौल घट्नु, दिसा वा पिसाबको बानीमा परिवर्तन, तीन हप्ताभन्दा बढी रहने खोकी वा स्वर बस्नु, खाना निल्न गाह्रो भयो भने तुरुन्त अस्पताल जानुस्।
अन्तमा : क्यान्सरको उपचार अस्पतालमा हुन्छ, तर यसको रोकथाम घरबाट सुरु हुन्छ।
वि.सं.२०८३ असार १६ मंगलवार १६:५९ मा प्रकाशित




























