back
CTIZAN AD

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

वि.सं.२०८३ जेठ ३१ आइतवार

1.1K 

shares

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय कुमारी मल्लका जेठा सुपुत्र ईन्द्र विक्रम मल्ल (आई.बी. मल्ल) को जन्म विक्रम संवत् २००६ साल भाद्र २७ गते पर्वत जिल्लाको लुँखु गाउँमा भएको थियो। बाल्यकालदेखि नै असाधारण प्रतिभा, तीक्ष्ण बुद्धि र सिर्जनात्मक सोचका धनी ईन्द्र विक्रम मल्ल नेपाली कला जगतका एक विशिष्ट व्यक्तित्वका रूपमा स्थापित भएका छन्। उनको जीवन संघर्ष, साहस, आत्मविश्वास र निरन्तर साधनाको अनुपम उदाहरण हो।

उनको प्रारम्भिक शिक्षा आफ्नै गाउँ लुँखुको विद्यालयबाट प्रारम्भ भएको थियो भने कक्षा पाँच र छ भोक्सिङमा अध्ययन गरेका थिए। तर सामान्य ग्रामीण परिवेशमा हुर्केका बालक ईन्द्रको मनमा सानैदेखि ठूलो संसार हेर्ने, केही नयाँ गर्ने र उज्ज्वल भविष्य निर्माण गर्ने सपना पलाइसकेको थियो। यही सपना पछ्याउँदै उनी केवल ११ वर्षको उमेरमा, विक्रम संवत् २०१७ सालतिर, कसैलाई केही जानकारी नदिई घरबाट निस्किएर भारततर्फ लागे।

घरबाट हराएका छोराको खोजीमा परिवार चिन्तित हुनु स्वाभाविक थियो। उता ईन्द्र भने गोरखपुर पुगेर रेल्वे स्टेशनका वरिपरि, रेलको पटरी छेउ र साना कटेराहरूमा बसेर झण्डै पाँच–सात महिना बिताइरहेका थिए। यसै क्रममा भारतीय सेनामा कार्यरत उनका मामा भिमबहादुर मल्ल (हमाल) ले भान्जा गोरखपुरमा भौतारिएको खबर पाए। त्यतिबेला मामा देहरादूनस्थित भारतीय सेनाको गोर्खा राइफल्स ट्रेनिङ सेन्टर(39/9 GTC) मा कार्यरत थिए। छुट्टी मिलाएर गोरखपुर पुगेका मामाले दुई–तीन दिनको अथक खोजीपछि अन्ततः ईन्द्रलाई फेला पारे।

मामाले उनलाई गाउँ फर्काउन धेरै सम्झाए–बुझाए, तर ईन्द्रको दृढ इच्छाशक्ति र भविष्यप्रतिको अठोट देखेपछि अन्ततः आफ्नै साथमा देहरादून लिएर गए। देहरादूनमा उनको करिब छ वर्षको बसाइ रह्यो। यही अवधिमा उनको जीवनको वास्तविक रुचि प्रकट हुन थाल्यो—चित्रकला।

ईन्द्रले बनाएका चित्रहरू हेर्ने जो–कोही प्रभावित हुन्थे। शिक्षक, साथीभाइ तथा चिनेजानेका व्यक्तिहरूले उनको चित्रकला प्रतिभालाई असाधारण ठान्थे। धेरैले उचित गुरु र वातावरण पाए उनी एक उत्कृष्ट कलाकार बन्न सक्ने धारणा व्यक्त गर्थे। साधारण शैक्षिक अध्ययनभन्दा चित्रकला क्षेत्रमा उनको लगाव र क्षमता अत्यन्त प्रखर देखिन्थ्यो। यही कारणले उनलाई अझ उन्नत कला शिक्षाका लागि दिल्ली पठाउनुपर्ने सुझावहरू आउन थाले।

आफ्नो प्रतिभालाई अझ निखार्ने दृढ संकल्पका साथ ईन्द्र विक्रम मल्ल दिल्ली पुगे। उनले दिल्लीको किशनगञ्जस्थित डी।सी.एम. पब्लिक ब्वाइज हाई स्कूल बाट म्याट्रिक उत्तीर्ण गरे। अध्ययनसँगै चित्रकलाप्रतिको लगावलाई निरन्तरता दिँदै उनले अनौपचारिक रूपमा कला अभ्यास गरिरहे। त्यसपछि उनले दिल्लीको प्रतिष्ठित कलेज अफ आर्ट बाट फाइन आर्ट्समा डिप्लोमा हासिल गरे।

उनको कलात्मक प्रतिभाले चाँडै नै व्यावसायिक अवसरहरू प्राप्त गर्न थाल्यो। उनले बालबालिकाहरूका लागि प्रकाशित लोकप्रिय अर्धमासिक चित्रकथा पत्रिका ‘मिलन्द’ मा Illustration Arts को क्षेत्रमा आफ्नो दक्षता प्रदर्शन गर्ने अवसर पाए। झण्डै दुई वर्षसम्म उक्त पत्रिकामा कार्यरत रहँदा उनले पत्रिकालाई अझ आकर्षक, जीवन्त र स्तरीय बनाउन महत्वपूर्ण योगदान दिए। यस क्रममा भारतका विभिन्न शहर, गाउँ तथा सांस्कृतिक क्षेत्रहरूको भ्रमण गर्ने अवसर समेत प्राप्त गरे, जसले उनको कलादृष्टि अझ फराकिलो बनायो।

विक्रम संवत् २०२६ सालतिर उनी घुमफिरको उद्देश्यले काठमाडौं आए। करिब तीन महिना काठमाडौं उपत्यकाको सौन्दर्य, संस्कृति र जनजीवनसँग घुलमिल भएर बिताउँदा उनको मनमा आफ्नै मातृभूमिप्रति गहिरो प्रेम जागृत भयो। त्यसपछि पोखरा जाने इच्छा पनि पलायो, तर समय र परिस्थितिले त्यसबेला साथ दिएन। उनी पुनः दिल्ली फर्किए, तर नेपालप्रतिको मोह भने झन् प्रगाढ बन्दै गयो।

अन्ततः विक्रम संवत् २०२७ सालतिर उनी गोरखपुर–सुनौली हुँदै पोखरा पुगे। त्यतिबेला सुनौली–बुटवल–पोखरा सडक निर्माण तीव्र गतिमा भइरहेको थियो। कहिले बस, कहिले ट्रक चढ्दै उनी पोखरा आइपुगे। पोखरा पुगेपछि धेरै लुँखेली परिचितहरूसँग भेटघाट गर्ने अवसर मिल्यो।

यही क्रममा पृथ्वीनारायण कलेजमा अध्ययनरत उनका भाइ पर्ने डम्बरबहादुर मल्ल सँग महेन्द्रपुलमा एक अविस्मरणीय भेट भयो। वर्षौँपछि भएको त्यो भेट अत्यन्त भावुक थियो। लामो कपाल, सुनौलो आभा झल्किने व्यक्तित्व, आकर्षक क्रिम रंगको सुरुवाल–कुर्ता, घाँटीमा झुन्डिएका चम्किला फटिकका मालाहरू र आत्मविश्वासले भरिएको व्यक्तित्वका कारण ईन्द्रलाई डम्बरले चिन्न सकेनन्। तर ईन्द्रले भने भाइलाई तुरुन्तै चिने।
उनले अगाडि बढेर सोधे, “तिमी डम्बर होइनौ ?”
डम्बरले “हजुर, म डम्बर हुँ” भन्न नपाउँदै ईन्द्रले उनलाई अँगालोमा बेरे। त्यो केवल दाजुभाइको भेट मात्र थिएनस त्यो आफ्नो बाल्यकाल, गाउँघर, परिवार र विगतसँगको पुनर्मिलन थियो। भाइलाई अँगालोमा कसिरहँदा उनका दुवै आँखा रसाएका थिए। उनलाई लागिरहेको थियो, मानौँ उनी एकैक्षणमा आफ्नो जन्मभूमिको आँगनमा फर्किएका छन्।

पछि कला क्षेत्रमा उनले आफ्नो परिचय “आई।बी। मल्ल” का रूपमा स्थापित गरे। उनी नेपालका प्रतिष्ठित चित्रकारमध्ये एक हुन्। विशेषतः पोर्ट्रेट (व्यक्तिचित्र) चित्रकलामा उनको ख्याति उल्लेखनीय छ। उनले नेपालका विभिन्न राष्ट्रिय कला प्रदर्शनीहरूमा सहभागिता जनाएका छन्। कला क्षेत्रको संस्थागत विकासमा समेत योगदान पुर्‍याउँदै उनी कमर्सियल आर्टिस्ट्स एसोसिएसन अफ नेपाल (CAAN) का केन्द्रीय अध्यक्षसमेत बने।

आई.बी. मल्लको जीवनले देखाउँछ कि दृढ इच्छाशक्ति, साहस र प्रतिभाले कुनै पनि व्यक्तिलाई सामान्य परिवेशबाट उठाएर असाधारण उचाइमा पुर्‍याउन सक्छ। घरबाट एक्लै निस्किएको ११ वर्षे बालक पछि नेपाली कला जगतको सम्मानित व्यक्तित्व बन्न सफल हुनु स्वयंमा प्रेरणाको अद्वितीय कथा हो। उनका जीवनका संघर्ष, समर्पण र सिर्जनशीलताले आगामी पुस्ताका कलाकारहरूलाई निरन्तर प्रेरणा प्रदान गरिरहनेछन्।

ईन्द्र विक्रम (आई.बी.) मल्लको पारिवारिक जीवन :
ईन्द्र विक्रम (आई.बी.) मल्लको पारिवारिक जीवन पनि उत्तिकै समुन्नत, शिक्षाप्रेमी र अन्तर्राष्ट्रिय परिवेशसँग जोडिएको देखिन्छ। उहाँका दुई पत्नीमध्ये श्रीमती निर्मला मल्लबाट तीन पुत्र—सूरज विक्रम मल्ल, धीरज विक्रम मल्ल र निरज विक्रम मल्ल तथा एक पुत्री डा. स्मिता मल्ल हुनुहुन्छ। सबै सन्तानहरूले उच्च शिक्षा हासिल गरी आ–आफ्नो क्षेत्रमा सफलता प्राप्त गरेका छन्।

सूरज विक्रम मल्ल
आई.बी. मल्लका जेठा पुत्र सूरज विक्रम मल्लको जन्म वि.सं. २०३० साल भदौ महिनामा भएको थियो। उच्च शिक्षाका लागि उहाँ डेनमार्क पुगे । अध्ययनका क्रममा उनले चिनियाँ मूलकी हङकङ निवासी पिङसँग विवाह गरे । विवाहपश्चात् उनी डेनमार्कमै स्थायी रूपमा बसोबास गर्दै आएका छन । उहाँका एक पुत्र छन्।

धीरज विक्रम मल्ल :
दोस्रा पुत्र धीरज विक्रम मल्लको जन्म वि.सं. २०३३ वैशाख २७ गते (सन् १९७६ मे ९) भएको हो। सूचना प्रविधि (आईटी) विषयमा उच्च शिक्षा हासिल गर्ने उद्देश्यले उनी सन् २००८ (वि.सं. २०६४) मा डेनमार्क गएका थिए । उनको विवाह वि.सं. २०६६ माघ २४ गते (सन् २०१० फेब्रुअरी ७) प्रताप हमाल र सन्ध्या हमालकी सुपुत्री शिखा हमालसँग सम्पन्न भएको थियो। शिखा हमालको जन्म वि.सं. २०३९ मङ्सिर १२ गते भएको हो उनी पनि सूचना प्रविधि क्षेत्रकै व्यवसायिक (आईटी प्रोफेसनल) छिन ।

धीरज र शिखाका दुई छोरी छन्। जेठी छोरी सुरी मल्लको जन्म वि.सं. २०७२ वैशाख ११ गते (सन् २०१५ अप्रिल २४) भएको हो भने कान्छी छोरी सोर मल्लको जन्म वि.सं. २०७७ वैशाख १८ गते (सन् २०२० अप्रिल ३०) भएको हो। धीरज मल्ल हाल आफ्नो परिवारसहित डेनमार्कको कोपनहेगनमा बसोबास गर्दै आएका छन ।

निरज विक्रम मल्ल :
आई.बी. मल्लका कान्छा पुत्र निरज विक्रम मल्लको जन्म वि.सं. २०३५ असार ५ गते भएको हो। उनको विवाह वि.सं. २०६६ सालमा मुना रञ्जितसँग सम्पन्न भएको थियो। मुना रञ्जितको जन्म वि.सं. २०३९ मङ्सिर १६ गते भएको हो।
निरज मल्ल सन् २००७ देखि परिवारसहित अष्ट्रेलियामा बसोबास गर्दै आएका छन । उहाँ पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन। उनका दुई सन्तान छन्—पुत्र मिलान मल्ल, जसको जन्म सन् २०१६ नोभेम्बर २८ मा भएको हो, तथा पुत्री मिली मल्ल, जसको जन्म सन् २०२० जुलाई ९ मा भएको हो।

डा. स्मिता मल्ल
आई.बी. मल्लकी एकमात्र पुत्री डा. स्मिता मल्लको जन्म वि.सं. २०५३ साउन ११ गते भएको हो। प्रारम्भिक तथा माध्यमिक शिक्षा सम्पन्न गरेपछि उनले बङ्गलादेशबाट डेन्टल साइन्स विषयमा स्नातक (Bachelor of Dental Science)अध्ययन पूरा गर्नुभएको छ। दन्तचिकित्सा क्षेत्रमा दक्षता हासिल गरी आफ्नो व्यावसायिक जीवनलाई सफलतापूर्वक अगाडि बढाइरहेकी छिन।

यसरी ईन्द्र विक्रम (आई.बी.) मल्लका सन्तानहरूले शिक्षा, पेशा र सामाजिक प्रतिष्ठाका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्दै परिवारको गौरवलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरेका छन्।

(शरण विक्रम मल्लद्वारा लिखित लूँखेली मल्लको ईतिहाँसको पानाबाट)

वि.सं.२०८३ जेठ ३१ आइतवार ०८:४७ मा प्रकाशित

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...