नेपाल बुद्धिजीवी परिषदका अध्यक्ष गजेन्द्र थपलियाले गल्छी घटनाको वास्तविकता सार्वजनिक गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद आशिका तामाङले केहि दिन अघि राहत थुप्रिएर बसेको तर पिडितहरुलाई नबाँडिएको भन्दै सामाजिक सञ्जालहरुमा भिडियो भाइरल भएपछि जनप्रतिनिधिहरुलाई आलोचना र टिप्पणी गरिएका छन् । थपलियाले सञ्जालमा गलत किसिमले प्रचार भएको भन्दै उनले यथार्थ कुरा लेख्नै पर्ने आवश्यकता सिर्जना भएको बताएका छन् । उनले लेखेका छन् :
मिति २०८३ साल भाद्र १३ गते करिब ११ देखि ११ः ३० को समयको कुरा हो। हामी संघीय सांसद डा. पुष्प कडेल जिल्ला समन्वयका पूर्व प्रमुख जगन्नाथ नेपाल नरेश खतिवडा म र रामेश्वर जी लगायत बाढी प्रभावित क्षेत्र धादिङ र नुवाकोटको स्थलगत अवस्था वास्तविकता बुझ्दै आफ्नै हिसाबले गल्छी गाउँपालिका पुगेका थियौँ। त्यही समयमा आशिका तामाङ उहाँका स्वकीय सचिव इन्जिनियर दिलिप उप्रेती लगायतको टिम पनि जाँदै गर्दा हामीले कम्पाउन्ड बाहिरै भेट्यौँ। त्यसपछाडि हामी सुरुसुरु अगाडि गयौं।
गाउँपालिकाको बैठक बसिरहेको रहेछ। उहाँहरूलाई हामी आउने कुराको कुनै जानकारी पनि थिएन हामी पुगे पछाडि गाउँपालिका अध्यक्ष लगायत अन्य वडा अध्यक्षहरू सबै मिटिङबाट बाहिर गाउँपालिकाको अध्यक्षको कार्यकक्षमा आउनुभयो। आशिका तामाङ पनि प्रवेश गर्नुभयो र प्रवेश गर्दैमा हप्काउने धप्काउने शैलीले आउनुभयो हामी अचम्मित भयौँ। कसैले केही बोलेको छैन। सुरुमा गाउँपालिका अध्यक्षले विषय राख्नुभयो। त्यसपछि आशिका तामाङको पिए दिलिप उप्रेतीले नै राहतहरू गजुरीको ब्यारेकमा र केही प्रहरी चौकीमा आइपुगेको छ। हामीले सिडिओसँग समन्वय गरेका छौं । अनि गाउँपालिकालाई दुवैजना सांसदको उपस्थितिमा गाउँपालिकालाई हस्तान्तरण गरेर पालिका मार्फत बाढी पीडितलाई बुझाउँ भन्ने कुरा राख्नुभयो। त्यसमा सबैको सहमति नै थियो र रास्वपा गल्छीका सभापति कुमारजीले पनि यही कुरालाई थप्नुभयो यसै सन्दर्भ चलिरहेको बेलामा गाउँपालिकाले राहत वितरण गर्नेको तथ्याङ्क पनि दुवै सांसदहरुलाई उपलब्ध गराइसकेको थियो।
उहाँहरुले १० गते नै निर्णय गरेर १०००० को दरले राहत वितरण गरिसकेको जानकारी गराउनुभयो। सामान्य अवस्थामा चलिरहँदा आशिका तामाङले उत्तेजित हुँदै वातावरण धमिल्याउनुभयो। उहाँले रिसाउँदै आफ्नो सहयोगीसँग क्यामरावाल चस्मा माग्नुभयो र उहाँ रेकर्ड गर्न थाल्नुभयो। उहाँले प्रकाशित गरेको भिडियोमा उहाँले अरुलाई मात्रै देखाउनुभएको छ उहाँको हातभन्दा अरु देखिँदैन जब उहाँले त्यो स्टन्ट गर्न थालेको थाहा पाएपछि हाम्रो साथीले पनि अन्तिममा केही भिडियो खिच्नुभयो जुन सार्वजनिक पनि गरियो।
म आशिका तामाङको टिमलाई के भन्न चाहन्छु भन्दा उहाँको पिए दिलिप उप्रेतीले बोलेको भिडियो सार्वजनिक गर्नुस् अनि त्यहाँ राहत गाउँपालिकालाई आको थियो कि थिएन भन्ने कुरा उहाँले बोल्नुभएको कुरा जनता माझ ल्याउनुस्। आशिका तामाङ रिसाएर बाहिर निस्के पछाडि धादिङको सिडिओ आफ्नो टिम सहित त्यही पालिका आइपुग्नु पनि भयो। यसरी दिनरात नभनी बाढी पीडितको सेवामा लागेका स्थानीय जनप्रतिनिधिहरू र स्थानीय स्वयंसेवीहरूलाई आरोपित गरेर देशविदेशमा सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना गर्ने काम गर्नु बान्छनीय हुँदैन।
त्यो हलभित्र बस्ने मान्छे कोही पनि छिटो भन्दा छिटो बाढी पिडितलाई सहयोग गरौं भन्ने भावनामा असहमत देखिएको थिएन। यो वास्तविक कुरोलाई तोडमोड गरी राजनीतिकरण गर्न कोसिस गर्नु पीडित र जनताप्रति अन्याय र मानवीयताको भावनाको पनि कदर नभएको महसुस भएको छ। यस्ता कुरा र काम जोजोबाट गल्ती भएका भएपनि सबैले आफैले म….म गरी भोलिका दिनमा गल्ती नगर्ने प्रतिबद्धता जनाउनु आवश्यक हुन्छ। म त्यसै हलभित्र एक शब्द नबोली पुरै विषयको जानकार भएको कारणले गर्दा सबै बीचमा सही तथ्य भन्न चाहन्छु। आवश्यक हो भने उहाँहरूको टिम र हामी बसेर लाइभ प्रसारण गरेर त्यो सबै कुरा जनताको बीचमा भन्न तयार छु। स्टन्ट नगरौँ जनताको सेवा गरौं।
वि.सं.२०८३ भदौ १६ मंगलवार ११:१५ मा प्रकाशित






























