back
CTIZAN AD

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

बसन्त भण्डारी/रासस

वि.सं.२०८३ भदौ १६ मंगलवार

27 

shares

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब ६ः०० बजे रसुवाबाट श्रीमती रविनासँग फोनमा कुरा गर्दा सविन रानामगरले यति भनेर फोन राखेका थिए । काम सुरु हुन लागेको थियो । यता रविना पाँच वर्षीय छोरीलाई विद्यालय पठाउने तयारीमा थिइन् ।

त्यसको केही समयपछि रसुवाको भोटेकोशीमा भीषण बाढी आयो । बाढीको खबर पाएपछि रविनाले श्रीमान‍्लाई फोन गरिन्, तर फोन उठेन । पटकपटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । बिहान ‘भरे कुरा गरौँला’ भनेर छुट्टिएको त्यो संवाद नै उनीहरूबिचको अन्तिम बन्न पुग्यो ।

मकवानपुरको भीमफेदी गाउँपालिका–२ का सविन विगत चार वर्षदेखि रसुवाको जलविद्युत् आयोजनामा सवारी चालकका रूपमा कार्यरत थिए । एक महिनाको बिदा लिएर घर आएका उनी केही दिनमै कम्पनीले बोलाएको भन्दै भदौ ७ गते आइतबार काममा फर्किएका थिए ।

सविनकी ठुलीआमा नानीमाया रानाका अनुसार आइतबार घरबाट हिँडेका उनी काठमाडौँ बसेर मङ्गलबार मात्रै रसुवा पुगेका थिए । बुधबारदेखि काम सुरु भएको थियो । “घर आउँदा एक महिनाका लागि बिदा लिएर आएको भन्थ्यो । पाँच÷छ दिन हुनेबित्तिकै कम्पनीले बोलायो भनेर काममा फर्किएको थियो,” नानीमायाले भनिन्, “मङ्गलबार मात्रै रसुवा पुगेको थियो रे । त्यही बाढी आउने दिनदेखि काम सुरु भएको थियो रे । एकैछिनमा सबै सकियो ।”

सम्पर्क टुटेपछि परिवार सुरुका दुई दिन कुनै सुखद खबर आउने आशामा बस्यो । त्यसपछि सविनको खोजीमा आफन्त अस्पताल र शव राखिएका स्थानसम्म पुग्न थाले । अन्ततः सोमबार नवलपरासीमा फेला परेको एउटा शवसँग परिवारको खोजी टुङ्गियो । शवको अवस्था बिग्रिएकाले अनुहारबाट पहिचान गर्न कठिन थियो । परिवारका लागि सविनलाई चिनाउने आधार बन्यो उनको बायाँ हातमा रहेको ट्याटु ।

भीमफेदी गाउँपालिका–२ का वडाध्यक्ष काशीराम बज्युले हातमा रहेको ट्याटुका आधारमा परिवारले सविनको शव पहिचान गरेको जानकारी दिए । सविनका बुबा १४–१५ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा छन् । परिवारमा आमा, भाइ, श्रीमती रविना र पाँच वर्षीय छोरी छन् ।

सविनको परिवार फोन आउने आशामा बसिरहँदा हेटौँडा उपमहानगरपालिका–५ ढुङ्गेधारामा अर्को परिवार पनि उस्तै बेचैनीमा थियो । दुई वर्षदेखि चिलिमे जलविद्युत् आयोजनामा टिपर चालकका रूपमा कार्यरत उद्धव खड्काले पत्नी निरू र छोरी निमिसालाई पनि आफूसँगै रसुवा लगेका थिए । छोरीलाई विद्यालय जान सहज होस् भनेर विद्यालय नजिकै कोठा भाडामा लिएर उनले परिवारलाई राखेका थिए ।

भदौ १० गते बिहान भोटेकोशीको बाढीका दृश्य सामाजिक सञ्जालमा फैलिन थालेपछि हेटौँडामा रहेका उद्धवका आफन्तले फोन गर्न थाले । उद्धवको फोन लागेन । पत्नी निरूको नम्बरमा पनि सम्पर्क हुन सकेन । केही समयका लागि तीनै जना बेखबर भए । भदौ ११ गते हेटौँडा उपमहानगरपालिकाको टोली उनीहरूसहित सम्पर्कविहीन नागरिकको खोजीका लागि रसुवातर्फ निस्कियो ।

सडक अवरुद्ध भएकाले टोली काठमाडौँमै रोकियो । काठमाडौँका विभिन्न अस्पतालमा खोजी गर्दा उनीहरूबारे जानकारी नभेटिएपछि भदौ १२ गते टोली नुवाकोट पुग्यो । त्यहाँ नेपाल प्रहरीले हेलिकप्टरमार्फत उद्धार गरेकाहरूको सूचीमा दुई नाम भेटिए– निरू खड्का र निमिसा खड्का ।

आमा–छोरीको जीवितै उद्धारपछि हेटौँडा ल्याउने व्यवस्था मिलाइयो । निरू र निमिसा जीवित भेटिएपछि उद्धव पनि कतै उद्धार भएर सुरक्षित स्थानमा होला भन्ने परिवारको आशा थपिएको थियो तर उद्धवको नाम कुनै उद्धार सूचीमा भेटिएन । परिवारका सदस्य अस्पतालदेखि सम्भावित स्थानसम्म खोज्दै हिँडे । अन्ततः भदौ १२ गते नवलपरासीमा उनको शव फेला प¥यो ।

हेटौँडा–५ का वडाध्यक्ष सुशील घिमिरेका अनुसार कामको व्यस्तताका कारण उद्धव सातामा एक दिनजति मात्रै परिवारसँग बस्न कोठामा आउने गर्थे । बाढी आउँदा उनी काममा थिए । कोठामा रहेका निरू र निमिसाले भने बाढी आएको थाहा पाएपछि अरूसँगै भागेर ज्यान जोगाएका थिए । “उद्धव शनिबार कोठामा आएर आइतबार काममा गएका रहेछन् । छोरीलाई स्कुल पठाउन सहज होस् भनेर स्कुल नजिकै कोठा भाडामा लिएर परिवारलाई राखेका रहेछन्,” वडाध्यक्ष घिमिरेले भने, “त्यो दिन बिहान एक्कासि बाढी आयो । श्रीमती र छोरी भने कोठामै भएकाले भागेर ज्यान जोगाउन सफल भएछन् ।” निरू र निमिसा हेटौँडा फर्किएका छन् ।

सविन चार वर्षदेखि र उद्धव दुई वर्षदेखि रसुवामा काम गरिरहेका थिए । हेटौँडा उपमहानगरपालिका–१५ भोर्लेका २६ वर्षीय सुमन गोलेलाई भने राम्रो आम्दानीको आशाले दुई महिनाअघि मात्रै रसुवा पु¥याएको थियो । त्यसअघि हेटौँडा–१५ मा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगमा अपरेटरका रूपमा कार्यरत सुमन रसुवामा हाइड्रोपावरको स्काभेटर चालकका रूपमा काम गर्थे ।

बाढी आएको बिहान उनी रातिको काम सकेर फर्किएका थिए । बिहान करिब ६ः०० बजे उनले श्रीमती रेविकासँग फोनमा कुरा गरे । रातभर काम गरेकाले निद्रा लागेको र अहिले सुत्ने तथा दिउँसो फेरि फोन गर्ने बताएका थिए । सुमनकी छिमेकी निर्मला घलानका अनुसार त्यो फोनपछि उनको फेरि श्रीमतीसँग कुरा हुन पाएन । “राम्रो तलब हुन्छ भनेर दुई महिनाअघि मात्रै उता काममा गएको थियो,” निर्मलाले भनिन्, “नाइट ड्युटी सकेर बिहान श्रीमतीसँग कुरा गरेको रहेछ । रातभरिको निद्रा छ, अहिले सुत्छु, दिउँसो फोन गरौँला भनेको थियो रे । बिहानै बाढीले बगाएछ ।”

बाढीको खबर पाएपछि परिवारले सुमनलाई पटकपटक फोन गरेको थियो, तर सम्पर्क हुन सकेन । निर्मलाका अनुसार सुमनका साथीहरूबाट परिवारले पाएको जानकारीमा बाढी आउँदा उनी सुतिरहेका थिए । साथीहरूले उठेर भाग्न आग्रह गरे पनि समयमै बाहिर निस्कन नसकेको जानकारी परिवारले पाएको उनको भनाइ छ । परिवारको प्रतीक्षा अन्ततः सुखद रहेन । सुमनको शव पनि नवलपरासीमा फेला प¥यो । उनको परिवारमा श्रीमती, चार वर्षीय छोरा र भाइ छन् ।

सविन, उद्धव र सुमनका घर फरक थिए । रसुवा पुगेको समय फरक थियो । जिम्मेवारी पनि फरक थिए । तर तीनै जनालाई घरबाट टाढा पु¥याउने कारण एउटै थियो– रोजगारी ।

त्यही रोजगारीले तीनै जनालाई रसुवाका जलविद्युत् आयोजनासँग जोडेको थियो । बाढी आउनुअघिसम्म तीनै जनाको परिवारसँग सम्पर्क थियो । सविनले श्रीमतीलाई ‘भरे कुरा गरौँला’ भनेका थिए । सुमनले रातिको कामपछि अहिले सुत्ने र दिउँसो फोन गर्ने बताएका थिए । उद्धवको पनि परिवारसँग अघिल्लो दिनसम्म कुराकानी भइरहेको थियो । त्यसपछि फोन लाग्न छाडे ।

परिवारले सुरुमा फोनको प्रतीक्षा गरे । त्यसपछि उद्धार गरिएकाहरूको सूचीमा नाम खोजे । अस्पताल पुगे । शव राखिएका स्थानसम्म आफ्ना मान्छेको खोजी गर्दै हिँडे । उद्धवको परिवारले निरू र निमिसालाई जीवित भेटेपछि उनी पनि फर्किने आशा राखेको थियो । सविनको परिवारले भने अन्ततः अनुहारबाट समेत चिन्न नसकिएको शवलाई हातको ट्याटुबाट पहिचान गरे ।

रोजगारीका लागि घरबाट निस्किएका तीनै जनाको खोजी अन्ततः घर फर्किने बाटोमा होइन, शव पहिचान गर्ने ठाउँमा पुगेर टुङ्गियो ।

वि.सं.२०८३ भदौ १६ मंगलवार ११:२२ मा प्रकाशित

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...