back
CTIZAN AD

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

वि.सं.२०८३ असार ५ शुक्रवार

2.6K 

shares

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक सञ्जाल चलाउँदा विज्ञापन देखेर वाक्कदिक्क हुनुभएको छ? समाचार र सूचनाको खोजीमा जाँदा समाचारको नाममा विज्ञापनको बाडिनै आउँदछ। मानौँ, हामी श्रोता, दर्शक वा पाठक होइनौँ, केवल निरीह उपभोक्ता हौँ। टेलिभिजन खोल्यो—विज्ञापन। रेडियो सुन्यो—विज्ञापन। पत्रिका पढ्यो—विज्ञापन। सामाजिक सञ्जालमा छिर्यो—विज्ञापन। घर बाहिर निस्कियो—आँखा नै खाने ठूला-ठूला होर्डिङ बोर्डका विज्ञापन। बिजुलीका पोलमा विज्ञापन, सवारी साधनमा विज्ञापन, प्रतीक्षालयमा विज्ञापन। बाटोमा हिँड्दा विज्ञापन, मोबाइल चलाउँदा विज्ञापन, भिडियो हेर्दा विज्ञापन। मानौँ, हाम्रो गाउँ र सहर मानिस बस्नका लागि होइन विज्ञापन टाँस्नका लागि स्थापित भएका हुन्। अनि हामी पनि नागरिक, श्रोता वा दर्शकका रूपमा होइन ती विज्ञापन पढ्न र हेर्न र गर्न मात्र जन्मिएका प्राणी हौँ।

यहाँ समाचार बेचिन्छ, सुचना बेचिन्छ र सपना बेचिन्छ। अब त यस्तो लाग्न थालेको छ—हामीले टेलिभिजन हेरिरहेका छैनौँ, टेलिभिजनले हामीलाई हेरिरहेको छ। हामी सामाजिक सञ्जाल चलाइरहेका छैनौँ, सामाजिक सञ्जालले हामीलाई चलाइरहेको छ। मानौँ हामी विज्ञापनको संसारमा बसिरहेका छौँ जहाँ जीवन वास्तविक कम र प्रायोजित (Sponsored) बढी हुँदै गएको छ। यस्तै अवस्था रह्यो भने सायद भविष्यमा मानिसको परिचय नागरिक, किसान, शिक्षक वा मजदुर भनेर होइन, “उपभोक्ता नम्बर फलानो” भनेर दिइनेछ।

ती विज्ञापनहरू सूचना वा जानकारी दिने, समुदायको हित गर्ने, वास्तविक, चेतनामूलक र उपयोगी हुनुभन्दा पनि भ्रम सिर्जना गर्ने, कुसूचना फैलाउने र मानिसलाई विभिन्न कुलत तथा उपभोगको जालमा फसाउने खालका हुने गरेका छन्। यस्ता विज्ञापनहरूले समाजमा भ्रमको खेती गर्दछन्। कुनै अमुक पेय पदार्थ पियो भने पहाडको टुप्पोबाट हाम फालेर पनि सुरक्षित अवतरण गर्न सकिने, हावामा उड्न सकिने वा असम्भवलाई सम्भव बनाउन सकिने जस्ता काल्पनिक सन्देश दिइन्छ। कुनै अमुक उत्पादन प्रयोग गर्‍यो भने मानिस “सुपर हिरो” वा “हिरोइन” बन्ने, समाजमा इज्जत र मान–सम्मान स्वतः बढ्ने, व्यक्तित्व नै चम्किने वा दिमागमा कुनै अदृश्य सुपर पावर जाग्ने जस्ता हावादारी दाबी गरिन्छन्। मानौँ, सुख, सफलता, मित्रता, प्रेम, प्रतिष्ठा र आत्मविश्वास पनि पसलमा किनेर ल्याउन सकिने वस्तु हुन् र त्यसको चाबी कुनै न कुनै कम्पनीको उत्पादनसँग मात्र बाँधिएको छ।

कतिपय विज्ञापनहरू त यस्ता हुन्छन्, जसले मानिसमा लत बसाल्ने, स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने, आर्थिक भार थप्ने र अन्ततः व्यक्तिलाई आजीवन उपभोक्ता बनाइराख्ने काम गर्दछन्। तर ती वस्तुका दुष्प्रभावहरू सानो अक्षरमा लुकाइन्छन्, र आकर्षक दृश्य, संगीत तथा चम्किला नाराका पछाडि वास्तविकता छोपिन्छ। यसो हेर्दा, विज्ञापनहरूको उद्देश्य केवल वस्तु बेच्नु मात्र नभई सपना बेच्नु, चाहना बेच्नु र मानिसका कमजोरीहरूलाई बजारमा परिणत गर्नु जस्तो देखिन्छ। समाजमा विवेकको खेती कम र भ्रमको खेती बढी भइरहेको आभास हुन्छ।

अझ अनौठो त के छ भने, मानिसलाई आफ्नो क्षमता, ज्ञान, परिश्रम र चरित्रबाट होइन, कुन ब्रान्डको जुत्ता लगायो, कुन पेय पदार्थ पियो, कुन मोबाइल बोक्यो र कुन कम्पनीको सामान प्रयोग गर्‍यो भन्ने आधारमा सफल र असफलको मापन गरिन थालेको छ। मानिसको मूल्य उसको विचारले होइन उसले उपभोग गर्ने वस्तुले निर्धारण गर्न थालेको छ।

कतिपय उपभोग्य वस्तुका भ्रामक, अतिरञ्जित र अस्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने विज्ञापनहरूले विशेषगरी बालबालिकाको मनोविज्ञानमा गम्भीर नकारात्मक प्रभाव पार्ने गरेका छन्। बालबालिका वयस्कजस्तो परिपक्व विवेक र आलोचनात्मक सोचले सुसज्जित हुँदैनन्। उनीहरू देखेका, सुनेका र बारम्बार दोहोरिएका सन्देशहरूलाई सजिलै सत्य ठान्ने गर्छन्। यही कमजोरीलाई लक्षित गरेर बनाइएका कतिपय विज्ञापनहरूले वास्तविकता र कल्पनाबीचको सीमालाई धमिल्याइदिन्छन्। कुनै पेय पदार्थ पिएपछि असाधारण शक्ति प्राप्त हुने, कुनै खानेकुरा खाएपछि सबैभन्दा लोकप्रिय बन्ने वा कुनै वस्तु प्रयोग गरेपछि अरूभन्दा श्रेष्ठ भइने जस्ता सन्देशहरूले बालमस्तिष्कमा अवास्तविक अपेक्षाहरू जन्माउँछन्।

यस्ता विज्ञापनहरूले बालबालिकामा वस्तुप्रतिको अनावश्यक आकर्षण र उपभोक्तावादी मानसिकता विकास गराउँछन्। उनीहरूमा “खुशी किनेर पाइन्छ”, “महँगो वस्तु प्रयोग गर्ने मानिस नै सफल हुन्छ” वा “ब्रान्डले नै व्यक्तिको मूल्य निर्धारण गर्छ” भन्ने गलत धारणा बस्न सक्छ। फलस्वरूप, सन्तुष्टि, आत्मविश्वास र सामाजिक प्रतिष्ठालाई पनि वस्तु र ब्रान्डसँग जोडेर हेर्ने प्रवृत्ति बढ्न सक्छ। त्यस्तै, हिंसा, आक्रामकता, अत्यधिक प्रतिस्पर्धा वा बाह्य सौन्दर्यलाई मात्र महत्व दिने विज्ञापनहरूले बालबालिकाको आत्मसम्मान र सामाजिक व्यवहारमा पनि असर पार्न सक्छन्। आफ्नो वास्तविक जीवन र विज्ञापनमा देखाइने कृत्रिम संसारबीच तुलना गर्दा उनीहरूमा हीनताबोध, असन्तुष्टि र अनावश्यक दबाब पैदा हुन सक्छ।

पूँजीवादी अर्थव्यवस्थामा नाफा नै अन्तिम लक्ष्य हुने भएकाले उपभोक्तावादको निरन्तर विस्तार गरिन्छ। मानिसलाई सचेत नागरिक, सर्जक वा समाजको जिम्मेवार सदस्यका रूपमा होइन केवल बजारका आजीवन ग्राहकका रूपमा हेरिन्छ। जनतालाई उपभोक्तामा रूपान्तरण गरेर उनीहरूको चाहना, भावना, कमजोरी र सपनासमेतलाई व्यापारको वस्तु बनाइन्छ ताकि सीमित पूँजीपति वर्गले आफ्नो स्वार्थ र नाफाको साम्राज्य अझ मजबुत बनाउन सकोस्। यस व्यवस्थामा मानिसको आवश्यकता मात्र होइन, अनावश्यक आवश्यकतासमेत कृत्रिम रूपमा उत्पादन गरिन्छ। सन्तुष्टि बेचिन्छ, सपना बेचिन्छ, डर बेचिन्छ र प्रतिष्ठासमेत बेचिन्छ। मानिसलाई बारम्बार असन्तुष्ट बनाइन्छ ताकि उसले अझ बढी उपभोग गरोस् र बजारको चक्र कहिल्यै नरोकिनोस्।

फलस्वरूप, नागरिकहरूलाई सोच्ने, प्रश्न गर्ने र परिवर्तनको माग गर्ने सचेत व्यक्तिका रूपमा होइन, किन्ने, खर्च गर्ने र जीवनभर बजारको दास बनेर बाँच्ने उपभोक्ताका रूपमा ढाल्ने प्रयास गरिन्छ। पूँजीवादी बजारका लागि मानिसको विवेकभन्दा उसको खल्ती महत्वपूर्ण हुन्छ र समाजको कल्याणभन्दा कम्पनीहरूको नाफा पवित्र मानिन्छ। यही कारणले उपभोक्तावाद केवल आर्थिक गतिविधि मात्र होइन, मानिसको चेतना, संस्कार र जीवनशैलीमाथि नियन्त्रण कायम गर्ने एउटा शक्तिशाली वैचारिक हतियारका रूपमा पनि प्रयोग हुँदै आएको छ।

यदि बालबालिकाको कल्पना, युवाहरूको चाहना र नागरिकहरूको चेतनालाई केवल बजारको नाफाका लागि प्रयोग गरियो भने अन्ततः समाज विचार, विवेक र मानवीय मूल्यद्वारा होइन, विज्ञापन, ब्रान्ड र बजारको मनोविज्ञानद्वारा निर्देशित हुन थाल्छ। त्यस अवस्थामा मानिसका वास्तविक आवश्यकता र कृत्रिम रूपमा सिर्जना गरिएका आवश्यकताबीचको भिन्नता क्रमशः मेटिँदै जान्छ। मानिसले आफ्नो खुसी, सफलता, प्रतिष्ठा, सम्बन्ध र आत्मसम्मानलाई समेत वस्तु र ब्रान्डसँग जोडेर हेर्न थाल्छ।

यस्तो परिस्थितिमा नागरिकभन्दा उपभोक्ताको पहिचान ठूलो बन्न पुग्छ। विद्यालयहरूले चरित्र निर्माणभन्दा बजारको आवश्यकताअनुसार जनशक्ति उत्पादन गर्न थाल्छन्। सञ्चारमाध्यमहरूले सत्य र जनहितभन्दा विज्ञापनदाताको हितलाई प्राथमिकता दिन थाल्छन्।  कला र संस्कृतिसमेत व्यापारिक स्वार्थको प्रभावमा पर्न थाल्छन्। मानिसका सपना, भावना, असुरक्षा, प्रेम, सौन्दर्य, मित्रता र सफलतासमेत बजारमा किनबेच हुने वस्तुजस्तै बन्न पुग्छन्।

अझ खतरनाक कुरा त के हो भने, यस्तो अवस्थामा मानिसहरूलाई स्वतन्त्र रूपमा सोचिरहेका छौँ भन्ने भ्रम त रहन्छ, तर उनीहरूको चाहना, रुचि, उपभोग गर्ने बानी र जीवनशैलीसमेत शक्तिशाली बजार संयन्त्रद्वारा सूक्ष्म रूपमा निर्देशित भइरहेका हुन्छन्। मानिसले आफू वस्तुहरूको मालिक भएको ठानिरहेको हुन्छ तर वास्तवमा उसकै ध्यान, समय, चाहना र चेतना बजारको नियन्त्रणमा परिसकेको हुन्छ। त्यसबेला मानिसले वस्तुहरू प्रयोग गरिरहेको हुँदैन बरु वस्तु, ब्रान्ड र बजारले मानिसलाई प्रयोग गरिरहेका हुन्छन्।

यदि समाजको सर्वोच्च आदर्श नागरिक निर्माण नभई केवल आजीवन उपभोक्ता निर्माणमा सीमित भयो भने, भविष्यका पुस्ताहरूमा आलोचनात्मक चेतना, सामाजिक उत्तरदायित्व, सहानुभूति, सादगी, मितव्ययिता र सामूहिक हितको भावना कमजोर हुँदै जान सक्छ। त्यस्तो समाजमा व्यक्तिको मूल्य उसको ज्ञान, चरित्र, इमानदारी र मानवीय गुणले होइन, उसले कुन ब्रान्ड प्रयोग गर्छ, कति खर्च गर्न सक्छ र कति उपभोग गर्न सक्छ भन्ने कुराले निर्धारण गर्न थाल्छ। अन्ततः यस्तो संस्कृति असन्तुष्टि, प्रतिस्पर्धा, कृत्रिम आवश्यकताको विस्तार र मानसिक अशान्तिको स्रोत बन्न सक्छ।

यसैले भ्रमपूर्ण, भ्रामक र हानिकारक विज्ञापनहरूको नियन्त्रणमा कडाई गरिनु पर्दछ। यो बिषयमा सबै तहका सरकार समवेदनशिल हुन जरुरी छ। कुनै समाजको महानता उसका सपिङ मल, होर्डिङ बोर्ड र उपभोगको परिमाणले होइन त्यहाँका नागरिकहरूको विवेक, मानवीय संवेदना, नैतिकता र सृजनशीलताले मापन गरिन्छ। त्यसैले हाम्रो लक्ष्य केवल उपभोक्ताको संख्या बढाउनु होइन, स्वतन्त्र रूपमा सोच्न सक्ने, सत्य र भ्रमबीच भिन्नता छुट्याउन सक्ने, समाजप्रति उत्तरदायी र मानवताप्रति प्रतिबद्ध नागरिक निर्माण गर्नु हुनुपर्छ। आखिर, सभ्यताको भविष्य बजारको आकारले होइन चेतनाको उचाइले निर्धारण गर्दछ।

उपभोक्तावादले समाजमा “खाए खा, नखाए घिच” भन्ने बाध्यात्मक संस्कृतिको विस्तार गरेको छ। मानिसको आवश्यकता, चाहना र चेतनामाथि बजारको नियन्त्रण बढ्दै गएको अवस्थामा भ्रमपूर्ण र हानिकारक उपभोक्तावादी प्रवृत्तिविरुद्ध कानुनी नियमनका साथै आम समुदायबाट सचेत, संगठित र विवेकपूर्ण प्रतिरोध आजको आवश्यकता बनेको छ।

वि.सं.२०८३ असार ५ शुक्रवार १०:१५ मा प्रकाशित

खाद्यवस्तुमा फर्मालिनको प्रयोग आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड

खाद्यवस्तुमा फर्मालिनको प्रयोग आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड

आजको आधुनिक युगमा मानिसको जीवनशैली जति सहज बन्दै गएको छ,...

वाम आन्दोलनको पुनर्जागरणका लागि ३४ आधारहरु

वाम आन्दोलनको पुनर्जागरणका लागि ३४ आधारहरु

अहिले नेपाली कम्युनिस्ट पार्टी र एमाले विच प्रदेश स्तरमा सहकार्य...

मनोगत लक्षण विश्लेषण र सर्वसाधारण जनताका चुनौती

मनोगत लक्षण विश्लेषण र सर्वसाधारण जनताका चुनौती

मनोवैज्ञानिक र सामाजिक विशेषताका आधारमा मानिसहरूको वर्गीकरण गर्ने तरिका नै...

सुशासन, असल शासनको अभ्यास

सुशासन, असल शासनको अभ्यास

काठमाडौँ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ ले मुलुकको...

जिर्ण कोशीब्यारेज बगाउने खतराः जनजिविकामा गम्भीर चुनौती

जिर्ण कोशीब्यारेज बगाउने खतराः जनजिविकामा गम्भीर चुनौती

कोशी ब्यारेजको निर्माण भएको बेला जति स्थानीय नेपाली जनता र...

संज्ञानात्मक द्वन्द्व र नेपालको राजनीति: मनोविज्ञान, विचार र व्यवहार

संज्ञानात्मक द्वन्द्व र नेपालको राजनीति: मनोविज्ञान, विचार र व्यवहार

कुनै पनि व्यक्तिमा आफ्ना विश्वास (beliefs), मूल्य (values), दृष्टिकोण (attitudes)...