back
CTIZAN AD

संज्ञानात्मक द्वन्द्व र नेपालको राजनीति: मनोविज्ञान, विचार र व्यवहार

वि.सं.२०८३ साउन २ शनिवार

1K 

shares

कुनै पनि व्यक्तिमा आफ्ना विश्वास (beliefs), मूल्य (values), दृष्टिकोण (attitudes) र व्यवहार (behaviors) बीच एकरूपता कायम राख्न चाहने स्वाभाविक प्रवृत्ति हुन्छ। जब यी पक्षहरूबीच असंगति वा विरोधाभास उत्पन्न हुन्छ त्यस अवस्थालाई संज्ञानात्मक द्वन्द्व, मानसिक असंगति वा विचार–व्यवहारको द्वन्द्व (Cognitive Dissonance) भनिन्छ। मनोविज्ञानको यो सिद्धान्त अमेरिकी सामाजिक मनोवैज्ञानिक लिओन फेस्टिङ्गर (Leon Festinger) ले सन् १९५७ मा प्रकाशित आफ्नो पुस्तक A Theory of Cognitive Dissonance  मार्फत प्रस्तुत गरेका थिए।

जब कुनै व्यक्तिको विश्वास र व्यवहारबीच विरोधाभास उत्पन्न हुन्छ तव उसले मानसिक असहजता, तनाव वा द्वन्द्व अनुभव गर्छ। यस्तो मानसिक असहजता कम गर्न मानिसले कुनै न कुनै मनोवैज्ञानिक उपाय अपनाउने प्रयास गर्छ। उदाहरणका लागि अधिकांश मानिसलाई धूम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने राम्रोसँग थाहा छ तर त्यही व्यक्ति नियमित रूपमा चुरोट सेवन गरिरहन्छ भने उसको विश्वास र व्यवहारबीच विरोधाभास उत्पन्न हुन्छ। एकातिर उसलाई धूम्रपान हानिकारक हो भन्ने ज्ञान हुन्छ भने अर्कोतिर उसले त्यो बानी छोड्न सक्दैन। यही कारणले उसको मनमा संज्ञानात्मक द्वन्द्व वा मानसिक असहजता पैदा हुन्छ।

यस्तो अवस्थामा मानिसले संज्ञानात्मक द्वन्द्व कम गर्न मुख्यतः तीन उपाय अपनाउँछ।

पहिलो- व्यवहार परिवर्तन गर्ने। यदि व्यक्तिले धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने आफ्नो विश्वासलाई व्यवहारमा उतार्छ भने उसले चुरोट सेवन छोड्छ। यसरी विश्वास र व्यवहारबीच सामञ्जस्य स्थापित हुन्छ।

दोस्रो- विश्वास वा दृष्टिकोण परिवर्तन गर्ने। यदि व्यवहार परिवर्तन गर्न कठिन भयो भने व्यक्तिले आफ्नो विश्वास नै परिवर्तन गर्न खोज्छ। उदाहरणका लागि, “धूम्रपान त्यति खतरनाक होइन” वा “थोरै चुरोटले खासै असर गर्दैन” भन्ने निष्कर्षमा पुग्न सक्छ।

तेस्रो- आफ्नो व्यवहारलाई उचित ठहर्याउने (Rationalization)। यो सबैभन्दा सामान्य प्रतिक्रिया हो। व्यक्तिले नयाँ तर्क, बहाना वा औचित्य प्रस्तुत गरेर आफ्नो व्यवहारलाई सही देखाउने प्रयास गर्छ। उदाहरणका लागि, “मेरो हजुरबुबाले पनि चुरोट खानुहुन्थ्यो, उहाँलाई केही भएन।” यस्ता तर्कले वास्तविक समस्या समाधान नगरे पनि व्यक्तिलाई आफ्नो मानसिक असहजता केही हदसम्म कम भएको अनुभूति गराउँछन्।

नेपालको राजनीतिक इतिहास आन्दोलन, परिवर्तन, विचारधारात्मक प्रतिस्पर्धा, गठबन्धन र पुनःगठबन्धनले भरिएको छ। लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता र सुशासनजस्ता आदर्शलाई केन्द्रमा राखेर अनेक आन्दोलन भए। तर व्यवहारमा राजनीतिक दल र नेताहरूका धेरै निर्णय आफ्नै सार्वजनिक प्रतिबद्धता र घोषित सिद्धान्तसँग मेल खाँदैनन्। यही विरोधाभासलाई संज्ञानात्मक द्वन्द्वको मनोवैज्ञानिक दृष्टिकोणबाट पनि बुझ्न सकिन्छ। नेपालको राजनीतिमा विचार, प्रतिबद्धता र व्यवहारबीचका यस्ता असंगतिहरू बारम्बार देखिन्छन्।

मनोवैज्ञानिक अवधारणा र राजनीति

राजनीति, राजनीतिक दलहरूको व्यवहार, उनीहरूका निर्णय तथा समर्थकहरूको प्रतिक्रिया बुझ्नुअघि मानव मनोविज्ञानका केही आधारभूत अवधारणाहरू बुझ्नु आवश्यक हुन्छ। राजनीतिक निर्णयहरू सधैं तथ्य, तर्क वा विचारधाराका आधारमा मात्र हुँदैनन्। मानिसका भावना, समूहप्रतिको निष्ठा, पूर्वधारणा र व्यक्तिगत पहिचानले पनि त्यत्तिकै प्रभाव पार्छन्। त्यसैले यी अवधारणाहरूले राजनीतिक व्यवहारलाई बुझ्न महत्त्वपूर्ण आधार प्रदान गर्छन्। यिनले मानिस किन आफ्ना राजनीतिक विश्वास सजिलै परिवर्तन गर्दैनन्, किन आफ्नै पक्षका कमजोरीलाई औचित्यपूर्ण ठहर्याउने प्रयास गर्छन् र किन एउटै राजनीतिक घटनालाई फरक–फरक समूहले पूर्णतः फरक दृष्टिकोणबाट व्याख्या गर्छन् भन्ने कुरा स्पष्ट पार्छन्।

यसैगरी नागरिकहरू पनि आफूले समर्थन गरेको दल वा नेताको कमजोरी स्वीकार गर्नुभन्दा त्यसको बचाउ गर्न बढी तत्पर देखिन्छन्। सामाजिक सञ्जालमा समेत एउटै घटनालाई फरक–फरक राजनीतिक समूहले आफ्ना दृष्टिकोणअनुसार व्याख्या गर्ने प्रवृत्ति व्यापक रूपमा देखिन्छ।

यी घटनाहरूलाई केवल अवसरवाद, नैतिक पतन वा राजनीतिक रणनीतिका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन। यस्ता व्यवहारमा मानव मनोविज्ञानले पनि महत्त्वपूर्ण भूमिका खेल्छ। यही सन्दर्भमा संज्ञानात्मक द्वन्द्वसहितका मनोवैज्ञानिक अवधारणाहरू उपयोगी उपकरणका रूपमा देखा पर्छन्।

पुष्टि पूर्वाग्रह (Confirmation Bias): पुष्टि पूर्वाग्रह भन्नाले मानिसले आफ्नो पहिलेदेखिको विश्वास वा धारणालाई पुष्टि गर्ने सूचना, समाचार वा प्रमाणलाई सहजै स्वीकार गर्ने तर त्यसको विपरीत जाने तथ्यलाई अस्वीकार गर्ने वा कम महत्त्व दिने प्रवृत्तिलाई बुझाउँछ। अर्थात् मानिसले निष्पक्ष रूपमा सत्य खोज्नुभन्दा आफ्नै विश्वासलाई समर्थन गर्ने जानकारी खोज्ने र त्यसैअनुसार व्याख्या गर्ने गर्दछन।

नेपालको राजनीतिमा यो प्रवृत्ति स्पष्ट रूपमा देख्न सकिन्छ। उदाहरणका लागि कुनै नेता वा सार्वजनिक पदाधिकारीमाथि भ्रष्टाचारको आरोप लाग्दा उसका समर्थकहरूले “यो राजनीतिक प्रतिशोध हो”, “यो विपक्षीको षड्यन्त्र हो” वा “छानबिनअघि दोषी भन्न मिल्दैन” भन्दछन। अर्कोतर्फ त्यही घटनालाई “भ्रष्टाचारको स्पष्ट प्रमाण” वा “सरकारको सफलता” भनेर व्याख्या गर्न सक्छन्। यसरी एउटै घटनालाई फरक–फरक राजनीतिक समूहले आफ्ना पूर्वधारणा र राजनीतिक आस्थाका आधारमा फरक अर्थ लगाउँछन्।

प्रेरित तर्क (Motivated Reasoning): प्रेरित तर्क भन्नाले मानिसले सत्य वा वस्तुगत निष्कर्ष खोज्नुभन्दा आफूले पहिल्यै बनाएको धारणा वा निष्कर्षलाई सही प्रमाणित गर्न तर्क र प्रमाण खोज्ने प्रवृत्तिलाई जनाउँछ।

उदाहरणको लागि यदि कुनै व्यक्तिले कुनै नेता इमानदार छन् भन्ने विश्वास बनाइसकेको छ भने उनीविरुद्ध सार्वजनिक भएका प्रमाणलाई पनि शंकाको दृष्टिले हेर्न सक्छ। बरु आफ्नै विश्वासलाई समर्थन गर्ने तर्क र सूचनालाई बढी महत्त्व दिन्छ। नेपालको राजनीतिमा यो प्रवृत्ति अत्यन्त सामान्य छ। कुनै नेता वा दललाई समर्थन गर्ने व्यक्तिले आफ्ना पक्षका कमजोरीलाई सामान्यीकरण गर्ने, औचित्य पुष्टि गर्ने वा बेवास्ता गर्ने प्रयास गर्न सक्छ। त्यसैगरी, विपक्षीका साना कमजोरीलाई पनि ठूलो विषयका रूपमा प्रस्तुत गर्न सक्छ। यस अवस्थामा निष्कर्ष पहिले तय गरिन्छ र त्यसलाई समर्थन गर्ने तर्क पछि खोजिन्छ।

समूह–चिन्तन (Group-think) भनेको यस्तो अवस्था हो जहाँ समूहको एकता, अनुशासन वा सामूहिक सहमतिलाई यति धेरै महत्त्व दिइन्छ कि आलोचनात्मक सोच, फरक मत वा रचनात्मक असहमति दबिन थाल्छ। परिणामस्वरूप समूहले गरेका निर्णयहरू पर्याप्त समीक्षा नगरी नै स्वीकार गरिन्छन्।

बाहिरीरुपमा नेतृत्वको निर्णयसँग सहमत भएको देखिए पनि केही सदस्यले व्यक्तिगत रूपमा असहमत हुँदा पनि समूहको दबाबका कारण आफ्नो मत व्यक्त गर्दैनन।  नेतृत्वको निर्णयप्रति असहमति जनाउने व्यक्तिलाई आलोचना, अविश्वास वा अनुशासनहीनताको दृष्टिले हेरिने अवस्था सिर्जना हुन सक्छ। फलस्वरूप, धेरै सदस्यले आफ्ना वास्तविक विचार व्यक्त गर्न हिचकिचाउँछन् र समूहले सम्भावित त्रुटिपूर्ण निर्णय पनि चुनौतीविहीन रूपमा स्वीकार गर्न सक्छ। समकालिन राजनीतिमा ओली, प्रचण्ड वा रवि-बालेनको मत वा निर्णयको बिपक्षमा हुनु भनेको भिम रावल हुनु हो भन्ने भाष्यले निचोरेको छ।

पहिचान–संरक्षणात्मक सोच (Identity-Protective Cognition) सोच भन्नाले मानिसले आफू आबद्ध रहेको समूह, राजनीतिक दल, विचारधारा वा सामाजिक पहिचानलाई जोगाउन तथ्यभन्दा भावनात्मक निष्ठालाई प्राथमिकता दिने प्रवृत्तिलाई बुझाउँछ।

उदाहरणको लागी अहिलेको अवस्थामा ओली भनेको एमाले, प्रचण्ड भनेको नेकपा र रवि–बालेन भनेको रास्वपाकै पर्यायजस्तै बनेका छन्। पार्टीको संस्थागत संरचनाभन्दा माथि उठाएर उनीहरूको देवत्वकरण गरिएको हुँदा उनीहरू आफ्ना समर्थकका लागि इष्ट देवतासरह भएका छन्। त्यसैले आफ्नो कुलदेवता वा इष्टदेवताप्रति आलोचना हुँदा जसरी अपमानको अनुभूति हुन्छ त्यसरी नै आफ्ना नेताप्रति गरिएको आलोचनालाई पनि धेरै समर्थकहरूले व्यक्तिगत अपमानका रूपमा महसुस गर्नु स्वाभाविक हो।

कतिपय मानिसका लागि राजनीतिक दल केवल मतदान गर्ने माध्यम मात्र नभई आफ्नो पहिचान, मूल्य र सामाजिक सम्बन्धको हिस्सा पनि बन्न सक्छ। त्यसैले आफ्नो दल वा नेताको आलोचना स्वीकार गर्नु कतिपय व्यक्तिलाई आफ्नै पहिचानमाथिको आक्रमणजस्तो लाग्न सक्छ। यस्तो अवस्थामा तथ्य वा प्रमाण स्पष्ट भए पनि व्यक्तिले त्यसलाई सहजै स्वीकार गर्न नसक्ने बरु आफ्नो समूहको बचाउ गर्ने वा वैकल्पिक व्याख्या खोज्ने सम्भावना बढी हुन्छ।

नेता र कार्यकर्ताको संज्ञानात्मक द्वन्द्व मनोविज्ञानका केही उदाहरण

भ्रष्टाचारविरुद्ध भाषण, आफ्नै दलका भ्रष्टाचारमा मौनता: नेपालका अधिकांश राजनीतिक दलहरूले चुनावका बेला भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता जनाउँछन्। तर जब आफ्नै दलका नेता वा कार्यकर्तामाथि भ्रष्टाचारको आरोप लाग्छ त्यही दलका नेताहरू अनुसन्धानको पक्षमा उभिनुभन्दा उनीहरूको बचाउमा उत्रिएको देखिन्छ। यहाँ एउटा मनोवैज्ञानिक द्वन्द्व सिर्जना हुन्छ। एकातिर “भ्रष्टाचार राष्ट्रघात हो” भन्ने विश्वास हुन्छ भने अर्कोतिर व्यवहारमा “हाम्रो नेता निर्दोष छन्, उनीमाथि राजनीतिक प्रतिशोध भएको हो” भनिन्छ। विश्वास र व्यवहारबीचको यो द्वन्द्व कम गर्न समर्थकहरूले विभिन्न तर्क निर्माण गर्छन्—”अरूले पनि गरेका छन्।”, “हाम्रालाई मात्र किन समातियो?”, “यो विपक्षीको षड्यन्त्र हो।” यसरी मूल नैतिक प्रश्नबाट ध्यान हटाएर मानसिक असहजता कम गर्ने प्रयास गरिन्छ।

विचारधाराभन्दा सत्ता प्राथमिकता: नेपालमा कुनै दलले चुनावअघि अर्को दललाई लोकतन्त्रको शत्रु, भ्रष्ट वा असफल भन्दै कडा आलोचना गरेको देखिन्छ। तर चुनावपछि सरकार गठन, शक्ति सन्तुलन वा पुनः सत्तामा पुग्ने उद्देश्यले त्यही दलसँग गठबन्धन गर्ने वा पार्टी एकीकरणसम्म गर्ने अवस्था पनि देखिन्छ। यस्तो अवस्थामा कार्यकर्ताको मनमा प्रश्न उठ्छ—”हिजोसम्म गलत भनेको दल आज कसरी सही भयो?” यदि यसको स्पष्ट उत्तर पाइँदैन भने कार्यकर्ताले आफ्नै मनलाई सन्तुष्ट पार्न नयाँ व्याख्या बनाउँछ। जस्तै—”राष्ट्रहितका लागि सम्झौता गर्नुपर्‍यो।”, “स्थिर सरकार बनाउन आवश्यक थियो।” “यो रणनीतिक सहकार्य मात्र हो।” आदि।

व्यक्तिपूजा र राजनीतिक निष्ठा: नेपालमा धेरै मतदाता दल, नीति वा विचारभन्दा व्यक्तिप्रति बढी निष्ठावान् देखिन्छन्। कतिपय नेतालाई “बा” को रूपमा स्थापित गरिएको छ भने कतिलाई “पिता” को रूपमा प्रस्तुत गरिएको छ। पछिल्ला वर्षहरूमा केही नेतालाई सेलिब्रिटीको रूपमा पनि उभ्याइएको छ। उमेर, अनुहार, पहिरन, जातीय वा क्षेत्रीय पहिचानका आधारमा नेताप्रति आफूलाई पूर्ण रूपमा समर्पित गर्ने प्रवृत्ति बढ्दो देखिन्छ।

यसको परिणामस्वरूप आफूले आदर्श मानेको नेताले विवादास्पद निर्णय गरे पनि समर्थकहरू त्यसको बचाउ गर्न अग्रसर हुन्छन्। उनीहरू प्रायः भन्छन्— नेताले कुनै कारणले यस्तो गर्नुभएको होला।” “हामीलाई सबै तथ्य थाहा छैन।” “अरू नेताभन्दा त उहाँ राम्रो नै हुनुहुन्छ।” यसरी मानिसले आफ्नो अघिल्लो विश्वासलाई जोगाइराख्न नयाँ–नयाँ तर्क निर्माण गर्छ। यो संज्ञानात्मक द्वन्द्व कम गर्ने एउटा मनोवैज्ञानिक प्रक्रिया हो।

मतदाताको मनोविज्ञान: एउटै दललाई पटक–पटक मतदान गर्ने मतदाताले अपेक्षित परिवर्तन नदेख्दा पनि आफ्नो निर्णय सही थियो भन्ने विश्वास कायम राख्न खोज्छ। यदि उसले आफ्नो निर्णय गलत थियो भनेर स्वीकार गर्‍यो भने आफ्नो आत्मसम्मानमा चोट पुगेको महसुस हुन सक्छ। त्यसैले उसले भन्न सक्छ— समस्या नेतामा होइन, परिस्थितिमा थियो।” “यसपालि काम गर्न पाएनन्।” “अर्को कार्यकाल पर्खौँ।”

यस्तो सोचलाई मनोविज्ञानमा निर्णयपछिको मानसिक द्वन्द्व (Post-decision Dissonance) को उदाहरण मानिन्छ। मानिसले एकपटक गरेको निर्णय गलत थियो भन्ने स्वीकार गर्नुभन्दा त्यसलाई सही साबित गर्ने नयाँ कारणहरू खोज्न सहज ठान्छ।

राजनीतिक कार्यकर्ताको द्वन्द्व: धेरै कार्यकर्ता सामाजिक न्याय, समानता र सुशासनका आदर्शबाट प्रेरित भएर राजनीतिमा प्रवेश गर्छन्। तर समयसँगै उनीहरूले फरक यथार्थ अनुभव गर्न थाल्छन्। अवसर क्षमता र योग्यताभन्दा पहुँचका आधारमा बाँडिएको देखिन्छ, गुटबन्दी हाबी हुन्छ, र आफ्नै दलले सार्वजनिक रूपमा घोषणा गरेका सिद्धान्त व्यवहारमा लागू नगरेको महसुस हुन्छ।

यस्तो परिस्थितिमा धेरै कार्यकर्ताले आफ्नो असन्तुष्टिलाई दबाउँदै “राजनीतिमा यस्तै हुन्छ” भनेर चित्त बुझाउने प्रयास गर्छन्। यसले उनीहरूका आदर्श र व्यवहारबीच उत्पन्न भएको मानसिक द्वन्द्वलाई अस्थायी रूपमा कम गर्न मद्दत गर्छ तर दीर्घकालमा यही प्रक्रियाले आदर्शवादी कार्यकर्तालाई पनि यथास्थितिवादी बनाउँदै लैजान सक्छ।

आन्दोलन र सत्ताको मनोविज्ञान: नेपालको इतिहासमा भएका विभिन्न राजनीतिक आन्दोलनहरूले पारदर्शिता, उत्तरदायित्व, सामाजिक न्याय र जनमुखी शासनको प्रतिबद्धता व्यक्त गरेका थिए। तर सत्तामा पुगेपछि ती प्रतिबद्धता व्यवहारमा कमजोर हुँदै गएको भन्दै आलोचना हुने गरेको छ।

यस परिवर्तनलाई केवल व्यक्तिको नैतिक कमजोरीका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन। शक्ति, पुराना राज्य संरचनासँगको अन्तर्क्रिया, राजनीतिक प्रतिस्पर्धा, संस्थागत दबाब र मनोवैज्ञानिक अनुकूलन (Psychological Adaptation) का संयुक्त प्रभावले पनि यस्तो परिवर्तनलाई प्रभावित गर्छ।

यसै कारण हिजो जनयुद्धमा आफ्नो ज्यानको बाजी थापेर युद्धमैदानमा लडेका धेरै क्रान्तिकारीहरू पनि सत्ता र शक्तिको केन्द्रमा पुगेपछि विस्तारै त्यही प्रणालीसँग अनुकूलित हुँदै गए। परिवर्तनको नेतृत्व गर्ने व्यक्तिहरू नै क्रमशः यथास्थितिको रक्षक बन्न पुगे र कतिपयले आफू कहिले क्रान्तिकारीबाट दक्षिणपन्थी राजनीतिक भाष् तर्फ सरे भन्ने कुरा समेत महसुस गर्न सकेनन्। यो पनि संज्ञानात्मक द्वन्द्व र मनोवैज्ञानिक अनुकूलनको एउटा रोचक उदाहरण हो।

सामाजिक सञ्जाल र पुष्टि पूर्वाग्रह: आज सामाजिक सञ्जालले संज्ञानात्मक द्वन्द्वलाई झन् जटिल बनाइदिएको छ। अधिकांश मानिसले आफ्नो विश्वाससँग मेल खाने समाचार, भिडियो र सामग्री मात्र खोज्ने, हेर्ने र साझा गर्ने गर्छन्। आफूलाई मन नपर्ने तथ्य वा प्रमाणलाई भने अस्वीकार गर्ने वा कम महत्त्व दिने प्रवृत्ति देखिन्छ।

उदाहरणका लागि, एउटै राजनीतिक घटनालाई फरक–फरक राजनीतिक समूहले पूर्णतः विपरीत ढङ्गले व्याख्या गर्न सक्छन्। प्रत्येक समूहले आफ्नै धारणा पुष्टि गर्ने तथ्यलाई प्राथमिकता दिन्छ र विपरीत प्रमाणलाई अविश्वसनीय, पक्षपाती वा षड्यन्त्रको संज्ञा दिन सक्छ। यसरी सामाजिक सञ्जालले पुष्टि पूर्वाग्रह (Confirmation Bias) लाई बलियो बनाउँदै संज्ञानात्मक द्वन्द्वलाई अझ गहिरो बनाउने काम गर्छ।

संज्ञानात्मक द्वन्द्व (Cognitive Dissonance) : मानव व्यवहार बुझ्नका लागि अत्यन्त प्रभावशाली मनोवैज्ञानिक सिद्धान्त हो। यसले मानिसले आफ्ना विश्वास, निर्णय र व्यवहारबीच देखिने असङ्गतिलाई कसरी तर्क, औचित्य वा नयाँ व्याख्याको माध्यमबाट मिलाउने प्रयास गर्छ भन्ने कुरा स्पष्ट पार्छ। तर, यो सिद्धान्त मात्रका आधारमा सबै राजनीतिक व्यवहारको व्याख्या गर्न सकिँदैन।

सबै मानिसले समान रूपमा मानसिक द्वन्द्व अनुभव गर्दैनन्। व्यक्तिको आर्थिक स्वार्थ, सत्ता संरचना, कानुनी व्यवस्था, सामाजिक वर्ग, जातीय तथा सांस्कृतिक पहिचान, शिक्षा, राजनीतिक परिवेश र अन्तर्राष्ट्रिय सम्बन्धजस्ता अनेकौँ पक्षले पनि राजनीतिक सोच र निर्णयलाई प्रभावित गर्छन्। त्यसैगरी कतिपय निर्णय रणनीतिक, संस्थागत वा व्यावहारिक कारणले गरिएका हुन्छन्, जसलाई केवल मनोवैज्ञानिक द्वन्द्वको दृष्टिकोणबाट मात्र बुझ्न पर्याप्त हुँदैन। त्यसैले संज्ञानात्मक द्वन्द्वलाई राजनीतिक विज्ञान, समाजशास्त्र, इतिहास र अर्थशास्त्रका दृष्टिकोणसँग समन्वय गरेर अध्ययन गर्दा मात्र सन्तुलित र यथार्थपरक विश्लेषण सम्भव हुन्छ।

संज्ञानात्मक द्वन्द्वलाई बुझ्नु भनेको अरूको सोच र व्यवहारको मात्र विश्लेषण गर्नु होइन; आफ्नै विश्वास, निर्णय र आचरणको पनि इमानदारीपूर्वक समीक्षा गर्नु हो। यसका लागि आफ्ना विश्वासमाथि प्रश्न उठाउने साहस, नयाँ र विश्वसनीय प्रमाण प्राप्त हुँदा धारणा परिवर्तन गर्न सक्ने खुलापन, आफ्नै पक्षका कमजोरी स्वीकार गर्ने बौद्धिक इमानदारी, आलोचनालाई शत्रुताका रूपमा होइन सुधारको अवसरका रूपमा ग्रहण गर्ने संस्कार, तथा व्यक्तिपूजाभन्दा संस्थागत उत्तरदायित्व र विधिको शासनलाई प्राथमिकता दिने अभ्यास आवश्यक हुन्छ।

लोकतन्त्रलाई बलियो बनाउने आधार केवल संविधान, कानुन वा संस्थाहरू मात्र होइनन्; नागरिक, कार्यकर्ता र राजनीतिक नेतृत्वको बौद्धिक इमानदारी, आत्मसमीक्षाको क्षमता र सत्यप्रतिको प्रतिबद्धता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। जब समाजले आफ्ना विश्वासलाई प्रमाण र तर्कको कसौटीमा जाँच्ने, आफ्नै पक्षका कमजोरी स्वीकार गर्ने, आवश्यक परे धारणा परिवर्तन गर्न सक्ने र फरक विचारलाई लोकतान्त्रिक रूपमा सम्मान गर्ने संस्कार विकास गर्छ तब संज्ञानात्मक द्वन्द्व विभाजन, कट्टरता र अन्धसमर्थनको कारण बन्ने होइन; बरु आत्मसमीक्षा, निरन्तर सुधार, सहिष्णुता र लोकतान्त्रिक परिपक्वताको आधार बन्न सक्छ। यही संस्कारले व्यक्तिपूजामाथि विवेक, भावनामाथि तर्क र अन्धनिष्ठामाथि उत्तरदायित्वलाई स्थापित गर्दै स्वस्थ लोकतान्त्रिक समाज निर्माण गर्न मद्दत पुर्‍याउँछ।

 

 

 

 

वि.सं.२०८३ साउन २ शनिवार १३:०९ मा प्रकाशित

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

कन्सल्टेन्सी सञ्चालन गर्न २५ लाख अनिवार्य धरौटी : सही कि गलत ?

कन्सल्टेन्सी सञ्चालन गर्न २५ लाख अनिवार्य धरौटी : सही कि गलत ?

हाल सरकारले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन...

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

१.पृष्ठभूमि आधुनिक सामाजिक विज्ञानले देखाउँछ कि मानिसको आचरण, धर्मीय दृष्टिकोण...

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

नेपालीहरूको एउटा अनौठो स्वभाव छ। कसैले राम्रो काम गर्न खोज्यो...

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मान भनेको व्यक्तिको आफ्नै मूल्य वा व्यक्तिगत मूल्यको व्यक्तिपरक मूल्याङ्कन...

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...