देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि बढ्न थालेको छ । मौसमविद्हरूका अनुसार यसपटकको गर्मी यसअघिका भन्दा धेरै हुने सक्ने सम्भावना रहेको छ, जसले मानव शरीरका विभिन्न अंगहरूमा प्रत्यक्ष असर पार्न सक्छ ।
चिकित्सकहरूका अनुसार अत्यधिक गर्मीका कारण शरीरको तापक्रम नियन्त्रण प्रणालीमा दबाब पर्छ । यसले मुटु, मस्तिष्क, मिर्गाैला, कलेजो तथा पाचन प्रणालीमा असर पु¥याउन सक्छ । विशेषगरी अत्यधिक पसिना बग्दा शरीरबाट पानी र आवश्यक खनिज तत्वहरू बाहिरिने भएकाले डिहाइड्रेसन, इलेक्ट्रोलाइट असन्तुलन, गर्मीजन्य थकान तथा हीट स्ट्रोक(लु लाग्नु)को जोखिम बढ्ने बताइएको छ ।
यसरी असर गर्छ गर्मीले शरीरमा
जब तापक्रम ४०–४५ डिग्री सेल्सियसको आसपास पुग्छ, शरीरको तापक्रम नियन्त्रण प्रणाली (थर्माेरेगुलेसन) मा अत्यधिक दबाब पर्छ, जसले विभिन्न अंगहरूमा देखाइएको असर गर्छ ः
मुटु :
– छालामा बढी रगत पठाउन निकै छिटो पम्प गर्छ ।
– मुटुको धड्कन बढ्छ ।
– अत्यधिक पसिनाले पानी र खनिजको कमी (डिहाइड्रेसन) हुन्छ, रक्तचाप घट्न सक्छ ।
कलेजोः
– डिहाइड्रेसनले कलेजोमा रगत आपूर्ति कम गराउँछ ।
– मेटाबोलिज्म र विषाक्त पदार्थ हटाउने प्रक्रिया (डिटो क्सिफिकेसन) सुस्त बनाउँछ ।
मिर्गाैला :
– पसिनासँगै पानी र इलेक्ट्रोलाइट्सको कमी हुन्छ ।
– पानी बचत गर्न कम पिसाब आउँछ ।
– लामो डिहाइड्रेसनले मिर्गाैलामा चोट वा पत्थरीको जोखिम बढाउँछ ।
मस्तिष्क :
– शरीरको तापक्रम ४० डिग्री सेल्सियस नजिक पुग्दा हिट स्ट्रोकको जोखिम बढ्छ ।
– स्नायु प्रणालीमा असर गर्दछ ।
– चक्कर लाग्ने, भ्रम, बेहोशी, इलेक्ट्रोलाइट असंतुलनले मस्तिष्कको कार्यक्षमता घटाउँछ ।
पाचन :
– पाचन प्रणालीमा रगतको प्रवाह कम हुँदा पाचन प्रक्रिया सुस्त बन्छ ।
– उच्च तापक्रममा ब्याक्टेरिया छिटो बढ्नाले खाद्य विषाक्तताको जोखिम बढ्छ ।
दिउँसो १२ बजेदेखि ४ बजेसम्म उच्च जोखिम स्वास्थ्य विज्ञहरूले दिउँसो १२ बजेदेखि ४ बजेसम्मको समय सबैभन्दा जोखिमपूर्ण हुने बताएका छन् । यस समयमा सूर्यको किरण सिधै पृथ्वीमा पर्ने, तापक्रम उच्च हुने तथा शरीरको प्राकृतिक शीतलन प्रणाली कम प्रभावकारी हुने भएकाले अनावश्यक रूपमा बाहिर ननिस्कन सुझाव दिइएको छ ।
यदि बाहिर जानै परेमा छाता, टोपी वा कपडाले टाउको छोप्ने, हल्का तथा सुती कपडा लगाउने, नियमित रूपमा पानी तथा ओआरएस सेवन गर्ने र गह्रौं शारीरिक श्रम नगर्ने सुझाव चिकित्सकहरूले दिएका छन् ।
पर्याप्त पानी र हल्का आहार आवश्यक
चिकित्सकहरूका अनुसार गर्मीको समयमा तिर्खा लागेपछि मात्र होइन, नियमित अन्तरालमा पानी पिउनुपर्छ । सामान्य अवस्थामा हरेक २० देखि ३० मिनेटमा तथा घाममा रहँदा १५ देखि २० मिनेटमा पानी सेवन गर्नु उपयुक्त मानिन्छ । साथै कागती पानी, ओआरएस, नुन–चिनीको झोल तथा पानीको मात्रा बढी भएका फलफूल जस्तै तरबुजा र काँक्रो सेवन गर्न सल्लाह दिइएको छ ।
यी व्यक्तिहरू बढी जोखिममा
ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, मुटु, मिर्गाैला तथा मधुमेहका बिरामीहरू अत्यधिक गर्मीबाट बढी प्रभावित हुन सक्ने चिकित्सकहरूको भनाइ छ । उनीहरूले विशेष सावधानी अपनाउनुपर्ने बताइएको छ ।
हिट स्ट्रोक (गर्मी स्ट्रोक) का लक्षणहरू
– अत्यधिक पसिना आउनु, कमजोरी, टाउको दुखाइ बढ्नु, चक्कर लाग्छ ।
– बेहोशी, शरीरको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि आउने, पसिना आउन बन्द हुने, कहिलेकाहीँसुख्खा छाला हुनसक्छ, यो चिकित्सकीय आपतकालीन अवस्था हो ।
– मुख सुख्खा हुनु, पिसाब कम लाग्नु, थकान हुनसक्छ ।
– मांसपेशी दुखाइ, कमजोरी, मुटु र मस्तिष्कको कार्यप्रणाली प्रभावित हुनसक्छ ।
– मुटु र मिर्गाैलामा दबाब पर्दा बेहोस हुने, गाढा पहेंलो पिसाब हुनसक्छ ।
– पाचन समस्या : भोक नलाग्ने, कमजोरी, खाना विषाक्तता, बान्ता, पखाला लाग्न सक्छ ।
यदि कसैलाई हिट स्ट्रोक भए तुरुन्तै के गर्ने ?
गर्मी स्ट्रोक ज्यानै लिन सक्ने आपतकालीन अवस्था हो । त्यसैले त्यसको उपचारमा गम्भिर हुनुपर्दछ । यसरी गर्नुहोस् घरेलु उपचार ः
– बिरामीलाई तुरुन्तै छायाँ वा एसी÷पंखा भएको चिसो ठाउँमा लैजानुहोस् ।
– टाइट लुगा खुकुलो पार्नुहोस् ।
– टाउको, घाँटी र काखी मा चिसो पानीको कम्प्रेस (भिजेको कपडा) राख्नुहोस् ।
– होशमा भए चिसो पानी, ओआरएस, कागती पानी, नुन–चिनीको घोल बिस्तारै पिउन दिनुहोस् ।
– जोरजर्बजस्ती पानी नखुवाउनुहोस् ।
– बेहोस व्यक्तिलाई मुखबाट केही नदिनुहोस् ।
बरफको प्रयोग नगर्नुहोस्, बरफ जस्तो चिसो पानीले शरीरको तापक्रम अकस्मात घटाउन सक्छ । यदि बिरामी बेहोस छ भने तुरुन्त डाक्टरकहाँ लैजानुहोस् ।
कहिले तुरुन्त अस्पताल जाने ?
निम्न लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न चिकित्सकहरूले आग्रह गरेका छन् :
– शरीरको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्नु,
– बेहोस हुनु वा बोल्न गाह्रो हुनु,
– सास फेर्न समस्या हुनु,
– छाती दुख्नु वा मुटुको धड्कन अत्यधिक बढ्नु,
– लगातार बान्ता हुनु,
– अत्यधिक कमजोरी वा शरीर नचल्ने अवस्था आउनु ।
विशेषज्ञहरूका अनुसार हीट स्ट्रोक एक आपतकालीन अवस्था हो । बिरामीलाई तुरुन्तै छायाँ वा चिसो स्थानमा सार्ने, कडा कपडा फुकाल्ने, टाउको तथा घाँटीमा चिसो कपडा राख्ने र होसमा भए बिस्तारै पानी वा ओआरएस पिलाउने गर्नुपर्छ । बिरामी बेहोस भए मुखबाट केही पनि नदिन तथा तत्काल स्वास्थ्य संस्थामा पु¥याउन आग्रह गरिएको छ ।
स्वास्थ्य विज्ञहरूले अत्यधिक गर्मीको समयमा सानो लापरवाहीले पनि गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकाले सचेत रहन र आवश्यक सावधानी अपनाउन सबैलाई अनुरोध गरेका छन् ।
उच्च गर्मीको समयमा, शरीरलाई प्राकृतिक रुपमा शीतल प्रदान गर्ने हाम्रो शरीरको प्रणाली र मुटुमा बढ्दो दबाब पर्छ । यसले गर्मीको तनावको जोखिम बढाउँछ । त्यसैले, प्रशस्त पानी पिउनुहोस्, आराम गर्नुहास् र हल्का खाना खानुहोस् । बिहानको चिसो मौसममा हल्का व्यायाम गर्न नबिर्सनुहोस् ।
स्वास्थ्यकर्मीहरुले गर्मीबाट बच्न घर तथा कार्यस्थललाई सकेसम्म चिसो राख्न सुझाव दिएका छन् । झ्याल–ढोका खुला राख्ने, पर्दा प्रयोग गर्ने, पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउने तथा अत्यधिक गर्मी हुने समयमा विद्युतीय उपकरणहरूको अनावश्यक प्रयोग कम गर्न विज्ञहरूले सुझाव दिएका छन् ।
वि.सं.२०८३ असार १७ बुधवार ०८:४३ मा प्रकाशित






























