back
CTIZAN AD

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

वि.सं.२०८३ असार १७ बुधवार

903 

shares

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको उचित कदर हुन सकेको छैन । उनले मुख्य रूपमा नेपाल–अङ्ग्रेज युद्ध (वि.सं. १८७१–१८७२) मा बुटवलको जीतगढी किल्लामा अङ्ग्रेज सेनालाई पराजित गरी नेपालको सार्वभौमसत्ता बचाएका थिए । पाल्पा–बुटवल क्षेत्रको सैन्य कमान्डर र प्रशासकका रूपमा उनले पहाडी युद्ध रणनीति र अनुशासनको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको देखिन्छ । उनको यही देशभक्ति र वीरताको कदर गर्दै उजिरसिंहलाई राष्ट्रिय नायकको रूपमा सम्मान गरे पनि स्थानीय स्तरबाट उनलाई औपचारिक रूपमा ‘राष्ट्रिय विभूति’ घोषणा गर्न नेपाल सरकार समक्ष लगातार माग भइरहेको छ ।अहिलेसम्म यस्ता वीर राष्ट्रिय नायक ओझेलमै परेको छन् ।

काजी नयनसिंह थापाका जेठा छोरा कर्णेल उजिरसिंह थापाको परिवारमा भाइ माथवरसिंह थापा र दिदीबहिनीमा गणेशकुमारी थिए । पाल्पामा आफ्ना बाबुको मृत्युपछि जनरल भीमसेन थापाले आफ्ना भाइ नयनसिंह थापाका छोरा कर्णेल उजिरसिंह थापालाई पाल्पाको सुरक्षाको निम्ति खटाएर पठाएका थिए । कर्णेल उजिरसिंह थापाको जन्म सन् १७९५ मा भएको थियो । उनका बाबु नयनसिंह थापाको सन् १८०६ मा मृत्यु हुँदा उनी ९÷१० वर्षका मात्र थिए । सानै उमेरमा पिता गुमाउनु परेकाले उनको रेखदेख भीमसेन थापाद्वारा भएको थियो । पाल्पामा तैनाथवाला भएर खटि¤दा उजिरसिंह २० वर्षका मात्र थिए (डंगोल, २०४०,पृ.३५–३६, बस्न्यात, २०७४, पृ.१७६) । जनरल अमरसिंह थापाले अंग्रेजको मातहतमा रहेको बुटवल र स्युराज (शिवराज कपिलवस्तु) कब्जा गरी सो तराई प्रदेशलाई लिएर अंग्रेजहरुलाई चिढाएका थिए । जो पछि गएर युद्धको तत्कालीन कारण बन्यो । तर, त्यही सालको असोजमा अमरसिंह थापाको मृत्यु हुन गएकोले नेपालले पाल्पालाई विशेष ध्यान दिएको थियो । अर्को कारण पाल्पालाई अंग्रेजहरुले पहिलो निसान बनाउने आशंकाले पाल्पाको विशेष तयारी भएको थियो । सुरक्षाका लागि उजिरसिंहले गढी निर्माण गराए । उनी ठाउँ–ठाउँमा प्रशस्त गढीहरु बनाएर अंग्रेजहरुलाई झुक्याउन चाहन्थे । नेपाल कम्पनी सरकार युद्धमा तयारीपूर्वक लड्न पाउने नायक उजिरसिंह थापा नै थिए । अमरसिंह थापाले बुटवल कब्जा गरेको ६ महिनासम्म कुनै खलबल नभए तापनि अंग्रेजहरुले आक्रमण गर्ने चार ठाउँमध्ये पाल्पामा पूर्वबाट दोस्रोमा पथ्र्यो । सन् १८१४ को अंग्रेजसंगको युद्धमा उजिरसिंह थापालाई करिब तीन हजार सेना दिइएको थियो । अंग्रेजले सन् १८१४ अक्टोवरमा युद्धको घोषणा गरे पनि नेपालमा पहिल्यै उनीहरुले प्रवेश गरे । युद्ध घोषणा भएको दुई हप्तापछि जनरल उडले बुटवलतिर बढ्ने आदेश दिए तापनि ढुवानीको व्यवस्था मिलाउँदा सात हप्ता ढिलो भयो । पाल्पाका राजा पृथ्वीपाल सेनका नोकरहरुले अंग्रेजी सेनालाई छोटो बाटो देखाइदिए । अर्को अंग्रेजी सेना नुवाकोटबाट गढीमा आयो । सो गढीमा उजिरसिंह थापा, लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान कृपासुर थापा, दलखम्ब थापा, सवुज रेजिमेन्टका पाँच सय जवान र गुरुबक्स कम्पनीका दुई सय जवान लिई बसेका थिए भने काजी वीरभञ्जन पाण्डे करिब पाँच सय सेनाका साथ शत्रुलाई छल्न बनेको काठे गढीमा बसेका थिए । पुस २२ गते अंग्रेजबाट युद्ध प्रारम्भ भयो । यस आक्रामणमा पाँच अधिकृत र एक सय २८ अंग्रेज सिपाही मरे भने ७० जना नेपाली सेनाले वीरगति प्राप्त गरे ।

कर्णेल उजीरसिंह थापा (सन् १७९५—१८२४)

पाल्पामा नुवाकोट गढीमा अंग्रेजी सेना धेरै मरेकाले जनरल उडले लडाईं रोके । रातभरी नेपाली सेनाले अंग्रेज सेनालाई लखेटे । अंग्रेजहरुलाई बाटो देखाउने पाल्पाली राजाका पूर्वमन्त्री कनकनिधि तिवारीका भाइलाई नेपाली सेनाले पक्री मारे (वैद्य र अरुहरु,पृ.५०) । बुटवल नजिक जितपुरबाट हार खानुपर्दा उड चिन्तित थियो । तानसेनतिर बढेको दोस्रो बटालियन पनि हार खाएर फक्र्यौ । एक सय गोरा र पाँच सय काला भरिया, तीन हजार भारतीय मूलका सिपाही डगडगुवामा गई बसेका थिए । उडले नेपाली सेनालाई तराईमा झारी तोपले भुट्ने विचार गरी लुट मच्चाए । तर, उजिरसिंहले आफ्ना सेनालाई तराई झारेनन् । अर्को वर्ष सन् १८१५ मा उडले कुसुमघाट पुगी खलङगा निर्माण गरे (डंगोल, पृ.३६) । जितगढीमा आक्रामण गर्दा नेपाली चुप लागेर बसेका थिए । अंग्रेज किल्लानजिकै पुगेको बेलामा करिब तीन सय ५० नेपालीले अंग्रेजलाई धपाए । नेपाल–कम्पनी युद्ध अवधिमा अनेक स्थलहरुमा दुई सरकारका सेनाहरुबीच युद्धहरु भए, तर उजिरसिंह थापाले नेतृत्व गरेको सेनाले अंग्रेजी सेनालाई जितगढी युद्धमा हराए । यो घटना नेपालको सैनिक इतिहासमा अति गौरवशाली घटना मानिन्छ । दोस्रो हारबाट जनरल उड आउन सकेनन् । कर्णेल उजिरसिंह थापाले तैनाथ लिएको ठाउँमा अंग्रेजले एक अंगुल जमीन पनि लिन सकेन । युद्ध सकिएपछि उजिरसिंह थापाले तानसेन बजारका बीचमा प्यागोडा शैलीको रणउज्जेश्वरी मन्दिर निर्माण गरी तीनतले आफ्नो उचाई बराबरको गजुर अर्पण गरी चाँदीको छत्र ओडाएको १८ हात भएको देवीको मूर्ति स्थापना गराए । उजिरसिंह तथा उनकी श्रीमती रणकुमारीको नामबाट रणउज्जेश्वरी नाम राखिएको थियो । उनले त्यस मन्दिरको गुठीको पनि व्यवस्था गरे ।

तानसेन स्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गरेको छ । लुम्बिनी प्रदेश सरकारले भगवती यात्राको दिन पाल्पा जिल्लामा सार्वजनिक बिदा दिने गरेको छ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलीपल्ट धुमधामका साथ विजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन रहँदै आएको छ । तत्कालीन ब्रिटिश सेनालाई नेपाली फौजले पराजित गरेको सम्झनामा पाल्पामा विजय उत्सव स्वरुप सो जात्रा निकालिदै आएको छ । तत्कालीन समयमा नेपाली फौजले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठूलो पर्व र जात्राको रुपमा परिचित छ । कर्णेल उजीरसिंह थापाले विसं १८७६ मा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राको रुपमा सञ्चालन गरिँदै आएको छ ।

त्यस्ता पराक्रमी, साहसी उजिरसिंह थापाको मृत्यु कलिलै उमेरमा सन् १८२४ मा भयो । त्यस्तो कलिलो बैंसमा ठूलो पराक्रम देखाई उजिरसिंह थापा पाल्पामा नै दिवङ्गत भए । कर्णेल उजिरसिंह थापाको मृत्युपछि उनको शवसंगै उनकी पत्नी रणकुमारी सती गइन् । आफू सती जानुभन्दा पहिले उनले २९ सय पाँच रुपैयाँ रकम श्री भगवतीका लागि गुठी राखिदिएकी थिइन् । पछि सो रकमबाट जमीन खरिद गरी गुठी खडा गरिएको अहिले पनि छँदै छ । पाल्पा भगवतीको महिमा ठूलो छ । त्यस्तो हुनुको आधार प्रत्येक वर्ष भदौ कृष्ण नवमीका दिनमा भगवतीको रथयात्रा हुने चलन उजिरसिंह थापाले चलाएर छोडेको बुझिन्छ । उजिरसिंह थापाले निर्माण गरेको उक्त मन्दिर सन् १९३५ मा भत्कियो । त्यसपछि सो मन्दिर जीर्णोद्वार गर्दा तीन तलाको सट्टामा दुईतले मात्र बनाइएको छ ।

उजिरसिंह थापाको मृत्यु औलो ज्वरोबाट हुन गएको बुझिएको छ । नेपाल–अंग्रेज युद्धपछि पनि उजिरसिंहलाई पाल्पाकै तैनाथवालाका रुपमा थमौती गरिएको थियो । त्यो फुर्सदको समयमा उनले सैनिक तालिम र अभ्यास गरेको कुरा सन् १८२२ मा जङ्गी तथा निजामती कर्मचारीहरुलाई तालिम दिन मिल्ने गरी एउटा उपयोगी पुस्तकको तयारी गर्न लगाएबाट थाहा हुन्छ । त्यो पुस्तक पुरात्व विभाग राष्ट्रिय अभिलेखालयमा सुरक्षित राखिएको छ । र, सो पुस्तकको लगत नं. २/३०७ छ । उजिरसिंह थापाले रचना गरेको सो पुस्तकको आफ्नै छुट्टै किसिमको महत्व रहेको छ । यो पुस्तकको नाम ‘उजिरसिंह थापाले विसं १८७९ मा बाँधेको बन्देज’ हो । यो तत्कालीन राजा राजेन्द्रविव्रmम शाहको शासनकालमा जारी भएको हो । यो पुस्तक नेपालको निजामती सेवाको क्षेत्रमा पहिलो कर्मचारी तालिम सामग्रीका रूपमा मात्र सकिन्छ ।

कर्णेल उजिरसिंह थापाले रचना गरेको पुस्तक जम्मा ६ परिच्छेदमा विभाजित छ । पहिलो परिच्छेदमा कुनै पनि कार्यालयका हाकिमले काम गर्दा र कर्मचारी भर्ना गर्दा ध्यान दिनुपर्ने कुरा छन् । दोस्रोमा हाकिमले पल्टनका जवानको भर्ना गर्दा ध्यान दिनु पर्ने गहकिला कुरा छन् । तेस्रो परिच्छेदमा पल्टनका जवानहरुको नियम र अनुशासनमा नबसेमा दण्डको भागी बन्नु पर्ने कुरा छन् भने चौथोमा अदालतका ठूला हाकिमले ध्यान दिनुपर्ने कुरा छन् । पाँचौ तथा छैटौ परिच्छेदमा कुन कुन प्रकारका अपराधहरु गर्ने अपराधीलाई के कस्ता सजाय गर्ने भन्ने र सजाय गर्दा हाकिमले विशेष ध्यान दिनुपर्ने कुरा पनि लेखिएको छ । विशुद्ध पाण्डुलिपिमा रहेको यस पुस्तकले तत्कालीन जङ्गी, निजामती तथा न्यायिक क्षेत्रलाई स्पष्ट प्रतिविम्वित गरेको पाइन्छ । सो पुस्तकबाट कर्णेल उजिरसिंह थापा ज्यादै अनुभवी, पूर्ण तालिमप्राप्त, पढन लेख्नमा रुची राख्ने, न्याय निसाफमा निष्पक्ष न्याय दिने, इमानदार र दूरदर्शी भएको प्रमाणित हुन्छ । साथै उनका पालाका विभिन्न आदेश, निर्देशन र सैनिक सवालहरु पुरातत्व विभागमा रहेका छन् (बस्न्यात, २०७४, पृ. १७६–१६९) । उनीमा ज्ञानलाई बचाई राख्न लेख्नु पर्छ भत्रे चेत रहनु आफैमा ठुलो कुरा हो । खासगरीकन बगाले थापाहरुमा आफ्नो इतिहास, परम्परा, गौरवशाली विरासत् जोगाउन लिखित अभिलेखीकरणको धेरै महत्व हुन्छ भत्रे कुराको सचेतपूर्वक ध्यान दिइएको पाइदैन । त्यसकारण बगाले थापाहरुले एकीकरण अभियान र नेपालको अखण्डता र सार्वभौमसत्ता जोजाउन गरेको योगदानको कदर ओजेलमा परेको देखिन्छ । कत्तिले त इतिहनस नै तोडमोड गरेर बगाले थापाका गौरवशाली व्यक्तित्वसमेतलाई बदनाम गर्न पुगेका छन् । यो धेरै दुःखलाग्दो कुरा हो ।

उजिरसिंह ठूलो जिम्मेवारी बोक्ने सबैभन्दा कान्छा कमाण्डर थिए । उनले धेरै हदसम्म कुशलतापूर्वक नै आफ्नो मोर्चा सम्हालेका थिए । ठूलो फौज र हतियार लिएर आएको मेजर जनरल जोन सलिभान उडको सेनालाई आफ्नो सानो बलले हराएका थिए । उनको सातो लिएर बुटवल र पाल्पा कब्जा गर्ने आँट फेरि नगर्ने बनाएर पठाए । यसपछि हमला गर्न आउँदा उडले आफ्नो लक्ष बुटवल कब्जा गर्नु नभई नेपालीलाई तर्साउनु मात्र हो भत्रे कुरा आफ्ना कमाण्डरहरुलाई भनेका थिए । नेपालको गौरवमय इतिहास बोकेको नेपाल–अंग्रेज युद्ध (वि.सं.१८७१–१८७२) मा नेपालले प्राप्त गरेको विजय उजिरसिंह थापाको रणकौशल र साहसको परिणाम भएको पाइन्छ । छोटो समयमा पनि उनले गरेका कार्यहरु हेर्दा उनी एक युद्धवीर मात्र नभइ धार्मिक प्रवृत्तिका व्यक्तित्व, कुशल प्रशासकसमेत रहेको बुझिन्छ । कर्णेल उजिरसिंह थापाले आफ्नो कार्यकालमा सैनिक सुदृढीकरण मात्र गरेनन्, अन्य धार्मिक, सामाजिक, न्यायिक सुधारका कामहरु पनि गरेको पाइन्छ । यिनको सम्झनामा नेपाली सेनाले जितगढीमा उनको पूर्णकदको शालिक स्थापना गरी प्रत्येक वर्ष विजय महोत्सव मनाउने गरेको छ ।

बास्तवमा उजिरसिंह थापा ओझेलमा परेका अघोषित राष्ट्रिय विभूति हुन् भन्दा फरक पर्दैन । अंग्रेज इतिहासकारहरुले आफ्नो हारको कथा ढाकछोप गर्न वीर सेनानी उजिरसिंह थापा बारे तथ्य कुरा गोप्य राखेकाले, अन्य विदेशी लेखकहरुले तथ्य थाहा नपाएकाले र नेपाल सरकारले यसबारे कहिल्यै गहन अध्ययन अनुसन्धान गर्न चासो नदिएकाले उजिरसिंहको योगदान ओझेलमा परेको देखिन्छ । अस्तु ।

 

वि.सं.२०८३ असार १७ बुधवार ०७:५८ मा प्रकाशित

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...