कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको उचित कदर हुन सकेको छैन । उनले मुख्य रूपमा नेपाल–अङ्ग्रेज युद्ध (वि.सं. १८७१–१८७२) मा बुटवलको जीतगढी किल्लामा अङ्ग्रेज सेनालाई पराजित गरी नेपालको सार्वभौमसत्ता बचाएका थिए । पाल्पा–बुटवल क्षेत्रको सैन्य कमान्डर र प्रशासकका रूपमा उनले पहाडी युद्ध रणनीति र अनुशासनको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको देखिन्छ । उनको यही देशभक्ति र वीरताको कदर गर्दै उजिरसिंहलाई राष्ट्रिय नायकको रूपमा सम्मान गरे पनि स्थानीय स्तरबाट उनलाई औपचारिक रूपमा ‘राष्ट्रिय विभूति’ घोषणा गर्न नेपाल सरकार समक्ष लगातार माग भइरहेको छ ।अहिलेसम्म यस्ता वीर राष्ट्रिय नायक ओझेलमै परेको छन् ।
काजी नयनसिंह थापाका जेठा छोरा कर्णेल उजिरसिंह थापाको परिवारमा भाइ माथवरसिंह थापा र दिदीबहिनीमा गणेशकुमारी थिए । पाल्पामा आफ्ना बाबुको मृत्युपछि जनरल भीमसेन थापाले आफ्ना भाइ नयनसिंह थापाका छोरा कर्णेल उजिरसिंह थापालाई पाल्पाको सुरक्षाको निम्ति खटाएर पठाएका थिए । कर्णेल उजिरसिंह थापाको जन्म सन् १७९५ मा भएको थियो । उनका बाबु नयनसिंह थापाको सन् १८०६ मा मृत्यु हुँदा उनी ९÷१० वर्षका मात्र थिए । सानै उमेरमा पिता गुमाउनु परेकाले उनको रेखदेख भीमसेन थापाद्वारा भएको थियो । पाल्पामा तैनाथवाला भएर खटि¤दा उजिरसिंह २० वर्षका मात्र थिए (डंगोल, २०४०,पृ.३५–३६, बस्न्यात, २०७४, पृ.१७६) । जनरल अमरसिंह थापाले अंग्रेजको मातहतमा रहेको बुटवल र स्युराज (शिवराज कपिलवस्तु) कब्जा गरी सो तराई प्रदेशलाई लिएर अंग्रेजहरुलाई चिढाएका थिए । जो पछि गएर युद्धको तत्कालीन कारण बन्यो । तर, त्यही सालको असोजमा अमरसिंह थापाको मृत्यु हुन गएकोले नेपालले पाल्पालाई विशेष ध्यान दिएको थियो । अर्को कारण पाल्पालाई अंग्रेजहरुले पहिलो निसान बनाउने आशंकाले पाल्पाको विशेष तयारी भएको थियो । सुरक्षाका लागि उजिरसिंहले गढी निर्माण गराए । उनी ठाउँ–ठाउँमा प्रशस्त गढीहरु बनाएर अंग्रेजहरुलाई झुक्याउन चाहन्थे । नेपाल कम्पनी सरकार युद्धमा तयारीपूर्वक लड्न पाउने नायक उजिरसिंह थापा नै थिए । अमरसिंह थापाले बुटवल कब्जा गरेको ६ महिनासम्म कुनै खलबल नभए तापनि अंग्रेजहरुले आक्रमण गर्ने चार ठाउँमध्ये पाल्पामा पूर्वबाट दोस्रोमा पथ्र्यो । सन् १८१४ को अंग्रेजसंगको युद्धमा उजिरसिंह थापालाई करिब तीन हजार सेना दिइएको थियो । अंग्रेजले सन् १८१४ अक्टोवरमा युद्धको घोषणा गरे पनि नेपालमा पहिल्यै उनीहरुले प्रवेश गरे । युद्ध घोषणा भएको दुई हप्तापछि जनरल उडले बुटवलतिर बढ्ने आदेश दिए तापनि ढुवानीको व्यवस्था मिलाउँदा सात हप्ता ढिलो भयो । पाल्पाका राजा पृथ्वीपाल सेनका नोकरहरुले अंग्रेजी सेनालाई छोटो बाटो देखाइदिए । अर्को अंग्रेजी सेना नुवाकोटबाट गढीमा आयो । सो गढीमा उजिरसिंह थापा, लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान कृपासुर थापा, दलखम्ब थापा, सवुज रेजिमेन्टका पाँच सय जवान र गुरुबक्स कम्पनीका दुई सय जवान लिई बसेका थिए भने काजी वीरभञ्जन पाण्डे करिब पाँच सय सेनाका साथ शत्रुलाई छल्न बनेको काठे गढीमा बसेका थिए । पुस २२ गते अंग्रेजबाट युद्ध प्रारम्भ भयो । यस आक्रामणमा पाँच अधिकृत र एक सय २८ अंग्रेज सिपाही मरे भने ७० जना नेपाली सेनाले वीरगति प्राप्त गरे ।
कर्णेल उजीरसिंह थापा (सन् १७९५—१८२४)
पाल्पामा नुवाकोट गढीमा अंग्रेजी सेना धेरै मरेकाले जनरल उडले लडाईं रोके । रातभरी नेपाली सेनाले अंग्रेज सेनालाई लखेटे । अंग्रेजहरुलाई बाटो देखाउने पाल्पाली राजाका पूर्वमन्त्री कनकनिधि तिवारीका भाइलाई नेपाली सेनाले पक्री मारे (वैद्य र अरुहरु,पृ.५०) । बुटवल नजिक जितपुरबाट हार खानुपर्दा उड चिन्तित थियो । तानसेनतिर बढेको दोस्रो बटालियन पनि हार खाएर फक्र्यौ । एक सय गोरा र पाँच सय काला भरिया, तीन हजार भारतीय मूलका सिपाही डगडगुवामा गई बसेका थिए । उडले नेपाली सेनालाई तराईमा झारी तोपले भुट्ने विचार गरी लुट मच्चाए । तर, उजिरसिंहले आफ्ना सेनालाई तराई झारेनन् । अर्को वर्ष सन् १८१५ मा उडले कुसुमघाट पुगी खलङगा निर्माण गरे (डंगोल, पृ.३६) । जितगढीमा आक्रामण गर्दा नेपाली चुप लागेर बसेका थिए । अंग्रेज किल्लानजिकै पुगेको बेलामा करिब तीन सय ५० नेपालीले अंग्रेजलाई धपाए । नेपाल–कम्पनी युद्ध अवधिमा अनेक स्थलहरुमा दुई सरकारका सेनाहरुबीच युद्धहरु भए, तर उजिरसिंह थापाले नेतृत्व गरेको सेनाले अंग्रेजी सेनालाई जितगढी युद्धमा हराए । यो घटना नेपालको सैनिक इतिहासमा अति गौरवशाली घटना मानिन्छ । दोस्रो हारबाट जनरल उड आउन सकेनन् । कर्णेल उजिरसिंह थापाले तैनाथ लिएको ठाउँमा अंग्रेजले एक अंगुल जमीन पनि लिन सकेन । युद्ध सकिएपछि उजिरसिंह थापाले तानसेन बजारका बीचमा प्यागोडा शैलीको रणउज्जेश्वरी मन्दिर निर्माण गरी तीनतले आफ्नो उचाई बराबरको गजुर अर्पण गरी चाँदीको छत्र ओडाएको १८ हात भएको देवीको मूर्ति स्थापना गराए । उजिरसिंह तथा उनकी श्रीमती रणकुमारीको नामबाट रणउज्जेश्वरी नाम राखिएको थियो । उनले त्यस मन्दिरको गुठीको पनि व्यवस्था गरे ।
तानसेन स्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गरेको छ । लुम्बिनी प्रदेश सरकारले भगवती यात्राको दिन पाल्पा जिल्लामा सार्वजनिक बिदा दिने गरेको छ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलीपल्ट धुमधामका साथ विजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन रहँदै आएको छ । तत्कालीन ब्रिटिश सेनालाई नेपाली फौजले पराजित गरेको सम्झनामा पाल्पामा विजय उत्सव स्वरुप सो जात्रा निकालिदै आएको छ । तत्कालीन समयमा नेपाली फौजले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठूलो पर्व र जात्राको रुपमा परिचित छ । कर्णेल उजीरसिंह थापाले विसं १८७६ मा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राको रुपमा सञ्चालन गरिँदै आएको छ ।
त्यस्ता पराक्रमी, साहसी उजिरसिंह थापाको मृत्यु कलिलै उमेरमा सन् १८२४ मा भयो । त्यस्तो कलिलो बैंसमा ठूलो पराक्रम देखाई उजिरसिंह थापा पाल्पामा नै दिवङ्गत भए । कर्णेल उजिरसिंह थापाको मृत्युपछि उनको शवसंगै उनकी पत्नी रणकुमारी सती गइन् । आफू सती जानुभन्दा पहिले उनले २९ सय पाँच रुपैयाँ रकम श्री भगवतीका लागि गुठी राखिदिएकी थिइन् । पछि सो रकमबाट जमीन खरिद गरी गुठी खडा गरिएको अहिले पनि छँदै छ । पाल्पा भगवतीको महिमा ठूलो छ । त्यस्तो हुनुको आधार प्रत्येक वर्ष भदौ कृष्ण नवमीका दिनमा भगवतीको रथयात्रा हुने चलन उजिरसिंह थापाले चलाएर छोडेको बुझिन्छ । उजिरसिंह थापाले निर्माण गरेको उक्त मन्दिर सन् १९३५ मा भत्कियो । त्यसपछि सो मन्दिर जीर्णोद्वार गर्दा तीन तलाको सट्टामा दुईतले मात्र बनाइएको छ ।
उजिरसिंह थापाको मृत्यु औलो ज्वरोबाट हुन गएको बुझिएको छ । नेपाल–अंग्रेज युद्धपछि पनि उजिरसिंहलाई पाल्पाकै तैनाथवालाका रुपमा थमौती गरिएको थियो । त्यो फुर्सदको समयमा उनले सैनिक तालिम र अभ्यास गरेको कुरा सन् १८२२ मा जङ्गी तथा निजामती कर्मचारीहरुलाई तालिम दिन मिल्ने गरी एउटा उपयोगी पुस्तकको तयारी गर्न लगाएबाट थाहा हुन्छ । त्यो पुस्तक पुरात्व विभाग राष्ट्रिय अभिलेखालयमा सुरक्षित राखिएको छ । र, सो पुस्तकको लगत नं. २/३०७ छ । उजिरसिंह थापाले रचना गरेको सो पुस्तकको आफ्नै छुट्टै किसिमको महत्व रहेको छ । यो पुस्तकको नाम ‘उजिरसिंह थापाले विसं १८७९ मा बाँधेको बन्देज’ हो । यो तत्कालीन राजा राजेन्द्रविव्रmम शाहको शासनकालमा जारी भएको हो । यो पुस्तक नेपालको निजामती सेवाको क्षेत्रमा पहिलो कर्मचारी तालिम सामग्रीका रूपमा मात्र सकिन्छ ।
कर्णेल उजिरसिंह थापाले रचना गरेको पुस्तक जम्मा ६ परिच्छेदमा विभाजित छ । पहिलो परिच्छेदमा कुनै पनि कार्यालयका हाकिमले काम गर्दा र कर्मचारी भर्ना गर्दा ध्यान दिनुपर्ने कुरा छन् । दोस्रोमा हाकिमले पल्टनका जवानको भर्ना गर्दा ध्यान दिनु पर्ने गहकिला कुरा छन् । तेस्रो परिच्छेदमा पल्टनका जवानहरुको नियम र अनुशासनमा नबसेमा दण्डको भागी बन्नु पर्ने कुरा छन् भने चौथोमा अदालतका ठूला हाकिमले ध्यान दिनुपर्ने कुरा छन् । पाँचौ तथा छैटौ परिच्छेदमा कुन कुन प्रकारका अपराधहरु गर्ने अपराधीलाई के कस्ता सजाय गर्ने भन्ने र सजाय गर्दा हाकिमले विशेष ध्यान दिनुपर्ने कुरा पनि लेखिएको छ । विशुद्ध पाण्डुलिपिमा रहेको यस पुस्तकले तत्कालीन जङ्गी, निजामती तथा न्यायिक क्षेत्रलाई स्पष्ट प्रतिविम्वित गरेको पाइन्छ । सो पुस्तकबाट कर्णेल उजिरसिंह थापा ज्यादै अनुभवी, पूर्ण तालिमप्राप्त, पढन लेख्नमा रुची राख्ने, न्याय निसाफमा निष्पक्ष न्याय दिने, इमानदार र दूरदर्शी भएको प्रमाणित हुन्छ । साथै उनका पालाका विभिन्न आदेश, निर्देशन र सैनिक सवालहरु पुरातत्व विभागमा रहेका छन् (बस्न्यात, २०७४, पृ. १७६–१६९) । उनीमा ज्ञानलाई बचाई राख्न लेख्नु पर्छ भत्रे चेत रहनु आफैमा ठुलो कुरा हो । खासगरीकन बगाले थापाहरुमा आफ्नो इतिहास, परम्परा, गौरवशाली विरासत् जोगाउन लिखित अभिलेखीकरणको धेरै महत्व हुन्छ भत्रे कुराको सचेतपूर्वक ध्यान दिइएको पाइदैन । त्यसकारण बगाले थापाहरुले एकीकरण अभियान र नेपालको अखण्डता र सार्वभौमसत्ता जोजाउन गरेको योगदानको कदर ओजेलमा परेको देखिन्छ । कत्तिले त इतिहनस नै तोडमोड गरेर बगाले थापाका गौरवशाली व्यक्तित्वसमेतलाई बदनाम गर्न पुगेका छन् । यो धेरै दुःखलाग्दो कुरा हो ।
उजिरसिंह ठूलो जिम्मेवारी बोक्ने सबैभन्दा कान्छा कमाण्डर थिए । उनले धेरै हदसम्म कुशलतापूर्वक नै आफ्नो मोर्चा सम्हालेका थिए । ठूलो फौज र हतियार लिएर आएको मेजर जनरल जोन सलिभान उडको सेनालाई आफ्नो सानो बलले हराएका थिए । उनको सातो लिएर बुटवल र पाल्पा कब्जा गर्ने आँट फेरि नगर्ने बनाएर पठाए । यसपछि हमला गर्न आउँदा उडले आफ्नो लक्ष बुटवल कब्जा गर्नु नभई नेपालीलाई तर्साउनु मात्र हो भत्रे कुरा आफ्ना कमाण्डरहरुलाई भनेका थिए । नेपालको गौरवमय इतिहास बोकेको नेपाल–अंग्रेज युद्ध (वि.सं.१८७१–१८७२) मा नेपालले प्राप्त गरेको विजय उजिरसिंह थापाको रणकौशल र साहसको परिणाम भएको पाइन्छ । छोटो समयमा पनि उनले गरेका कार्यहरु हेर्दा उनी एक युद्धवीर मात्र नभइ धार्मिक प्रवृत्तिका व्यक्तित्व, कुशल प्रशासकसमेत रहेको बुझिन्छ । कर्णेल उजिरसिंह थापाले आफ्नो कार्यकालमा सैनिक सुदृढीकरण मात्र गरेनन्, अन्य धार्मिक, सामाजिक, न्यायिक सुधारका कामहरु पनि गरेको पाइन्छ । यिनको सम्झनामा नेपाली सेनाले जितगढीमा उनको पूर्णकदको शालिक स्थापना गरी प्रत्येक वर्ष विजय महोत्सव मनाउने गरेको छ ।
बास्तवमा उजिरसिंह थापा ओझेलमा परेका अघोषित राष्ट्रिय विभूति हुन् भन्दा फरक पर्दैन । अंग्रेज इतिहासकारहरुले आफ्नो हारको कथा ढाकछोप गर्न वीर सेनानी उजिरसिंह थापा बारे तथ्य कुरा गोप्य राखेकाले, अन्य विदेशी लेखकहरुले तथ्य थाहा नपाएकाले र नेपाल सरकारले यसबारे कहिल्यै गहन अध्ययन अनुसन्धान गर्न चासो नदिएकाले उजिरसिंहको योगदान ओझेलमा परेको देखिन्छ । अस्तु ।
वि.सं.२०८३ असार १७ बुधवार ०७:५८ मा प्रकाशित






























