युरोपका अधिकांश देशहरू यतिबेला इतिहासकै भीषण गर्मीको चपेटामा परेका छन्। तापक्रम लगातार नयाँ कीर्तिमान तोड्दै ४० देखि ४५ डिग्री सेल्सियसभन्दा माथिसम्म पुगेपछि जनजीवन प्रभावित भएको छ। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण यस्ता अत्यधिक गर्मीका घटना थप तीव्र र बारम्बार हुन थालेको बताएका छन्।
युरोपमा हालैका दिनहरूमा अभूतपूर्व गर्मीको लहर (Heatwave) चलेको छ, जसका कारण अहिलेसम्म १ हजार ३०० भन्दा बढी मानिसको ज्यान गइसकेको छ। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार जुन २१ यता महादेशभरिको तापक्रम इतिहासकै उच्च विन्दुमा पुगेपछि यति ठूलो संख्यामा “अतिरिक्त मृत्यु” दर्ता भएको हो। युरोपका धेरै देशहरूमा तापक्रम ४० देखि ४२ डिग्री सेल्सियस सम्म पुगेर दशकौँ पुराना रेकर्डहरू तोडिएका छन्।
फ्रान्स, स्पेन, इटाली, जर्मनी, हंगेरी, रोमानिया, पोल्यान्ड, क्रोएसिया तथा बाल्कन क्षेत्रका धेरै स्थानमा रेड अलर्ट जारी गरिएको छ। स्थानीय प्रशासनले नागरिकलाई अत्यावश्यक कामबाहेक दिउँसो घरबाहिर ननिस्कन, प्रशस्त पानी पिउन र वृद्धवृद्धा तथा बालबालिकाको विशेष हेरचाह गर्न आग्रह गरेको छ।
तापक्रमले तोड्यो नयाँ रेकर्ड
मौसमविद्हरूका अनुसार यस वर्षको गर्मीले धेरै दशकअघिका तापक्रमका रेकर्ड तोडेको छ। केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ भने फ्रान्स, जर्मनी र स्पेनका विभिन्न स्थानमा जुन महिनाकै उच्चतम तापक्रम मापन गरिएको छ। विश्व मौसम संगठन (WMO) ले यसलाई असाधारण गर्मीको लहर भन्दै मानव स्वास्थ्य, कृषि, ऊर्जा तथा वातावरणमा गम्भीर असर परेको जनाएको छ।
अत्यधिक गर्मीका कारण अस्पतालहरूमा हीट स्ट्रोक, डिहाइड्रेसन, श्वासप्रश्वास तथा मुटुसम्बन्धी समस्या भएका बिरामीको संख्या उल्लेखनीय रूपमा बढेको छ। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार केही दिनमै युरोपभर अत्यधिक गर्मीसँग सम्बन्धित एक हजारभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएका छन्। विशेष गरी ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला बढी जोखिममा रहेका छन्।
गर्मीसँगै स्पेन, क्रोएसिया, ग्रीसलगायतका क्षेत्रमा डढेलो फैलिएको छ। कतिपय स्थानमा सडकको कालोपत्रे पग्लिएको, रेल सेवा प्रभावित भएको तथा विद्युत् माग अत्यधिक बढेपछि ऊर्जा प्रणालीमा दबाब परेको समाचार आएका छन्।
चर्को गर्मीका कारण निर्माण, कृषि, पर्यटन तथा खुद्रा व्यापारजस्ता क्षेत्रमा काम प्रभावित भएको छ। केही देशहरूले काम गर्ने समय परिवर्तन गरेका छन् भने फ्रान्सले अत्यधिक गर्मीका कारण व्यापार प्रभावित भएपछि गर्मीयामको छुट बिक्री अवधि समेत लम्ब्याएको छ।
विश्व मौसम संगठन तथा जलवायु वैज्ञानिकहरूले मानवीय गतिविधिबाट बढेको हरितगृह ग्यास उत्सर्जनका कारण यस्ता भीषण गर्मीका घटना पहिलेभन्दा धेरै सम्भावित र तीव्र भएको निष्कर्ष निकालेका छन्। उनीहरूका अनुसार अहिले देखिएको गर्मी केवल अस्थायी घटना नभई भविष्यमा अझ बारम्बार दोहोरिन सक्ने चेतावनी हो।
सतर्क रहन आग्रह
युरोपका स्वास्थ्य निकायहरूले नागरिकलाई दिउँसोको समयमा बाहिरी गतिविधि कम गर्न, प्रशस्त पानी पिउन, हल्का कपडा लगाउन, वृद्धवृद्धा तथा बालबालिकाको विशेष हेरचाह गर्न र हीट स्ट्रोकका लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन्। विज्ञहरूका अनुसार अत्यधिक गर्मी अब केवल मौसमी समस्या नभई सार्वजनिक स्वास्थ्य र जलवायु परिवर्तनसँग जोडिएको विश्वव्यापी चुनौती बनिसकेको छ।
मौसमविद्हरूका अनुसार उत्तर अफ्रिकाबाट आएको तातो हावा र आकाश सफा रहँदा बनेको “हिट डोम” (Heat Dome) प्रणालीका कारण यो संकट निम्तिएको हो। जुलाई महिनाको सुरुवाती सातादेखि फ्रान्स, स्पेन, जर्मनी र इटालीमा गर्मीको अर्को कडा लहर आउन सक्ने चेतावनी दिइएको छ।
वि.सं.२०८३ असार १७ बुधवार ०९:२४ मा प्रकाशित





























