back
CTIZAN AD

१० वर्षे इजरायलको रोजगारी छोडेर उद्योगमा रमाउदै सुमित्रा

वि.सं.२०७५ असार २ शनिवार

699 

shares

सुमित्रा पौडेल ‘आँचल’ साहित्य क्षेत्रमा चर्चित नाम हो । तर, उनी केही समययता साहित्यबाट अलि टाढा भएको भान सबैलाई परेको छ । साहित्यकारको रुपमा चर्चा कमाएकी सुमित्रा अहिले चितवनमा उद्यमीको रुपमा उदाएकी छन् । त्यो पनि १० वर्ष इजरायल बसेर फर्केपछि ।

प्रायले विदेश जानु भन्दा पहिला जुन पेशा गरेको थियो त्यहि पेशालाई अपनाउँदैनन् । ती मध्येमा पर्दिनन् सुमित्रा । उनी त २३ वर्ष अगाडि आफूले गरेको पेशालाई पुनः अँगाल्न थालेकी छन् त्यो पनि नेपाली महिलाको शसक्तिकरणका साथै उद्यमी बनाउने सपना बोकेर । उमेरले जीवनको ५ दशक पुग्न लागिसकेकी सुमित्रा अझै पनि १५–१६ वर्षे उत्साह, जाँगर र जोश बोकेर लागिरहेकी छन् । ‘वास्तवमा मलाई कहिल्यै पनि थकाई लागेन, अझै इजरायलबाट फर्केपछि त झन जोश जाँगरले मन भरिएको छ आफ्नै देशमा कर्म फूलाउन पाएँ भनेर ।’ सुमित्रा भन्छिन् ।


सुमित्रा पौडेल आँचलले नेपाली साहित्य क्षेत्रमा योगदान स्वरुप आध्यात्मिक चिन्तनको प्रथम पाईला (२०६१) र कथा ‘अन्तिम बिदाइ’, गजल संग्रह ‘प्रवासको कोशेली’ र मुक्तकका रुपमा ‘औकात’ नामक’ कृति दिइसकेकी छन् । हाल उद्यमीकै रुपमा रहँदा पनि उनी साहित्यलाई उत्तिकै माया गरेको बताउँछिन् ।

४८ वर्ष पहिले चितवनको देवनगरमा जन्मेकी सुमित्राको आइ.ए पढ्दा पढ्दै राष्ट्र बैंकमा जागिरे रहेका जिता लम्जुङका रामजी प्रसाद पौडेलसँग बिहे भयो । श्रीमानको जागिर विराटनगर थियो । उनलाई पनि उतै जानुपर्ने भयो अनि त उनको पढाई बिचमै छोडियो । यो २०४५ सालतिरको कुरा हो ।

विराटनगरमै रहँदा छोराको जन्म भयो । त्यहि रहँदा पनि उनलाई जीवनमा केही गर्नुपर्छ भन्ने लागिरहन्थ्यो । विराटनगर पुगेको १ वर्षमै उनका श्रीमानको सरुवा पाल्पामा भयो । उनी पनि छोरा बोकरै पाल्पा गइन् । पाल्पामा उनी ५ वर्ष बसिन् । त्यहि छोरी जन्माइन् । त्यहाँ पनि उनलाई मनमा केही गर्ने बेचैनीले छोडेन् । अनि त ५ वर्षका छोरा र ३ वर्षकी छोरी बोकेर उनी श्रीमानलाई पाल्पा नै छाडेर चितवन फर्किइन् ।

चितवनमा फर्केर उनले उद्यमी बन्ने सोच राखिन् । प्राइभेट कम्पनीबाट सिलाइ कटाई सम्बन्धी तालिम लिइन् । जिल्ला घरेलु उद्योगबाट एडभान्स कोर्स गरिन् । २०५३ मा सुमित्रा र एमकुमारी रानाभाटले २०–२० हजार रुपैयाँ गरेर ४० हजार लगानी गरेर २ वटा मेसिन राखेर काम सुरु गरे । यम कुमारीले ६ महिनापछि छोडिन् । सुमित्राले सिलाउने मान्छे राखेर आफूले कटिङको काम गर्दै एक्लै त्यसलाई अगाडि बढाइन् ।

त्यसको दुई वर्षपछि २०५३ मा उनले नारायणगढको इन्द्रदेव मार्गमा अर्को सिलाई पसल खोलिन् । त्यहाँ उनले १ लाख ८० हजार लगानी गरिन् । उनलाई यो काममा रस पर्दै गयो । त्यसको १ वर्षपछि भरतपुर क्यान्सर अस्पतालको गेट अगाडि ८० हजार लगानी गरेर अर्को सिलाई पसल खोलिन् । ‘मलाई त धेरै खुसी लाग्यो ममा साहस र आँट प्रशस्त थियो, २०५८ तिरै तीनवटैमा गरेर झण्डै १५ जनालाई रोजगारी दिएकी थिएँ’ विगत सम्झिइन् सुमित्राले ।

सुमित्राले २०५८ मै ‘पुष्प मदन स्मृति प्रतिष्ठान’ चितवनबाट २५ हजार नगद सहित ‘उत्कृष्ट महिला उद्यमी’ को सम्मान पनि पाएकी थिइन् । त्यसपछि त उनी महिला उद्यमीका रुपमा महोत्सवमा भागलिन पोखरा, बाग्लुङ लगायतका ६ वटा जिल्लामा पुगिन् । जहाँ पुग्थिन् त्यहाँ हौसला र सम्मान पाउँदा उत्साहित बन्थिन् । उनले आफ्नो व्यवसायमा थप लगानी बढाउनका लागि कृषि विकास बैंक र भाजुरत्न फाइनान्सबाट ७ लाख ऋण समेत लिइन् ।

सुमित्राको सिलाई कटाई व्यवसाय राम्रै अगाडि बढिरहेको थियो । त्यतिबेला माओवादी जनयुद्धको प्रभाव उनको व्यवसायमा पनि प¥यो । दिनहुँ बन्द हुने, चन्दा माग्न आउने लगायतका समस्याहरूले उनको व्यवसाय ओरालो लाग्न थाल्यो । ‘यस्तो अवस्था पनि आयो की ऋणको व्याज तिर्न समेत धौ–धौ प¥यो ।’ उनले सुनाइन् ।


२०६१ तिर त जनयुद्ध चरमोत्कर्षमा पुग्यो । त्यसपछि त झन गा¥हो भयो । कोरियामा रहेका दाइको सल्लाहमा कोरिया जान्छु भनेर सोचिन् । तर, राजा ज्ञानेन्द्रको शासनकालमा सरकारी कामहरू ठप्प भयो । उनी कोरिया जान पाइनन् । फेरि उनले इजरायल जाने साँेच बनाइन् ।

२०६१ सालको अन्तिमतिर उनले कुपण्डोलमा रहेको हाइ हिमालयन म्यानपावरलाई ४ लाख तिरेर इजरायल जाने प्रोसेस गरिन् । तुरुन्तै भिसा आयो । त्यसपछि त उनी दुई ठाउँका सिलाई मसिन घरमै थन्क्याएर नारायणगढको व्यवसाय साथीलाई सुरुवाती लगानीकै मूल्यमा बेचिदिइन । ‘त्यसमा मेरो लगानी ५ लाख पुगिसकेको थियो । तर, के गर्ने अवस्था त्यस्तै थियो । गरि खाउ भनेर जति लगानी गरेर स्थापना गरेको थिएँ, त्यत्तिमै दिएर छोडे’ उनले भनिन् । इजरायलमा उनी ‘केयर गिभर’ का लागि पुगिन् ।

इजरायल पुगेको तीन महिना त दिनको एउटा पाउरोटी खाएर काम गर्ने अवस्था आयो । ‘एउटा पाउरोटी चोरेर खान्थे । दिनको दुईवटा पाउरोटीमा तीन महिना बिताएँ’ इजरायलका सुरुवाती दिनको सम्झना गरिन् उनले ।

५५० डलरमा सम्झौता गरेको भएपनि ती रोजगारदाताले तीनमहिना पछि पैसा दिन सक्तिन् भनेपछि एजेन्सीमार्फत अर्को रोजगारदाताकोमा गइन् उनी । त्यहाँ दुईवटा बुढाबुढी हेर्नुपर्ने थियो । दुईजनालाई हेर्न दुईजना नै केयरगिभर चाहिन्थ्यो । तर, पनि उनले ‘म एक्लै दुईजनालाई हेर्छु पैसा अलि बढी देउ’ भनेपछि ६ सय डलरमा दुइवटै बुढाबुढीलाई हेर्न थालिन् । उनीहरूले राम्रै गरे उनलाई । त्यसको एकवर्ष पछि उनलाई ९ सय डलर तलब दिइयो । उनी १८ घण्टा खट्थिन् त्यहाँ । दुवैजनाको राम्रो देखभाल गर्न थालेको ४ वर्षपछि उनको तलब १५ सय डलर भयो ।

४ वर्ष बसेपछि उनी नेपाल आइन् । उनी आउँदा आफ्ना ठाउँमा अर्कै ककेयरगिभर राखेर आएकी थिइन् । उनी आएको १ हप्तामै बुढीको मृत्यु भएपछि उनी तुरुन्तै फेरि इजरायल फर्किछन् । ‘उनलाई ब्लड क्यान्सर थियो म आएको एक हप्तामै उनको मृत्यु भयो । त्यसपछि त मलाई फर्किहाल्नु प¥यो ।’ उनले भनिन् । उनी त्यहि घरमा साढे ६ वर्ष बसिन् ।

उनको भिसा सकिएको थियो । त्यतिबेलै इजरायलमा पेपर भिसा लिएर बस्न मिल्ने कानुन आएकोले उनले पनि त्यसै गरिन् । पछि बुढाको पनि मृत्यु भयो । इजरायलमा काम गर्दा जतिवर्ष काम ग¥यो त्यतिवर्षको पेन्सन पाइन्थ्यो । सुमित्राले त्यहाँ काम नभएपछि त्यो लिएर अर्को ठाउँमा जान्छु भन्दा रोजगारदाताले दिन मानेन । मुद्दा लड्छु भन्दै वकिल पनि लगाइन् । तर, रोजगारदाताले मुद्दा लड्ने भए नेपाल पठाइदिन्छु भनेपछि उनले ६ महिनाको (एक वर्ष बराबर १ महिनाको तलब) को माया मारेर त्यो घर छाडेर अर्को घरमा गरे काम गरिन् ।

श्रीमानको हेरचाहमा छोराछोरी छोडेर इजरायल गएकी सुमित्राकी छोरा सुजित पौडेलले अमेरिकाबाट कम्प्युटर साइन्समा मास्टर गरिसकेका छन् भने छोरी रोजिना पौडेलले काठमाडौं युनिभर्सिटीबाट बि.एन गरिसकेकी छन् ।

झण्डै १० वर्षे इजरायली रोजगार छोडेर सुमित्रा २०७३ मा नेपाल फर्केकी हुन् । श्रीमानको पेन्सन पनि भइसकेकोले सुमित्रालाई खान र लाउन कुनै कमि थिएन् । फेरि इजरायलमा रहँदा कमाएको पैसा पनि साथमा थियो । चितवन छोडेर काठमाडौंमा परिवार सँग बसेकी थिइन् । तर, देश फर्केर केही गर्ने अठोट बोकेर फर्केकी उनी घरभित्रमात्र बसिरहन पर्दा आत्तिइन् । काठमाडौंमै रहँदा आइडिया स्टुडियो नेपालले व्यवसाय गर्न मन भएका र व्यवसाय सुरु गरिसकेकालाई हौसला र उत्प्रेरणा दिने उद्देश्यले ‘सोचदेखि उद्यमसम्म’ विषयमा तालिम दिने भनेर सूचना निकालेको रहेछ । उनले त्यसमा आफ्नो इच्छा र विगतमा गरेको कामको बारेमा राखेर फारम भरेर पठाइन् । उनलाई स्टुडियोले नै फोनै ग¥यो । ६०० जनाले फर्म भरेकोमा उनी ३० नम्बरमा परिन् । त्यहाँ तीन महिना तालिम लिइन् । तालिमका क्रममा उनी यतिधेरै प्रभावित भइन् की, उनी फेरि १० वर्ष अगाडिकै पेशामा फर्किने सोँच बनाइन् ।


त्यहाँ तालिम लिएपछि उनी चितवन फर्केर सम्भावना हेरिन् । पहिलेका साथीहरूलाई खोजिन् अनि बजारको सम्भावना बुझिन् । अनि सुसज्जित कलेक्सन नामको कम्पनी दर्ता गरेर उद्यम सञ्चालन गर्न थालिन् । उनले यसका लागि २६ वटा सिलाई मसिन (जुकी मसिन) र अन्य सामग्रीका लागि झण्डै साढे ९ लाख लगानी गरेकी छन् । साथै साथीसँग मिलेर बुटिक पनि खोलेकी छन् । अहिले सुसज्जित कलेक्सनले उनकै नेतृत्वमा १५० महिला दिदीबहिनीलाई गार्मेन्टको तालिम दिइरहेको छ । यो कार्यक्रम नेपाल सरकारको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र तथा पोशाक उद्योगसंघको संयुक्त लगानीमा गरिएको छ । यसबाट तालिम लिएका २५ जनाले सुसज्जितमै रोजगारी पाउने छन् । ‘यो तालिमका लागि झण्डै ५ सय जनाले फर्म भरेका थिए । तर, अहिले १२५ जनाले मात्र तालिम लिन पाएका छन् । अरुलाई पनि तालिमको व्यवस्था गराउने सोँच राखेकी छु’ सुमित्राले भनिन् ।
त्यस्तै सुमित्रा अध्यक्ष रहेको विश्व शान्ति महिला संघ चितवनको ‘क्रियटिभ ट्रेनिङ सेन्टर’ ले पनि अहिले १२ जना महिलालाई सिलाई कटा सम्बन्धी तालिम दिएको छ । यसको नेतृत्व पनि सुमित्राले नै गरेकी छन् ।

झण्डै ११ वर्ष अगाडि विभिन्न कारणले लथालिंग रुपमा छोडेर हिड्नु परेको व्यवसायलाई फेरि नयाँ रुपमा अगाडि बढाउन पाएकोमा खुसी छन् सुमित्रा । ‘आफ्नो लागि जसले पनि गर्छ, समाज र देशका लागि केही गर्नुपर्छ’ भन्ने सोँच बोकेकी मैले नेपाली समाजका लागि केही गर्न सकेकी छु भन्ने गर्व लागेको छ । यसैमा खुसी छु ।’ संसारन्युजको भलाकुसारीको अन्तिममा उनले भनिन् । सुमित्राले अधुरो रहेको पढाइलाई पनि पुनः अगाडि बढाएकी छन् । उनले एसपिएम कलेज गैडाकोटमा शिक्षा संकायमा कक्षा ११ मा पढ्दै छिन् ।

प्रस्तुती : चन्दा थापा

वि.सं.२०७५ असार २ शनिवार १३:५४ मा प्रकाशित

पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री

पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री

मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले...

मौनअवधिमा विशेष निगरानीको व्यवस्था गरिएको छ –आयुक्त राणा

मौनअवधिमा विशेष निगरानीको व्यवस्था गरिएको छ –आयुक्त राणा

काठमाडौं । निर्वाचन आयुक्त सगुन शम्शेर राणाले निर्वाचनको मौनअवधिमा हुनसक्ने...