
८ मंसिर । लेखक शेखर ढुङ्गेलद्वारा लेखिएको पुस्तक ‘अतितका सम्झना भैरव दाइको सय रुपैयाँ र म’ को शुक्रबार काठमाडौंको प्रज्ञा भवनमा विमोचन गरिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले शेखर ढुङ्गेलले लेखेको र पत्रकार राजन कार्कीले लेखेको ‘राजा, नव–बास्सा’ पुस्तक विमोचन गरेकी हुन् । लेखक शेखरले आफ्नो नाता पर्ने भैरवसँग सापट लिएको रु १०० लाई विश्षलेषण गरी रोमाञ्चक तरिकाले अतीतका सम्झनाहरु पुस्तकमा समेटेका छन् । सो पुस्तकमा २३ लेख छन् ।
लेखक ढुंगेलले साामयिक राजनीति तथा राष्ट्रियता विषयमा आफ्नो विचार पस्कँदै आएका उनले सय कविता, कहाँ छ मेरो देश ?, माटोको सुगन्ध , मेरो देश आदि कृतिहरु बजारमा ल्याइसकेका छन ।लेखकले २०३५ सालतिर लिएको सय रुपैयाँ सापटी २०७५ सालमा झण्डै ४० वर्ष पछि तिरेको बारेमा पुस्तक प्रतिबिम्वित छ ।
विमोचन कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार रिसालले लेखकद्वारा तिरिएको यो ऋण आफुलाई असाध्यै मन परेको पनि बताए । उनले शेखरजीले आफूसँग रु १०० सापट लिएको बेला रु सयले आफ्नो जीवन गुजारा गर्न सक्ने स्मरण गर्दै अहिले पैसाको मूल्य अवमूल्यन भएकाले मानिसलाई जीवन जिउन कठिन भएको बताए ।
लेखक ढुंगेल हाल अमेरिकामा रहेकाले उनको उपस्थिति भएको थिएन ।
त्यस्तै कार्कीको राजा, नव–बास्सामा नेपालमा राजतन्त्रको समाप्ति तथा त्यसपछि प्राप्त गणतन्त्र तथा विश्वका नेताहरु महात्मा गान्धी, लिक्वान यू, माओत्सेतुँग, आदिको सविस्तार वर्णन गरिएको छ ।
आयोगका प्रवक्ता अन्सारीले इतिहाससँग जोडिएर आएको पुस्तकलाई पाठकले पढ्न रुचाउने बताइन् ।
कार्यक्रममा इतिहासकार डा सुरेन्द्र केसी, पुस्तक समीक्षक तीर्थ कोइराला, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, साहित्यकार नरेन्द्रराज प्रसार्इं, पुस्तकका प्रकाशक हीरेन्द्र ताम्राकारले पनि पुस्तकमाथि आफ्नो समिक्षात्मक विचार राखेका थिए ।
वि.सं.२०७५ मंसिर ८ शनिवार १३:३४ मा प्रकाशित





























