८ कात्तिक,इलाम । बाल मस्तिष्क पक्षघात भएका बालबालिकालाई उपचार गर्ने उद्देश्यले इलामका दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
करुणा फाउन्डेसन नेपाल इलाम र सिपी सेन्टर धापासी ललितपुरको आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल र इलाम अस्पतालमा सञ्चालित शिविरमा ३१ जना बालबालिकाको उपचार गरिएको छ ।
शिविरमा बालरोग विशेषज्ञ डा रीतेश थापा, फिजियोथेरापिस्ट मनोजकुमार शाह, करुणा फाउन्डेसनका सन्त विश्वकर्माले बालबालिकालाई उपचार तथा परीक्षण गर्नुभएको थियो । बाल मस्तिस्क पक्षघात भएका बालबालिकालाई उपचारका लागि काठमाडौँसम्म लैजान ल्याउन समस्या हुने भएकाले स्थानीय तहमै शिविर सञ्चालन गरिएको फाउन्डेसनका विश्वकर्माले बताउनुभयो ।
स्थानीय निकायको सङ्ख्या दश
स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले इलाम जिल्लालाई १० वटा स्थानीय तह बनाउने गरी अन्तिम खाका तयार गरेको छ ।
स्थानीय तह पुनःसंरचना प्राविधिक समितिले इलाममा चार नगरपालिका र छ गाउँपालिका रहने गरी १० सङ्ख्याको खाका तयार गरेको हो । प्राविधिक सहयोग समितिले स्थानीय निकाय पुनःसंरचना आयोगले संशोधनपछि तोकी पठाएको आठदेखि ११ को सङ्ख्याबीचमा दलबीच छलफल गरी १० वटा सङ्ख्यामा सहमति जुटाएको प्राविधिक सहयोग समितिका संयोजक मदन कोइरालाले बताउनुभयो ।
विगतमा आयोगको मापदण्डका कारण दलबीच सङ्ख्यामा सहमति जुट्न नसके पनि हाल आयोगले मापदण्ड संशोधन गरेपछि दलबीच सहमति बनेको प्राविधिक सहयोग समितिले जनाएको छ । रासस

