घरको गेटमा पुग्नासाथ साथ भित्रबाट एउटा अन्दाजी ७ वर्षको बालक देखियो ।
हामीले तलबाट बोलेको सुनेर त्यो केटाले झ्याल खोल्दै भन्यो को हो (मिन हादा ?)
मैले हतार–हतार साथीहरुले सिकाएझै गरेर भने । “तेरो घरमा खाना बनाउने मान्छे चाएिको छ रे म बाहिरी भिषामा काम गर्ने मान्छे, तेरो आमालाई भन म आजैदेखि काम गर्छु ।”
उसले भित्र गएर सुतिरहेकी आमालाई सुनायो । आमाले बेलुका आउन भन भनेर अह्राइछन्, उसले फेरि फेरि भन्यो “बेलुका आइज रे अहिले आमा सुतेकी छन् (भिलेल ताल तव मामा नोम) ।”
अब के गर्ने केही उपाय लागेन आफूले कामगर्ने साहुँको समय चोरेर कसैले नदेख्ने गरेर घरमा कोही नभएको समयमा भागेर त्यहाँ पुगेकी म बेलुका आउने कुरै थिएन ।
साथीहरुले सिकाएका थिए, अन्तिममा केही उपाय लागेन भने “पानी खान देउन” भन हैं ।
अब अन्तिम उपाय त्यहि नगरी भएन । “पानी पियास लागेको पानी खान देउ न ।” सायद नेपाली धर्म र संस्कार अनुसार पानी पिउन माग्नेलाई त्यसै फर्काउन हुन्न काकाकुल लाग्छ भनेजस्तै त्यहाँको संस्कार पनि त्यस्तै रहेछ क्यारे उ “एकछिन पर्खे (लाहाद)” भन्दै भित्र गयो ।
हामीलाई अब पक्का भयो पक्कै पनी पानी लिएर लुसाङ आउने छिन् ।
६ वर्ष देखि मालिकको घरमा थुनिएकी रसुवाकी लुसाङ तामाङको हाल बुझ्नु थियो हामीलाई । सन् २००६ को कुरा हो यो । ओमानको राजधानी मस्कटदेखि १६ सय किलोमिटर टाढा सललाहमा झण्डै ५ हजारको संख्यामा नेपाली महिला कामदार थियौं । नेपाली नयाँवर्षको अवसर पारेर हामीले नेपाली समाज ओमानका अध्यक्ष देव नारायण तिवारीको प्रमुख आतिथ्यतामा पहिलोपटक सललाहमा नेपाली नयाँवर्ष मनाएका थियौं । सायद त्यो सललाहमा रहने नेपालीहरुको इतिहासमै पहिलो औपचारिक कार्यक्रम हो । त्यसभन्दा पहिले दिदी बहिनी तथा दाजुभाइ मिलेर कसैको कोठामा, घरमा या सललाहको पार्कमा नयाँवर्ष दसंै या अन्य नेपाली चाडपर्व मनाइएको थियो । तर, होटलमा हल नै बुक गरेर गरिएको पहिलो कार्यक्रम थियो त्यो ।
त्यहि कार्यक्रममा झण्डै ४ सय दाजुभाइ दिदीबहिनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा रातको झण्डै १२ बजेसम्म हामी झुमेर नाचेका थियौं नेपाली गीतमा । हामीले त्यहिदिन सललाहमा नारायण श्रेष्ठको अध्यक्षतामा नेपाली समाज ओमानको क्षेत्रिय समिति सललाह गठन गरेका थियौं । जसको सचिवको कार्यभार सम्हाल्ने जिम्मा मैले पाएकी थिए ।
सललाहमा अहिले जति सुकै र जस्तोसुकै नेपाली संघसंस्था खुलेको भएपनि सललाहको इतिहासमा त्यो नै पहिलो नेपाली संस्था थियो । ओमान नेपाली समाज क्षेत्रिय समिति सललाह ।
समाजको गठन भएपछि पहिलो काम त्यहाँ रहनु भएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुको समस्याहरुलाई ध्यान दिनु थियो । कसैको पासपोर्टको समस्या, कसैको घरजान नपाएको समस्या र कसैको घरमालिकले दिएको यातनाका गुनासोहरु धेरै आउन थाले । हामी पार्कमा बसेर सबैका समस्या सुन्ने र सम्बन्धीत निकायमा सुनाउने काम गर्न थाल्यौ ।
त्यतिबेला ओमानको नेपालीको अभिभाव राजदूतावास साउदी मात्रै थियो । हामीले पासपोर्टका समस्या तत्कालिन साउदी दूतावासका प्रथम सचिव लोक बहादुर थापालाई फोनमार्फत सुनाउने गथ्र्यौ । उहाँले त्यहाँको गुनासो सुन्ने र सकेसम्म समस्या सुल्झाउनमा लाग्नुहुन्थ्यो । त्यहि गुनासाको विचमा आएको थियो लुसाङको पीडा । सललाहको सायदामा कामगर्ने माया पण्डित बहिनीले लुसाङको गुनासो लिएर आइन् । मायासँग उनको घरको छतबाट कुरा हुन्थ्यो ।
लुसाङ्गले मायासँगको भेटमा सानो गिलास फुटाएपनि आफूलाई सर्वाङ नाङ्गगो बनाएर मालिक्नीले कुट्ने गरेको सुनाउथिन् । मायाको कुराले हामीलाई झन पीडा दियो ।
अव हाम्रो पहिलो प्राथमिकता लुसाङ कस्तो अवस्थामा छन र के गर्दै छन् भन्ने कुरा पत्ता लगाउनु थियो ।
हाम्रो पहिलो कदम थियो उनको अवस्था पत्ता लगाउनु । त्यसैले हामी त्यहाँ पुगेका थियौं । जब हामीले घर मालिकको छोरासँग पानी पिउन माग्यौ । तब पानी लिएर लुसाङ आइन । उनको हातमा थालमा दुइ तीनवटा गिलासमा पानी थियो । उनले मुहारमा घुम्टो ओडेकी थिइन् । “हामी नेपाली हौं” भनेपछि उनले घुम्टो हटाउँदै आश्चर्यमा परिन् । हामीले उनलाई नियालेर हे¥यौं । उनको कपाल काटिदिएर मुडुलो बनाइएको थियो । आँखामा हानेर रगत जमेर निलो भएको थियो । कठै, कुट्दा सम्म कुटेर त्यसै छाडिदिएछन् ।
उनी राम्रोसँग नेपाली बोल्न जान्दैनथिन् । मालिक मालिक्नीले उनमाथि मानवियता पनि देखाएनछन् । कुटेपनि उपचार त गर्नुपर्ने थियो । तर, खोइ किन हो त्यत्तिकै छोडिदिएका थिए । हामीलाई डर लागिरहेको थियो । कतै सुतिरहेकी मालिक्नी उठेर कराउने पो हुन की ? हामी आत्तिदै उनको जिल्ला, गाउँको नाम, बाबुको नाम सोध्यौ । “मलाइ यहाँबाट लैजानुस दिदी” भन्दै आँखाभरी आँसु बनाएकी लुसाङलाई हामीले छिटो आफ्नो ठेगाना भन्न अनुरोध ग¥यौं । उनले बाबुको नाम खार्पा तामाङ, जिल्ला रसुवा कालिकास्थान थुमन गाविस भन्न भ्याइन् हामीले हतार–हतार टिपेर “हुन्छ हामी तिमीलाई छिट्टै निकाल्छौं, तिमी पिर नमान” भनेर त्यो घरबाट बाहिरीयौं ।
उनको पासपोर्ट मालिकले नै राखिदिएको र घरबाट ल्याएको फोटो र फोन नं पनि मालिक मालिक्नीलेनै च्यातेर फ्याकिदिएको उनले सुनाएकी थिईन । मालिक मालिक्नीको आशय थियो उनले घर, परिवार अनि देश सबै विर्सेर ओमानमै जीवन सकुन् । तर उनका हरेक दिन परिवार गाउँ अनि देश सम्झिएर रुदै वितेका थिए । उनी भन्थिन् “मेरो गाउँमा हिउँ पर्छ, बाबु आमालाई हिउले पु¥यो होला ।” ६ वर्षका कति रात दिन यसरी नै सम्झनामा रोएर बिते होलान् लुसाङको भन्ने कुरा हरेक प्रवासीएका नेपालीले आफुले अनुभव गर्ने कुरा हो । किनकी देश छोडेर परदेशमा रहँदा देशको जति माया लाग्छ अनि परिवारको मायाले कति सताउँछ भन्ने कुरा सबै नेपाली मुटुमा डल्लो पारेर लुकाएको पीडा हो यो ।
घाउँ जति गहिरो भयो त्यति बल्झिन्छ भनेजस्तै थियो लुसाङको पीडा । ६ वर्ष त्यो घरमा बिना तलब बाध्यतामा रोएरै काम गरिरहेकी लुसाङलाई उद्धार गर्न त्यति सहज थिएन् । हामीले सकेसम्म उनको उद्धार गर्ने अभियानमा लाग्यौ । साथिभाइसँग सल्लाह ग¥यौं । तर, उपाए केही लागेको थिएन ।
त्यत्तिकैमा नेपाली समाजको सचिव भएको नाताले सकेसम्म सबैको पीडालाई सम्बोधन गरौं र न्याय दिलाउन लागि परौं भनेर लाग्दा मलाई ओमान छोडेर हिड्नु प¥यो । लुसाङजस्तै अर्की झापाकी बहिनीको उद्धारमा लाग्दा मलाइ काम गर्ने घर मालिक्नीले “नेपालीको सेवा गर्ने भए तैले काम गर्नु पर्दैन नेपाल जा” भनेपछि म उनै बहिनीलाई लिएर नेपाल फर्केकी थिए । त्यतिबेला ओमानको ६ बर्षे रोजगारी छोडेर म २०६३ मा आफ्नो देश फर्केकी थिए ।
म, नेपाल फर्केपनि मेरो कार्यक्षेत्र काठमाडौंमै भयो । जहाँ हरेक सम्भावनाका ढोकाहरु चहार्ने मौका मिल्यो । लुसाङको परिवारको ठेगाना मात्रै लिएर नेपाल फर्केकी म सकेसम्म उनको परिवारको खोजीमा लागे । काठमाडौं फर्केर ऐक्यबद्धता मासिकमै काम सुरु गरेकी थिए मैले ।
ऐक्यबद्धताको ग्राहक बनाउन सामाखुसी पुगेका बेला नेशनल गोर्खा सेक्युरेटीजका प्रबन्ध निर्देशकसँग परिचय भयो । उनले आफ्नो घर रसुवा भनेर परिचय दिएपछि लुसाङको कुरा निस्कियो । लुसाङको गाविस र गाउँको नाम समेत थाहा भएकोले उनलाइ सबै बेलिविस्तार लगाएर लुसाङको परिवार खोजिदिन अनुरोध गरेर अफिस फर्किए ।
आफ्नो जिल्लाकी चेली ओमानमा बन्धक भएको पीडाले उनलाइ पनि रातभर निद लागेनछ क्यारे । भोलीपल्ट नै रसुवामा खबर पठाएर लुसाङको परिवारलाई छोरी ओमानमा जीवित रहेको र हामीले खोजिरहेको खबर पु¥याइ दिए ।
बर्षौसम्म छोरीको अत्तोपत्तो नपाएका लुसाङका बाबु छोरी जिवित रहेको खबरले खुसीले आत्तिए । अनि २०६४ बैशाखमा छोरीको खोजि गरिदिन भन्दै खालीखुट्टा राजधानी आइपुगे । ऐक्यबद्धताको आयोजनामा पत्रकार सम्मेलन गरेर लुसाङको तत्काल उद्धार गरिदिन नेपाल सरकारलाइ झकझक्यायौं । त्यसपछि त परराष्ट्रमन्त्रालय, राष्ट्रिय अन्तराष्ट्रिय विभिन्न संघ संस्था र ओमानमा रहनु भएका नेपालीहरु तथा पत्रकारहरुको सहयोगमा अन्ततः लुसाङ ८ वर्षको बन्दी जीवनबाट मुक्त हुँदै क्षतिपूर्ति सहित २०६४ माघ ८ गते नेपाल फर्किन सफल भइन् । यसरी एउटी चेली ओमानको त्यो नारकिय जीवनबाट देश फर्किन ।
सुन्छु आजभोली लुसाङ घरजम गरेर आफ्नै संसारमा रमाउँदै छन रे । तर, खाडीका समस्या ज्यूँका त्यू छन ।
अझैपनि धेरै दिदीबहिनीहरुले बैदेशिक रोजगारको नाउँमा त्यस्तै पीडा सहनु परेको घटना नयाँरुपमा आउने गरेका छन् र नयाँ देशमा सरुवा भएका छन् । अहिले साइप्रस, इजरायल लगायतका देशमा पनि नेपाली महिलाहरु शरिरीक, मानसिक शोषणमा परेका समाचारहरु आइरहेका छन् । सम्झना आयो त्यहि घटना, आँखाभरी त्यो ठाउँ, त्यो बाटो अनि त्यो देश । अनि फेरि एकपटक फर्किए ओमान र कोरे केही सम्झनाका दुई शब्दहरु ।