
३० बैशाख, काठमाडौ । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले अनलाइन पत्रकारिता क्षेत्रमा देखिएको ‘कपीपेष्ट’ विकृति नियन्त्रण हुनुपर्नेमा जोड दिएका छन ।
न्यूजलाइन मिडियाको दोस्रो वार्षिकोत्सवको अवसरमा आइतबार नेपाल पर्यटन बोर्डमा आयोजित ‘नेपाल भ्रमण वर्ष–२०२० का लागि अनलाइन मिडियाको भूमिका’ विषयक छलफल कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले यस्तो विकृति नियन्त्रण हुनुपर्नेमा जोड दिएका हुन् ।
नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले भ्रमण वर्ष २०२० सँग जोडेर अनलाइन मिडियामा ‘कपीपेष्ट’ संस्कृतिले पत्रकारको कलम सशक्त हुन नसकेको तथा मुलुकको सम्बृद्धिका लागि खेल्नुपर्ने सिर्जनात्मक भूमिकामा कमी आउने भन्दै उठान गरेको विषयमा समर्थन जनाउँदै पूर्वअध्यक्ष रेग्मीले पर्यटन प्रवद्र्धनमा मिडियाले सिर्जनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए ।
उनले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न मिडियाले सिर्जनात्मक भूमिका खेल्नुपर्ने धारणा राखे ।
मुलुकको परिवर्तनका हरेक कालखण्डमा मिडियाले खेलेको भूमिकाको प्रसंसा गर्दै रेग्मीले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गरेर अब मुलुकको आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्न पनि मिडियाको शक्त भूमिका आवश्यक रहेको बताए ।
प्रदेश नं।.३ का सांसद एवं पूर्व मन्त्री राजेन्द्र पाण्डेले मुलुकलाई सम्बृद्ध बनाउकालागि पर्यटन विकासको विकल्प नरहेको भन्दै पर्यटन विकासकालागि राज्य पक्ष र निजी क्षेत्रसँगै अघि बढ्नुपर्ने बताए ।
मुलुकमा विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनहरुमा मिडिला जगतले चौथो अंगको रुपमा भूमिका खेलेको स्मरण गर्दै उनले अब समृद्धिको सपना पूरा गर्न पनि मिडियाले रचनात्मक र सिर्जनात्मक भूमिका खेल्नुपर्ने आवश्यकता औल्याए ।
आजको सूचना र प्रविधिको जमानामा अनलाइन मिडियाको भूमिका अझ प्रभावकारी हुने भन्दै उनले पछिल्लो पटक देखिएको कपीपेष्टको संस्कारबाट माथि उठेर सत्य, तथ्यमा आधारित समाचार सम्पे्रशन गनुपर्ने आजको आवश्यकता रहेको बताए ।
नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दिपक महतले २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० को तयारी तीब्र रुपमा अघि बढिरहेको बताए ।
उनले भ्रमण वर्ष सफल पार्नका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र दत्तचित्त भएर लागिरहेको सन्दर्भमा मिडिया जगतको पनि सकारात्मक भूमिका जरुरी रहेको बताए ।
महतले पछिल्लो पटक एउटामा प्रकाशित भइसकेकै समाचार हुबहुँ अर्को अनलाइनमा प्रकाशन गर्ने ‘कपीपेष्ट’ प्रबृत्ति हाबी भएकोप्रति सबैको ध्यानाकर्षण गराए ।
अनलाईन मिडियाहरुले खेलेको प्रभावकारी भूमिकाप्रति प्रशंसा गर्दै उनले अब कपीपेष्ट प्रबृत्तिलाई हटाएर अनलाइन मिडियालाई विश्वाशिलो र सिर्जनात्मक बनाउनुपर्ने आवश्यकता औल्याए । न्युजलाइन मिडियाका अध्यक्ष राजु भट्टले स्थापनाकालदेखि यस मिडियाले गर्दै आएका विविध गतिविधीहरुबारे जानकारी गराएका थिए ।
सो कार्यक्रममा विभिन्न क्षेत्रबाट मुलुकको पर्यटन प्रवद्र्धनमा योगदान गर्नेहरुलाई सम्मान गरिएको थियो ।
वि.सं.२०७६ वैशाख ३० सोमवार १८:५७ मा प्रकाशित





























