१६ जेठ बर्दिया । बढैयाताल गाउँपालिका–८ शीतला बजारका ५७ वर्षीय राजेन्द्र सुनारले पुख्र्यौली पेशाबाट मनग्य कमाई गर्दै आएका छन् । आरन चलाएर किसानको दैनिक काममा आवश्यक पर्ने फलामको यन्त्र –हतिया), सामान बनाउने र मर्मत गर्ने उनको पुस्तौँदेखि गर्दै आएको पेशा हो । यसै पेशाबाट उनले दैनिक रु एक हजारसम्म कमाउने गरेको बताए । उनको मासिक कमाई औसत रु २० हजारभन्दा माथि हुने गरेको छ । कमाइबाट श्रीमती, छोरा, छोरी, नाति नातिनीसहित सात जनाको परिवारको जिम्मेवारी पूरा गर्दै आएका छन् ।
दलित समुदायमा आरन चलाएर फलामको हतियार, सामान बनाउने र मर्मत गर्ने पुख्र्यौली पेशा छोडी अन्य बैकल्पिक पेशातर्फ लागिरहेको बेला राजेन्द्र सुनार भने त्यही पेशाबाट राम्रो कमाइ गरेर घरव्यवहार चलाउँदै आउका छन् । उनले हँसिया, खुर्पा, बञ्चरो, गर्सा, फरुवालगायत घरेलु हतियार बनाउने र मर्मत गर्ने गरेको गरेका छन् ।
फलामको हतियार, सामान बनाउन र मर्मत गर्ने काम बाली लिएर बालीघरे प्रथा पनि गाउँघरमा कायम रहेको छ तर राजेन्द्र फलाम काम बालीघरे प्रथाअनुसार गर्नुहुन्न । उनले फलामका घरेलु हतियारअनुसार नयाँ बनाउन र पुरानो मर्मत गर्न नगद नै लिनुहुन्छ । उनले मर्मतबापत रु ५० देखि रु ३०० सम्म र नयाँ बनाउन भने रु २०० देखि रु एक हजार ५०० सम्म लिने गरेको बताए । बढैयाताल गाउँपालिका, गुलरिया नपा, मधुवन नपा, बाँसगढी नपाका किसान र अन्य मानिस फलामका घरेलु हातहतियार बनाउन र मर्मत गर्न आउने गरेको पनि उनले बताए । उनकहाँ किसान ग्राहकनै सबैभन्दा बढी आउने गरेका छन् ।
यस पेशालाई राजेन्द्रले निरन्तरता दिएर कमाइको स्रोत बनाउन उनले आफ्नो बाबुबाट सानै उमेरमा सिकेको सीप र अभ्यास नै हो । उनले भने “फलामको सामान बनाउनु मात्रै ठूलो कुरा होइन । ग्राहकले भनेजस्तो बलियो, हेर्दै राम्रो देखिने र प्रयोग गर्न सजिलो हुने बनाउन सक्नुपर्छ ।” ती सबै कुरा उनले पूरा गर्दै आएका छन् । त्यही भएर नै टाढा टाढाबाट पनि फलामका सामान बनाउन उनँकहाँ नै आउँछन् ।
गुलरिया नपा–१२ का गोविन्द थारू राजेन्द्रका नियमित ग्राहक छन् । गोविन्दले भने “राजेन्द्रले बनाएका नयाँ र मर्मत गरेका सामान टिकाउ र काम गर्न सजिलो हुने गरेको छ । उनमा कुन सामान बनाउँदा कुन गुणस्तरको फलाम प्रयोग गर्ने चिन्न सक्ने क्षमता छ ।”
वि.सं.२०७६ जेठ १६ बिहीवार ०९:५८ मा प्रकाशित




























