८ असार । आजको संघीय संसदमा सांसदहरु अमर्यादित र असभ्य रुपमा उत्रिए । आइतबारको बैठकमा पूर्वमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सांसद उमाकान्त चौधरीले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम बङ्ग्याएर ‘करप्रसाद ओली’ र ‘झुठप्रसाद ओली’ राख्दा राम्रो हुने बताए ।
सांसद चौधरीले विशेष समयमा बोल्दै ‘जथाभावी कर लगाएर करप्रसाद ओली उपनाम पाएका सम्माननीय प्रधानमन्त्रीज्यूको सरकारको कामकारवाही हेर्दा उहाँले सँधै झुठको आश्वासन दिने र झुठको खेती गर्ने भएकाले उहाँको नाम झुठप्रसाद ओली उपनाम दिँदा फरक नपर्ने’ बताएपछि सत्तारुढ दलका सांसद झपट रावलले चौधरीको भनाइप्रति नियमापत्ती व्यक्त गरे ।
सांसद चौधरीले असम्भ भाषा बोलेको भन्दै रावलले पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई शेरबहादुर देउवा नभनेर ‘छेरबहादुर देउवा’ भन्न बाध्य भयौँ भने के हुन्छ ? भन्दै प्रतिप्रश्न गरे । उनले अमर्यादित र असभ्य भाषा प्रयोग गरिएको भन्दै सभामुखसँग त्यसलाई रेकर्डबाट हटाउन माग गरे ।
सभामुख महराले ‘विषय गम्भीर’ भन्दै आफ्नो ध्यानाकर्षण भएको र यसबारेमा निर्णय पछि गर्दछु भन्दै संसदलाई अघि बढाएका थिए ।
वि.सं.२०७६ असार ८ आइतवार २१:३० मा प्रकाशित