back
CTIZAN AD

उहिले हुँदा खानेको कोदो अहिले हुने खानेको रोजाइमा

वि.सं.२०७६ साउन १३ सोमवार

789 

shares

१३ साउन, पोखरा । वर्षौंसम्म्म नबिग्रने विशेषगरी पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो, कोदो । मानिसको शरीरमा आवश्यक पर्ने प्रोटिनको मात्रा अत्यधिक हुने कोदोको उत्पादन भने कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै बर्सेनी घट्दै गएको छ ।

विशेषगरी पहाडी क्षेत्रमा साउनको पहिलो सातातिर मकै भाँचेपछि सर्वसाधारणले कोदो रोप्ने गर्दछन् । विगतमा कोदो रोपाइँका कारण चापाचाप हुने गाउँबस्तीका अधिकांश बारी यतिखेर बाँझै छन् ।

कोदोको उत्पादन घट्दै गए पनि यसको माग भने अत्यधिक बढ्दै गएको कास्कीको अन्नपूर्ण गाउँपालिकाका कृषक आशबहादुर गुरुङले बताए । “उहिले विपन्न वर्ग एवम् समुदायको दैनिक आहाराका रूपमा कोदो रहेको थियो”, उनले भने, “अहिले भने ठ्याक्कै उल्टो भएको छ, हुने खानेको रोजाइमा कोदो पर्न गएको छ ।”

कोदोमा मानिसको शरीरमा आवश्यक पर्ने धेरै किसिमका पौष्टिक तत्व पाइने भएकाले यो स्वास्थ्यका लागि पनि बहुउपयोगी भएको उनले बताए । उनका अनुसार मधुमेह जस्ता रोगका बिरामीलाई पनि खान हुने भएकाले बजारमा कोदोको अत्यधिक माग हुने गरेको छ । कोदोबाट रोटी, ढिँडो, पुवा जस्ता परिकार बनाउने गरिन्छ भने यसबाट घरेलु मदिरा पनि बनाउने गरिन्छ ।

कोदोखेतीको सम्भावनालाई उजागर गर्दै यसबाट स्थानीयवासीको आजआर्जन बढाउन कास्कीको अन्नपूर्ण गाउँपालिकाले अघिल्लो वर्षदेखि कोदोको उत्पादनमा जोड दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए ।

सर्वसाधारण पहाडी क्षेत्रबाट बेँसीतर्फ झर्ने क्रम बढ्दै जाँदा अधिकांश कोदो उत्पादन हुने जग्गा बाँझै रहन थालेपछि यसको महत्व र आम्दानीका सम्भावनालाई उजागर गर्न गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा नै समावेश गरी यसलाई प्राथमिकतामा राख्दै आएको उनले बताए ।

अन्नपूर्ण गाउँपालिका क्षेत्र पदयात्रा पर्यटनको उत्कृष्ट गन्तव्य मानिन्छ । अन्नपूर्ण क्षेत्रमा कोदोको उपादनमा अभिप्रेरित गर्ने कार्यक्रमका साथै यहाँका प्रत्येक होटेलका मेनुमा कोदोको परिकार राख्नुपर्ने अनिवार्य व्यवस्था गरिएको पौडेलले जानकारी दिए । गाउँपालिकालाई कोदोमा आत्मनिर्भर बनाउने लक्ष्यअनुरुप कोदोखेती प्रवद्र्धन गर्न अनुदान योजना अघि सारेको गाउँपालिकाले यहाँका ११ वटै वडामा एक÷एक वटा कोदो माड्ने उपकरण वितरण गर्ने सोच राखेको छ ।

गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा तीन वटा कोदो माड्ने मेशिन अनुदानमा उपलब्ध गराएको र उक्त कार्यक्रम चालू आर्थिक वर्षमा पनि निरन्तरता दिइने गाउँपालिकाको कृषि शाखाका प्रमुख शशीकुमार सिंहले बताए । उनका अनुसार अघिल्ला आर्थिक वर्षमा गाउँपालिकाका–४, ७ र १० लाई अनुदानमा कोदो माड्ने मेशिन उपलब्ध गराएको थियो ।

अन्नपूर्ण क्षेत्रमा आउने पर्यटकले पनि कोदोको परिकार अत्यधिक माग गर्ने गरेको उहाँले जानकारी दिनुभयो । पछिल्लो तथ्याङ्कअनुसार गाउँपालिकाको छ हजार २९ घरधुरीमध्ये औसतमा एक घरले एक मुरी कोदो उत्पादन गर्दै आएका छन् । अन्नपूर्ण गाउँपालिकाले अघिल्लो वर्ष वडा नं ४ भदौरेमा आयोजित कोदो महोत्सवमा कोदो राम्रो उत्पादन गर्ने कृषकलाई सम्मान गरिएको थियो । अघिल्लो वर्ष गाउँपालिकामा एक व्यक्तिले अधिकतम ३५ मुरी कोदो उत्पादन गरेका थिए । महोत्सवमा स्थानीयवासीले कोदोको सेलरोटी, सुक्खारोटी, मःमः लगायतका २५ परिकार बनाएर खुवाएका थिए ।

उक्त महोत्सवमा कोदोको खोले, दाम्ले मिठाई, शङ्खे चक्लेट, ढिँडो, जेरी, पुरी, नमकिन, पकौडा, केकलगायत स्वाद लिने व्यवस्था गरिएको थियो । कास्कीमा पछिल्ला वर्षमा कोदोखेती हुने क्षेत्रफल घटेर १४ हजार ७०० हेक्टर पुगेको छ । कोदोको उत्पादकत्व प्रतिहेक्टर एक दशमलव दुई मेट्रिक टन रहेको यस जिल्लामा कूल १७ हजार ७०० मेट्रिक टन कोदो उत्पादन हुने गरेको छ । कोदो हुने क्षेत्रफल घट्दा यसको उत्पादन घटेर यो वर्ष १५ हजार मेट्रिक टन पुग्ने अनुमान छ ।

कास्की आसपासका स्याङजा, तनहँु, लमजुङ, गोरखा, पर्वत, वागलुङ, म्याग्दीलगायतका जिल्ला कोदो उत्पादन राम्रो हुने भए पनि उत्पादन भने घट्दो रहेको बताइएको छ । कोदो खेती कम हुन थालेसँगै यसका विभिन्न प्रजाति पनि लोप हुँदै गएका छन् । विगतमा कास्की र आसपासमा दूधे काले, कुकुर काने, ठूलो कोदो, ज्याउदी खोले, देउराली काले, माझठाने, चुल्ठे, कालो डल्ले, सम्धी, सेतो झ्यापे, सिर्कुताने, हुम्ला डल्ले जस्ता विभिन्न प्रजातिका पाउने गरिएकामा ती प्रजाति लोप हुँदै गएको कृषकहरू बताउँछन् ।

पछिल्लो समय कोदो लगाउने ठाउँमा कृषकले घैया प्रजातिका साथै अन्य हाइब्रिड जातका पाखे धान लगाउन थाल्नु पनि यसको उत्पादन घट्दै गएको हो । यसका साथै पछिल्ला वर्षमा सर्वसाधारण बेंसीतर्फ झर्नेक्रम बढेकाले ती क्षेत्रका अधिकांश कोदो उत्पादन हुने जग्गा बाँझै रहन थालेका छन् । यसरी पहाडी क्षेत्रमा जमीन बाँझो रहन जाँदा कोदो उत्पादनमा ह्रास आएको अनुमान कृषि विज्ञको छ । विगतमा कास्कीका अधिकांश पहाडी भू–भागमा कोदो खेती हुने गरेकोमा खेती हुने क्षेत्रफल क्रमशः घट्दै गएको छ ।

मानिसका लागि अत्यावश्यक आइरन र अन्य भिटामिन कोदोमा पाइन्छ । विशेषतः आइरन चक्की खाने गर्भवती महिलाका लागि कोदोका परिकार बहुृउपयोगी मानिन्छ । कोदोका परिकार बनाउन सर्वसाधारणलाई अभिप्रेरित गर्दै घरवास सञ्चालन भएका स्थानमा आवश्यक तालीम प्रदान गर्नसके मध्य एवं उच्च पहाडी क्षेत्रमा यसको खेतीमा आकर्षण बढाउन सक्ने देखिन्छ ।

वि.सं.२०७६ साउन १३ सोमवार १०:१८ मा प्रकाशित

पाल्पामा सवारी दुर्घटना, एक जनाको मृत्यु

पाल्पामा सवारी दुर्घटना, एक जनाको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा...

काठले च्यापिएर एक जनाको मृत्यु

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले...

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन (बागलुङ) । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक...

बेनी-ढोरपाटन-तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

बेनी-ढोरपाटन-तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

मुना (म्याग्दी) । गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा...

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली (तनहुँ) । व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा...

पशु क्षति भएका कृषकलाई रु १० लाख राहत

पशु क्षति भएका कृषकलाई रु १० लाख राहत

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पशु बिमा कार्यक्रमअन्तर्गत कृषकलाई...