३० मसिंर, काठमाडौँ । प्रदेश ५ को नाम र राजधानी सिफारिस गर्न गठित समितिले प्रदेशको नाम लुम्बिनी राख्ने सुझाव प्रस्तुत गरेको छ । नाममा एक मत रहेको समितिमा स्थायी राजधानीको विषयमा भने बिमती देखिएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको प्रस्ट दुई तिहाइ बहुमत रहेको पदेश सभामा स्थायी राजधानीको विषयमा एकमत रहेको छैन । सिफारिस समितिमा पनि यो बिमती पस्ट देखिएको छ ।
समितिका संयोजक दिपेन्द्र कुमार पुनले आफ्नो समितिको समयावधि सकिन एकदिन अगाडि बुझाएको प्रतिवेदनमा पनि स्थायी राजधानीमा कुनै सहमति नजुटेको देखिन्छ । नाममा एकमत रहेको समितिले स्थायी राजधानी भने बुटवल (सैनामैना), कपिलवस्तुको बुद्धभूमि, दाङको लमही, भालुवाङग, तुलसीपुर र घोराही सिफारिस गरेको छ ।
प्रदेशसभामा नेकपाका ६१, नेपाली कांगेसका १९, समाजबादी पार्टीका ५ राष्ट्रिय जनता पार्टीका एक र राष्ट्रिय जनमोर्चाका एक जना सांसद रहेका छन् । नेकपाको दुईतिहाइ मत रहेपनि स्थायी राजधानी को सबालमा पार्टीभित्रै पनि पार्टीको एउटै आवाज रहेको पाइदैन ।
नेकपाका आधा सांसदहरु दाङमा स्थायी राजधानी बनाउन चाहन्छन् भने आधा बुटवलमै राख्न चाहन्छन् । यसैकारण बीचको बाटोको रुपमा बुद्धभूमि सिफारिस गरिएको समितिका एक सदस्यले बताएका छन् ।
वि.सं.२०७६ मंसिर ३० सोमवार ०९:५७ मा प्रकाशित




























