१५ माघ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा उनले भावनामा लाग्दैमा क्रान्ति नहुने बताएका छन् । पार्टी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको बुधबार उद्घाटन गर्दै ओलीले कार्यकर्ताहरुलाई भावनमा लागेर क्रान्ति र उपलब्धि हासिल नहुने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले पार्टी अहिले पनि वैचारिक हिसावले संक्रमणकालीन अवस्थामै रहेको उल्लेख गरे । ‘वैचारिक कुराका हिसावले एक ढंगमा हामी संक्रमणकालमा नै छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘स्पस्टता विना अगाडि बढ्न सक्दैनौं । वैचारिक कुरामा बहुत स्पष्टता जरुरी छ ।’
नेकपा अध्यक्ष ओलीले कार्यकर्ताहरुलाई वैचारिक स्पष्टताका लागि अध्ययन गर्नु जरुरी रहेको पनि बताए । ‘वैचारिक स्पष्टताका लागि अध्ययन गर्नु र आँखा खोलेर अघि बढ्नु पर्छ । भविष्यतर्फ हेरेर अघि बढ्नु पर्छ,’ ओलीले भने, ‘हामी आइडोलोजिकल (वैचारिक) चपेटामा पनि छौं । त्यसबाट अड्किने होइन । त्यसलाई व्यवहार र तर्कबाट स्पष्ट पार्नुपर्छ । भावनामा लागेर क्रान्ति र उपलव्धि हासिल हुँदैन ।’
सरकारले गरेका कामकाविरुद्ध केही व्यक्ति तथा समूहले प्रचार युद्ध नै छेडेको उनको आरोप थियो । ‘हाम्राविरुद्ध प्रचार युद्ध डरलाग्दो गरि छेडिएको छ । प्रचार युद्ध मात्र होइन, आक्रमण छेडिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो युद्ध हैन, युद्ध त दुईतिर बाटै हुन्छ । आक्रमण छेडिएको छ । डरलाग्दो तरिकाले ।’
प्रधानमन्त्री ओलीले कतिपय अवस्थामा सरकारका केही कमजोरी भएको हुनसक्ने पनि स्वीकारे । ‘कतिपय अवस्थामा सरकारका कमी कमजोरी भएका पनि हुनसक्छन् । कतिपय अपेक्षा अनुसार पूरा नभएको हुनसक्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी काम नगरी बसेका वा अपलव्धि हासिल नगरी बसेका वा पछाडि परेका होइनौं ।’
संविधान जारी भएपछि भएको संसदीय निर्वाचन पछिका २ वर्षमा असाधारण उपलब्धि हासिल गरेको पनि ओलीले दाबी गरे । ‘निर्वाचन भन्दा पछि यो २ वर्षमा असाधारण उपलब्धि हासिल गरेका छौं,’ ओलीले ।
प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनको सन्दर्भमा अत्यन्त महत्वपूर्ण उपलव्धि हासिल गरिएको पनि दाबी गरे ।
वि.सं.२०७६ माघ १५ बुधवार १२:३९ मा प्रकाशित






























