काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङ्गलाई नै ल्याउनुपर्ने बताएका छन् । उनले कुलमान घिसिङ्गले नेपाली जनताले बिर्सनै नसक्ने काम गरेको भन्दै फेरि पनि नियुक्ती हुनुपर्ने बताए ।
कुलमान घिसिङ्गको पुन नियुक्तीको चर्चा आईरहेको बेला उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । सरकारले पनि घिसिङ्गलाई नै नियुक्ती गर्ने कुरामा उनले विश्वास देखाएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले भनेका छन्, ‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले उर्जाक्षेत्रमा जे जति योगदान पुर्याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङ्को योगदान अझै आबश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा विस्वस्त छु ।’
बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले उर्जाक्षेत्रमा जे जति योगदान पुर्याएका छन् , त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्।नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङ्को योगदान अझै आबश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा बिस्वस्त छु ।
— NKShresthaPrakash (@nksthaprakash) September 14, 2020
आज साँझ मन्त्रिपरिषद बैठक बस्दैछ । आजको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको निर्देशकमा नियुक्तीको निर्णय गर्न सक्ने सम्भावना छ । कुलमान घिसिङको कार्यकाल आइतबारदेखि सकिएको थियो ।
प्राधिकरणमा फेरि पनि घिसिङ्गलाई नै नियुक्ती गरिने सम्भावना छ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घिसिङ्गको नियुक्तीमा दबाब दिईरहेका छन् भने सामाजिक सञ्जालमा पनि घिसिङ्गलाई नै नियुक्ती गरिनुपर्ने चर्को दबाब छ ।
वि.सं.२०७७ भदौ २९ सोमवार १३:०७ मा प्रकाशित






























