काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आगामी मंसिर १८ मा बस्ने भएको छ । बुधबार बसेको सचिवालय बैठकले आगामी मंसिर १८मा स्थायी समिति र मंसिर २५ मा केन्द्रीय समिति बैठक राख्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यसअघि भदौ २५ मा सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय कमिटीको बैठक कात्तिक १५ मा गर्ने निर्णय गरेको थियो । तर कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेकपाले गत कात्तिक १२ मा बैठक बस्नु अगावै १ महिना अर्थात् मंसिर १५ सम्मको लागि स्थगित गराएको थियो ।
प्रवक्ता श्रेष्ठका अनुसार आज स्थगित सचिवालयको बैठक आगामी मंसिर १३ मा बस्ने छ । उनका अनुसार आगामी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले उक्त बैठकमा छुट्टै प्रस्तावसमेत ल्याउने छन् ।
यसअघि गत कात्तिक २८ मा बसेको सचिवालय बैठकमा प्रचण्डले १९ पन्ने प्रस्ताव छलफलको लागि राखेका थिए । जुन प्रस्तावमा ओलीको आलोचना गरिएको छ ।
वि.सं.२०७७ मंसिर ३ बुधवार १५:५१ मा प्रकाशित






























