१३ पुष, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थि नेता स्वनाम साथी(शशी शेरचन)को निधनप्रति असाध्यै धेरै दुःख व्यक्त गरिएका छन् ।
क्रान्ति र चेतनाका पात्र स्वनाम कुनै पार्टी विशेषका नेता मात्र नभएर सबैका साथी थिए । उनको निधनमा विभिन्न राजनैतिक संघसंगठन तथा भिन्न विचार भएका व्यक्तिहरुले पनि दुःख व्यक्त गरेका छन् ।
लामो समय देखि मृगौला रोगको उपचार गरिरहेका स्वनामको पुष ९ गते साँझ निधन भएको हो । लामो समय सिकिस्त भई सामान्य अवस्थामा फर्किसकेका स्वनामको पुनः गम्भिर भई आइसियुमा उपचारकै क्रममा ७० बर्षको उमेरमा मोडेल अस्पताल काठमाडौंमा निधन भएको हो ।
माक्र्सिय गुरुकुल नेपालका परिकल्पनाकार तथा संस्थापक रहेका स्वनाम तत्कालीन सर्वहारा लिग, सर्वहारावादी श्रमिक संगठन, एकता केन्द्र, एकता केन्द्र मसाल, माओवादी, एमाओवादी हुँदै पार्र्टी र राजनीतिको सुद्धिकरणका लागि अगुवा अभियन्ताका रुपमा स्थापित थिए । उनी अक्टोबर क्रान्ति आयोजक समितिका मुख्य अगुवा, राष्ट्रियताका लागि सिमा बचाउ अभियान, नागरिकता विधेयक विरुद्ध खबरदारी, अर्गानीक उत्पादन अभियान, सहकारी मैत्री सभ्यता निर्माण, कोरोना भाइरस विरुद्धको सचतेनापूर्ण लडाई, एमसीसी विरुद्धको खबरदारी, भौतिकवादी योग अभियान जस्ता राजनीतिक तथा सामाजिक संघर्षहरुमा नेतृत्व दिएर नेपालका भौतिकवादीहरुलाई उत्प्रेरणा दिएर गएका छन् । उनका धेरै साथीहरुको अनुमान छ, सामाजिक सञ्जाल तथा उनले खोलेका दर्जनौं म्यासेन्जर ग्रुपहरुमा उनले ‘साथी’, भनेर सम्झाइरहनेछन् ।
को हुन् स्वनाम साथी ?
उहाँको जन्म २००७ साल श्रावण १७ गते म्याग्दी जिल्लाको दर्वाङ–२ हाल मालिका गाउँपालिका रातो ढुंगामा बुबा नयन्त्र प्रसाद शेरचन र आमा सुनकुमारीको कोखबाट भएको थियो । बोर्डिङ स्कुल पढ्न उनी २०१६ सालमै काठमाडौं आएका थिए । विद्यार्थी जीवनमै श्यामप्रसाद नेवार शर्माको संगतमा २०२२ साल देखि बामपन्थी राजनीतिमा लागी २०३४ सालमा सर्बहारावादी श्रमिक संगठनको महासचिवको जिम्मेवारी सम्हालेका सोनाम साथी चौम, एकता केन्द्र नेकपा (माओवादी), नेकपा, माक्र्सिय गुरुकुल तथा सिमा बचाऔ अभियानका राष्ट्रिय संयोजक, एक सच्चा कम्युनिस्ट बामपन्थी नेता, नागरिक अभियन्ताको नेतृत्व सम्हालेका थिए ।

उहाँका आदर्शहरु कम्युनिष्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय हुनेछन् – प्रचण्ड
शोक वक्तव्य
हाम्रो पार्टीका राष्ट्रिय सल्लाहकार परिषदका सदस्य कमरेड स्वनाम साथी (शशी शेरचन)को शुक्रवार राति ९ः३० बजे मोडल अस्पताल, काठमाडौंमा असामयिक निधन भएको खबरले हामीलाई दुखित् तुल्याएको छ ।
उहाँको जन्म २००७ साल श्रावण १७ गते म्याग्दी जिल्लाको दर्वाङ–२ हाल मालिका गाउँपालिका रातो ढुंगामा बुबा नयन्त्र प्रसाद शेरचन र आमा सुनकुमारीको कोखबाट भएको थियो । संभ्रान्त परिवारमा जन्मेर पनि विद्यार्थी जीवनदेखि नै सर्वहारा वर्गको मुक्ति लागि सम्पूर्ण जीवन अर्पण गर्नुभयो ।
कमरेड स्वनामले २०२५ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो । २०३३ सालमा उहाँकै नेतृत्वमा सर्वहारा कम्युनिष्ट लीग गठन भयो । २०३८ सालमा सर्वहारा श्रमिक संगठन नेपाल निर्माण गरी उहाँले किसान आन्दोलन चलाउनुभयो । कमरेड शेरचनको आदर्शपूर्ण पक्ष नै आन्दोलन प्रतिको समर्पण, वर्गीय मुक्ति, देशभक्ति र निजी स्वार्थको तिलाञ्जली थियो । उहाँका यिनै आदर्श कम्युनिष्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय हुनेछन् ।
हाम्रो पार्टी कमरेड स्वनाम साथीप्रति क्रान्तिकारी अभिवादन सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।
………………….
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
वहाँको कदको अर्काे व्यक्ति वाम आन्दोलनमा थिएन र छैन- डा बाबुराम भट्टराई
नेपालको वामपन्थी आन्दोलनका एक विशिष्ठ व्यक्तित्व एवम् मुक्त चिन्तक स्वनाम साथीको निधनको खबरले स्तब्ध छु । आजीवन कुनै पद र प्रतिष्ठाको आकांक्षा नराखी निःस्वार्थ र गुमनाम ढंगले सत्य र न्यायको पक्षमा समर्पित रहने वहाँको कदको अर्काे व्यक्ति वाम आन्दोलनमा थिएन र छैन । अलविदा साथी !
नेपालको वामपन्थी आन्दोलनका एक विशिष्ठ व्यक्तित्व एवम् मुक्त चिन्तक स्वनाम साथीको निधनको खबरले स्तब्ध छु। आजीवन कुनै पद र प्रतिष्ठाको आकांक्षा नराखी निस्वार्थ र गुमनाम ढंगले सत्य र न्यायको पक्षमा समर्पित रहने वहाॅको कदको अर्को व्यक्ति वाम आन्दोलनमा थिएन/छैन। अलविदा साथी ! pic.twitter.com/dyWVAhz2hK
— Baburam Bhattarai (@brb1954) December 25, 2020
नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति – वामदेव गौतम
मेरो अत्यन्त घनिष्ठ मित्र तथा नेपाली कम्युनिष्ट आन्दोलनका ईमान्दार तथा समर्पित नेता क.स्वनाम साथीको पुष ९ गते निधन भएको थाहा पाउदा अत्यन्तै दुखि भएको छु, वहाँको निधनबाट नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति भएको छ । वहाँप्रती भावपुर्ण श्रदांन्जली अर्पण गर्दै शोकमा पर्नुभएका परिवारजनमा हार्दिक समबेदना ब्यक्त गर्छु ।
असाधारण बिशिष्टता सहितका नेता- नारायणकाजी श्रेष्ठ
नेपाली कम्युनिष्ट आन्दोलनका असाधारण बिशिष्टता सहितका नेता, देश ,जनता एवं श्रमजीवी वर्गका पक्षमा जीवनभर सँघर्षरत एक अथक योध्दा र पुर्वीय दर्शनका सकारात्मक पक्षहरुलाई सम्मिलन गर्दै मार्क्सवादलाई थप विकास गर्ने दिशामा कार्यरत अग्रज क .स्वनाम साथीको दुःखद निधनबाट स्तब्ध एवं मर्माहत भएको छु । उहाँलाई हार्दिक श्रध्दाञ्जली अर्पण गर्दछु र शोक सन्तप्त परिवारका सदस्यहरु एवं कमरेडहरुलाई समवेदना प्रकट गर्द्छु । उहाँका योगदान र शिक्षाहरु सबैका लागि अनुकरणीय एवं प्रेरणादायी छन् । लालसलाम कमरेड !
किरणलाई के शब्दमा समवेदना दिउं, म सङ्ग उपयुक्त शब्द छैन।किरण ! हामी सबै त्यत्तिकै पिडा र वेदनामा छौं ।तिम्रो प्रेमप्रतिको दृष्टिकोण र ब्यबहार, अनि तिम्रो उच्च मनोवल सवैका लागि लामो समयसम्म अध्ययन र प्रेरणाको बिषय बनिरहनेछन् ।
सच्चा कम्युनिस्ट नेता – गिरीराजमणि पोखरेल
क.स्वनाम साथी हामी माझ रहनु भएन। लामो समय देखि मृगौला लगायतका विभिन्न रोगबाट ग्रस्त उहाँ केही समय अघि मात्र पाटन अस्पतालबाट कोभिडलाई जितेर फर्कनु भएको थियो।त्यस पछि काठमाडौ मोडेल अस्पतालमा निमोनिया,मधुमेह ,उच्च रक्तचाप जस्ता रोगको उपचार गर्दै हुनुहुन्थ्यो त्यही क्रममा पुस १० गते साझ ८ बजे उहाँको निधन भयो।अन्तिम समय सम्म पनि क.सोनामकि सहयोद्दा किरन गौतमले गर्नु भएको सेवा र कर्तव्यबोध अनुकरणीय छ।काठमाडौ मोडेल अस्पतालका डा.भरत प्रधान लगायत डाक्टरहरुको टिमले क.सोनामलाई बचाउन गर्नु भएको अथक प्रयत्नको सम्मान गर्दछु ।
२००७ सालमा जन्मिनु भएका क.स्वनाम साथी १७ बर्षको उमेर देखि कम्युनिस्ट आन्दोलनमा लाग्नु भएको थियो। २०२६ सालमा बिज्ञानमा स्नातक सकेर शिक्षकको रुपमा पढाउन थाल्नु भएको थियो।उहाँले ३३ सालमा सर्वहाराबादि कम्युनिस्ट लिग स्थापना गर्नु भएको थियो जसको अध्यक्ष पनि उहाँ नै हुनुहुन्थ्यो ।
सांस्कृतिक क्रान्तिको प्रभाव बाट कम्युनिस्ट बन्ने र आन्दोलन चलाउने प्रेरणा पाएका उहाँले ३४ सालको जुगेडी आन्दोलन र ४१ सालमा पुर्तिघाट बैङ्क कब्जा गर्ने जस्ता आन्दोलनको नेतृत्व पनि गर्नु भएको थियो ।
२०३८ सालमा रुपलाल विश्वकर्माले नेतृत्व गरेको मजदुर किसान सङ्गठन र सर्वहाराबादी कम्युनिस्ट लिग बिच एकता भए पछि उहाँ सर्वहाराबादी श्रमिक सङ्गठनको महासचिव बन्नु भएको थियो ।
२०४७ सालमा पुष्पकमल दहाल प्रचण्डको नेतृत्वमा एकता केन्द्र गठन गर्दा एकता केन्द्रको संस्थापक केन्द्रीय सदस्य हुनुहुन्थ्यो।एकता केन्द्र बनाउँदा उहाँको महत्त्वपूर्ण भूमिका थियो। एकताकेन्द्र र एकताकेन्द्र-मसाल पार्टिको विभिन्न समयमा पोलिट ब्युरो सदस्य रहनु भएको उहाँ एकताकेन्द्र-मसाल पार्टिको प्रवक्ता समेत हुनुहुन्थ्यो ।
मार्क्सिय गुरुकुलका संस्थापक क.सोनाम ,सीमा बचाउ अभियान, अर्गानिक कृषि अभियान, मार्क्सको द्विसतबार्षिकी र अक्टोबर क्रान्तिको सत वार्षिकी जस्ता अभियानहरुको नेतृत्वदायि पंक्तिमा हुनुहुनथ्यो ।
सम्पूर्ण सम्पत्ति पार्टीलाई बुझाउने उहाँ सच्चा कम्युनिस्ट नेता हुनुहुन्थ्यो। उहाँ जीवनभर समाजवाद र साम्यवाद प्रती समर्पित रहनु भयो। निजि सम्पत्तिको ग्रन्थीबाट मुक्त, पद र प्रतिष्ठाबाट टाढा रहि आफ्नै जिवनमा पनि उहाँ समाजवाद र साम्यवादको अभ्यास गर्नुहुन्थ्यो। नेपालका उत्पीडित बर्ग र समुदायको आन्दोलनलाई बिश्वको सर्वहारा आन्दोलनसङ्ग जोड्ने, राष्ट्रियता र अन्तर्राष्ट्रियताको बिचारलाई ठिक ढंगले अगाडि बढाउने चिन्तन र दृष्टिकोण क.स्वानाममा थियो। उहाँ योग र ध्यानलाई बैज्ञानिक स्वरुप दिने अभियन्ता समेत हुनुहुन्थ्यो। शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्रालयले तयार गरेको नेपालको राष्ट्रिय योग अभ्यास पुस्तिका (प्रोटोकल) बनाउने टोलिको उहाँ संयोजक समेत हुनुहुन्थ्यो। एक क्रान्तिकारीको रुपमा उहाँमा रहेको सकारात्मक सोच र उर्जा अस्पतालमा रहदाको अन्तिम अवस्थासम्म पनि कायम रह्यो।
क.स्वनाम साथीमा हार्दिक श्रद्धाञ्जली र परिवार तथा आफन्तजनमा गहिरो समवेदना अर्पण गर्दछु।
अल्बिदा क.स्वनाम!
इमान्दार कम्युनिष्ट नेता – विप्लव
नेपाली कम्युनिष्ट आन्दोलनका एक हस्ती कमरेड सोनाम साथीको मृत्युको खबरले हामी स्तब्ध भएका छौँ । इमान्दार कम्युनिष्ट नेता सर्वहारा जीवन शैली र माक्र्सवादप्रति आजिवन निष्ठा र प्रतिबद्ध कमरेड सोनाम साथीप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकाकुल सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
विप्लव महासचिव,
मिति : ११ पुष २०७७

अलविदा हाम्रो प्यारो मित्रलाई – नारायण शर्मा
नेपाली कम्युनिस्ट क्रान्तिकारी आन्दोलनका अति आदरणीय स्वच्छ र उच्च व्यक्तित्व कमरेड स्वनाम साथी (शशी शेरचन) को अहिले भर्खरै मोडेल अस्पतालमा निधन भएको दुखद खबरले हाम्रो परिवार स्तब्ध र निःशब्द भएको छ ।
हार्दिक श्रद्धाञ्जली सच्चा कमरेड स्वनाम साथीलाई !
गहिरो समवेदना किरणसहित सम्पूर्ण परिवारजनलगायत सम्बन्धित शोकाकूल सबैलाई !
अलविदा हाम्रो प्यारो मित्रलाई ’
सोनाम मेरा साथी हार्दिक श्रद्धाञ्जली – लोककृष्ण भट्टराई

सोनाम साथी शसिशेरचनलाइ आज भन्दा ५० वर्ष अघि मैले चिनेको हुँ । गणेश पंडित बित्नुभयो । शारदा रमण नेपाल हुनुहुन्छ । प्रचण्डजी हुनुहुन्छ र ओलीजीले गरेको शंसद विघटन विरुद्धको सडक आन्दोलनमै हुनुहुन्छ । ५० वर्ष अघि म पाटन कलेज पढ्दथे पाटनको नायलखु भन्ने ठाउँमा मेरो डेरा थियो । त्यहाँ कपिल श्रेष्ठ, शुशिल चन्द्र अमात्यका साथीको घरमा माथ्लो तलामा म र मणिलाल भट्टराई (बझाङ) तथा पुष्पलालले वाल्मीकी कलेजमा पढ्न पठाएका चतुरभूज आत्रेय एक कोठामा बस्थ्यौँ । त्यसबेलाको विद्यार्थी आन्दोलनमा सोनाम साथी र गणेश पंडीत सँग चिनजान भएको थियो । प्रचण्डजी नरबहादुर दाईको घर नजिक बस्नु हुन्थ्यो । उहाँ पनि पाटन कलेज पढ्नु हुन्थ्यो । लीलामणि पोखरेल र तुलसीदास महर्जन लगायतका साथिहरु पनि त्यहि पढनुहुन्थ्यो । त्यसबेला म ने.क.पा पुष्पलाल सम्ूहमा लागि सकेको थिएँ ।
सोनाम साथी अति गोप्यतावादी सर्वहारा श्रमिक संगठनमा हुनुहुँदो रहेछ । हामीले एक अर्कालाई आफ्नो संगठनमा आउँन अनुरोध गरेका थियौँ । त्यसपछि छुट्टै कम्युनिष्ट समुहमा भएपनि जीवन पर्यन्त हामी आत्मीय साथी भयौँ । ०४६ सालको संयुक्त जन आन्दोलन होस् वा ०६२/६३ को जन आन्दोलन होस् हामी सँगै आन्दोलीत भएका थियौँ र नयाँ जनवादी क्रान्तीको कार्यभार नसकिएको र दलाल पुँजिवादको अन्त्य नगरी समाजवाद मा जान सकिन्न भन्ने मान्यतामा समेत हाम्रो एकमत थियो । माओवादी जनयुद्धलाइ कम्युनिष्ट आन्दोलनकै सम्पति मान्नेमा समेत हाम्रो समान नत थियो ।.
२०२५ सालमा क. पुष्पलाल लगायत अविभाजित तेस्रो महाधिवेशनका ५ जना सदस्यले तेश्रो सम्मेलन गरेर माओत्सेतुङ विचारधारा सहितको कम्युनिष्ट पार्टीको पुनर्गठन गर्नु भयो र त्यसले पारित गरेका नयाँ जनवादी कार्यक्रमलाई नेपालमा लागु नगरी नेपालको समृद्धि हुन्न भन्नेमा पनि हामी बिच सहमत थियो । ०६३ सालमा पुष्पलालको विचारलाई कम्युनिष्ट आन्दोलनका विभिन्न समुहमा पु¥याउने उद्देश्य र सके सबै समुहलाई उक्त कार्यक्रमलाई मानेर एउटै कम्युनिष्ट..बनाउने कुरालाई अगाडी बढाउन पुष्पलाल अध्ययन समाज गठन भएको थियो । त्यसको अध्यक्ष मलाई बनाईयो र त्यहाँदेखि आजसम्म …उहां. पुष्पलाल अध्ययन समाजका सल्लाहकार हुनुहुन्छ । त्यसको अलावा पूर्विय दर्शन र माक्र्सवादको विचमा……तादाम्यता … मिल्छ भन्ने कुरामा हामी एकमत थियौँ । त्यसले उहाँले माक्र्सवादी गुरुकुल गठन गर्नुभयो । उहां त्यसको अध्यक्षमा हुनुहुन्थ्यो । उक्त संस्थाको साधारण सभाले एउटा स्टेरिङ कमिटी समेत बनाएको थियो । त्यसको अध्यक्ष कृष्णदास श्रेष्ठ र सचिव गणेश पंडीत हुनुहुन्थ्यो । क. कृष्णदासको मृत्यु पश्चात् उक्त स्टेरिङ कमिटीको अध्यक्ष झलनाथ खनाल, सचिव महालक्ष्मी श्रेष्ठ र सदस्यमा म, स्वनाम साथी, पूर्णकुमारी सुवेदी, शारदरमण नेपाल, गोपाल शाक्य, सि.पी मैनाली, मोहन बैद्य, मोहन विक्रम सिंह, रामबहादुर भण्डारी, लोक नारायण सुवेदी, मुकुन्द आचार्य र किसन शर्मा लगायत छौँ । तर सोनाम साथी अब हुनहुन्न । तर उहाँ एउटा साँच्चै मनशा, वचसा, कर्मशा माक्र्सवादप्रति प्रतिबद्ध एउटा नेपाली किसान मजदुरको मुक्तिका लागि प्रतिवद्ध एउटा योद्धा हुनुहुन्थ्यो । उहाँ नेपाली सर्वहारा किसान, मजदुरका हृदयमा सधैँभरी बाँची रहनु हुनेछ ।
उहाँसँग एकपटकको रोचक अनुभव छ । दिलबहादुर श्रेष्ठ, देवेन्द्रलाल (काईलावा), अष्टमान महर्जन हुनु हुन्न । अष्टमान महर्जनको घरमा भएको एक भेटमा त्यसबेलाको कम्युनिष्ट समुहले एकले अर्कालाई हिलो छ्यापाछ्याप गर्नेहरु बिच त्यहाँ कम्युनिष्ट आन्दोलन र पुष्पलालबारे बहस भयो र पुष्पलाललाई कांग्रेस परस्त भन्ने आरोपका बारेमा छलफल हुँदा उक्त आरोप गलत हो र एकपटकमा एउटा मात्र मुख्य दुश्मन हुन्छ त्यसैले कांग्रेसलाई सँगै लानु पर्दछ भन्ने क.पुष्पलालको लाईन माक्र्सवाद सम्मत भएको कुरा सोनामजीले बलियो रुपमा राख्नुभएको थियो ।
सोनाम साथी अन्तर्राष्ट्रिय रुपमा माक्र्सका र राष्ट्रिय रुपमा पुष्पलालका असली साथी र अनुयायी हुनुहुन्थ्यो । कम्युनिष्ट पार्टीमा आएको दक्षिणपन्थी विचलनका विरुद्ध सदैव अडिग रहेर एक माक्र्सवादी खम्बाको निधन भएको छ । नेपाली जनताका असल सेवक र आन्दोलनका अगुवा नेता तथा योद्धाको अवसान साह्रै दुःखद् छ । पुष्पलाल अध्ययन समाज र मेरो तर्फबाट हार्दिक हार्दिक, हार्दिक श्रद्धाञ्जली । लालसलाम । सोनाम तिमिलाई ।
सच्चा देशभक्त, राष्ट्रवादी – प्रेमल कुमार खनाल
हार्दिक श्रद्धाञ्जली : कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी धारबाट अगाडि बढाउन अक्टोबर क्रान्तिको सन्देश प्रवाह गर्ने वैचारिक अभियन्ता, राष्ट्रियतामाथि गम्भीर चुनौती खडा भएको वेला सिमा नक्सा प्रकाशन र सिमा सुरक्षाको आन्दोलन, विदेशीहरुले जथाभावी नागरिकता पाउने गरि ऐन कानुन नियम बनाएर नेपालको जनसंख्या अतिक्रमण गरिरहेको वेला यसको विरोध गर्दै वास्तविक नेपालीले मात्रै नागरिकता पाउने आन्दोलन, विगतमा गरिएका असमान सन्धि सम्झौता लगायत एमसीसी जस्तो राष्ट्रघाती र सुरक्षामा गम्भीर आँच पुग्ने सम्झौता खारेजीको आन्दोलनमा जनस्तरबाट अगुवाइ गर्ने अथक सच्चा देशभक्त, राष्ट्रवादी र प्रगतिशील वामपन्थी व्यक्तित्व सोनाम दाइको दुखद निधनप्रति हार्दिक श्रद्धाञ्जली एवम् शोकसन्तप्त परिवार जनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
स्वनाम साथीको ‘एक मिनेट’ – गौरी प्रधान
धेरै चोटि भेट भयो । हरेक भेट स्मरणीय नै रहे । भेट हुन पूर्व पनि मेरा दाई, साथीहरु डा. भरत प्रधान, डा. सरोज धितालबाट उनको बारेमा अनेकन राम्रा कुराहरु सुन्थे । मान्छे आँखामा राखे पनि नबिझ्ने, बरु राखी रहौँ जस्तो ।
जीवनको अन्तिम दिनहरुमा उनीसंग भएका केही संवादहरु सम्झन्छु । उनको स्वास्थ्य अवस्था उतारचढाव भैरहन्थ्यो । उनलाई पछि पाटन अस्पतालबाट काटमाडौ मोडल अस्पतालमा स्थानान्तर गरियो । तर स्थिति बिग्री रहन्थ्यो । हाम्रा डाक्टरनर्सहरुले भरमग्दुर प्रयत्न जारी राख्थे । बेला बेला राम्रो संकेत पनि देखापथ्र्याे । अनि हामी कुरा गथ्र्याैं, स्वनामले यसपाली पनि जित्छ कि के हो ?!
उनी आईसियुमा रोगसँग लडिरहन्थे । हामी बाहिर उनको अवस्था कसरी सुधार्न सकिन्छ भनेर चिन्तित हुन्थ्यौँ । पछि उनको कानले सुन्न छाड्यो । एकदिन मैले एस.एम.एस सन्देश पाएँ । शिघ्र स्वास्थ्य लाभको अनि सफलताको । तुरुन्तै जवाफ आयो, किरणमार्फत, ‘धन्यवाद, गौरी’ भनेर ।
कोरोनाले छुन अगाडि, एकदिन दिउँसोको कुरा हो । उनी मेरो कार्यालय अगाडि अचानक झुल्के । म मिटिङ्गमा ब्यस्त भएको थाहा भएपछि, फोन गरे । अंग्रेजीमा बोले, ‘गौरी, आई नो यु आर भेरी बिजी, नाउ । मे आई ह्याब योर वन मिनेट टाइम, जस्ट वन मिनेट, प्लिज । म तिम्रै अफिस अगाडिको कोठामा छु ।’ तुरुन्तै म अर्को कोठामा गएँ । भेटेर न्यानो अभिवादन गरेँ ।
उनले, कुरा शुरु गरे । ‘गौरी, मलाई थाहा छ तिमीहरु निरन्तर काममा छौ । टेन्सनमा छौ । त्यसैले म एक मिनेटको योग सिकाउँछ, है ।’ म मिटिङ्गमा थिएँ । तर पनि स्वनामले मागेको एक मिनेट मैले कसरी हुन्न भन्न सक्थे र !
उनले मलाई भने, ‘आँखा बन्द गर । लामो श्वास फेर, अनि छोड ।’ मैले उनले भने जस्तै गरेँ । अब, तिम्रो श्वासलाई खुट्टाको बुढी औँलाको टुप्पोमा बिसाउ । बिस्तारै, बिस्तारै त्यो श्वासलाई आफ्नो नशामार्फत माथि तान्दै ल्याउ । तान्दै खुट्टामा, घुँडामा, कम्मरमा, फोक्सोमा, मुटुमा र घाँटीमा हुँदै मष्तिस्कमा पु¥याउ ।’ मैले एक आज्ञाकारी विद्यार्थीले जस्तै गरेँ । उनले भने, ‘अनि, फेरी लामो श्वास छोड ।’ अनौंठो महशुश भयो । आनन्द लाग्यो । फ्रेस भएँ जस्तो लाग्यो, एकै मिनेटमा ।
आजभोली हरेक दिन । काम गर्दा गर्दै थाकें भने स्वनामको एक मिनेट सम्झन्छु । कम्तिमा दिनको दुई तिन पटक ध्यान गर्छु, मात्र एक मिनेट । यो एक मिनेटको ध्यान गर्दागर्दै, हिजो राति स्वनामलाई गुमाएँ । हामी दुखित भयौँ । दुःख साटासाट गयौँ ।
स्वनामको जीवन साथी किरणलाई हार्दिक समवेदना ! किरण, सवल बन, स्वनामको सपनाको लागि । हामी सबै साथमा छौँ ।
अन्तमा, अलविदा, प्रिय स्वनाम ! तिम्रो एक मिनेटको निम्ति आभारी छु । साथी ! सम्झना सधैँ रहिरहने छ ।
पुस ११, २०७७ नेपाल ।
सर्बहारा बर्गको मनमा सधै बाची रहने व्यक्तित्व -प्रान्ति शेरचन

हार्दिक श्रद्धाञ्जलीँं
म्याग्दी जिल्ला तत्कालीन अर्मनर रातो ढुङ्गा क्षेत्रकै धनी मानी मा गनिने अर्मने साहु स्व. नयन्द्र प्रसाद शेरचनका छोरा बोडिङ स्कुलमा पढ्न २०१६ सालमा काठमाडौं आइ बिद्यार्थी जीवनमै अति गोप्य (पार्टीको नाम भन्न नपाइने) स्याम प्रसाद नेवार शर्मा जिको संगतमा २०२२ साल देखि बामपंथी राजनीतिमा लाग्नुभै, विभिन्न चरण पार गर्दै २०३४ सालमा सर्बहराबादि श्रमिक संगठन को महासचिवको जिम्मेवारी सम्हालेका सोनाम साथी चौम, एकता केन्द्र नेकपा (माओवादी), नेकपा, माक्र्सिय गुरुकुल तथा सिमा बचाऔ अभियानका राष्ट्रिय संयोजक, एक सच्चा कम्युनिस्ट बामपंथी नेता, नागरिक अभियन्ता (शशी शेरचन (सोनाम साथी)को ७० बर्षको उमेरमा मोडेल अस्पताल काठमाडौंमा उपचारको क्रम्मा दुःखद् निधन भएको छ ।
मेरा काका र चाचा शशी जि सँग २६ सालमा (अनेरास्वविय)प्रगतिशील विद्यार्थी युनियनको नाममा पर्चा पम्पलेत गरिन्थ्यो। मडले र प्रजातन्त्रबादी शक्ति सँग त्रिचन्द्र कलेजमा मुठभेड हुदा शशी जिले पुलिस तथा मण्डलेको अँखामा खुर्सानीको धुलोले हानेर वहाँ निकै चर्चामा आउनु भयो ।
२१–२२ सालमा ३ लाख लगानी गरेर सुन्दरी जल खानेपानी आयोजना निर्माण गर्ने, गाउँमा ६०० मुरि धान खेत, पसल आदि भएका, एउटा सम्पन्न थकाली परिबारमा जन्मेर, बोर्डिङ स्कुल हुँदै द्यकअ पढेको छोरा आफ्नो बाउको तम्सुक च्यातेर पैत्रिक सम्पती नलिइ पक्का सर्बहारा कम्युनिस्ट बन्न सक्नुमा नै वहाँको महानता हो । सर्बहारा बर्गको मनमा सधै बाची रहने व्यक्तित्व । परिबारमा उहाँको एक जीवन सङिनी किरण र दुई बहिनी रश्मि र ज्योती हुनुहुन्छ ।
हार्दिक श्रद्धाञ्जली
अल्बिदा चाचा श्री
यसको प्रायस्चित के हुन सक्छ?- अन्जना विशंखे
संसदीय राजनितीमा म कति चुर्लुम्म डुबेकी रहेछु । आज वल्ल महसुस भयो । सजब मेरो प्रीय कमरेड अगुवा माक्सवादी चिन्तक भाषण नगरिकन सकेसम्म ब्यवहारमा माक्सवाद त्यो पनि परम्परागत माक्सवाद होइन । दिमागमा (हिन्दु पितृसत्तात्मक र खिचडी सामन्तवाद र पुँजीवादको दिमागले) गतिशिल माक्सवादका चिन्तक स्वनामको भौतिक शरीर नरहेपछि चेत खुलेछ । यसको प्रायस्चित के हुन सक्छ??? खुट्टाउन सकेको छैन मैले ।
स्तब्ध भएको छु – साध्यबहादुर भण्डारी
नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका हस्ती, माक्र्सबादी ज्ञान दर्शनका बिख्यात ख्याति कमाउनु भएका विद्धान, ज्ञान क्षेत्रमा ख्याती, माक्र्सिय गुरुकुलका संस्थापक नेकपाका नेता, एक मुर्धन्री देशभक्त क. स्वानाम साथिको निधनको खबरले अत्यन्त मर्माहत र स्तब्ध भएको छु । लामो समय पुर्व सर्बहाराबादी श्रमिक सङ्गठनदेखिको पारिवारिक सम्बन्धका कारणले हाम्रो परिवार समेत मर्माहत भएको छ । उहाँप्रती हार्दिक श्रद्धान्जली र उहाँकी बैनी, जीवन साथी किरण लगायत सबै परिवारजन र शोकाकुल सबैमा हार्दिक समबेदना ।

एउटा मौलो भाँचियो – मातृका पोखरेल
तपाईंको निधनले नेपालको प्रतिरोधी चेतना र सँस्कृति निर्माणको अभियानमा पुरणीय क्षति भएको छ । हामीले एउटा मौलो भाँचिएको महसुस गरेका छौँ । अब भेट हुनेछैन । तर हाम्रा माझमा तपाईंको सम्झना जीवनपर्यन्त रहिरहनेछ । अल विदा प्यारे, स्वनाम दाइ अल विदा ।
मेरो आदर्श र प्रिय मान्छे– सीता पोखरेल
क. माओको जन्मदिनमा क. सोनाम साथिको अन्त्यस्टी !!!
कहाँबाट सुरु गरुँ सोनाम दाइ, दुई दिनसम्म कलम उठाउनै सकिन । धेरै मन छ लेख्न तर गाह्रो भएको छ दाइ । २५÷३० वर्ष भएछ तपाईंको पदचाप पछयाएर हिडेको पनि, तर अझै पूरा भएको छैन त्यो बर्गिय मुक्ति । दाइ तपाईं हस्पिटलको बेडमा अचेत भएकै बेला फेरि यो देशमा प्रतिगमन सुरु भएको छ । तपाईंको अभाब छ हामीलाई ।
तपाईंको क्षमता, दुरदर्शिता, असीमित ज्ञान, सरलता, मिलनसारता कसरी व्यक्त गरौँ । म त्यो तपाइको मधुर मुस्कानसहितको न्यानोपन ।
जब पार्टी कामबाट निरास, थकान अनि अन्न्योल हन्दा तपाईसन्ग भेटेपछि को आनन्द…. ! स्पष्टता सहितको सकारात्मक उर्जा दिनुहुन्थ्यो ।
मेरो आदर्श र प्रिय मान्छे ! अब त्यो अभाव कसरी पूर्ती हुन्छ ? हामीलाई तपाईंको अभाब पलपलमा खड्किरहने छ । कत्ती पनि मन छैन अलबिदा भन्न, अहँ मन छैन । सधै भन्नू हुन्थ्यो ‘मन लागेको मात्र गर्नु’ तर आज मन नलागेको कुरा भन्नू पर्याे सोनाम दाइ । तपाईंको भौतिक शरीरलाई अलबिदा ! तपाईंको त्यो साम्यबादी बिचारलाई आत्मसात गर्नेछौ । हार्दिक श्रद्धाञ्जली ! किरण जि प्रति गहिरो समबेदना !
तिमी बारेका स्मृति गाथाहरू लेखिने नै छन्-शरद पोखरेल
विगत ४० वर्षको सहयात्रामा सँगसँगै धेरैपटक रोयौँ, धेरै पटक हाँस्यौं । कहिले अभिभावक जस्तो, कहिले साथी जस्तो, कहिले काखमा खेलिरहेको बाला जस्तो ! अबोध जस्तो, दृढ निश्चयी जस्तो, सरल जस्तो, जटिल जस्तो, गुरु जस्तो, शिष्य जस्तो, योगी ध्यानी र आध्यात्मिक हो कि जस्तो, भौतिकवादी द्वन्द्ववादका प्रखर व्याख्याता जस्तो, तिमीसँगको मित्रताको जीवनका यी चार दशकलाई फर्केर हेर्दा तिमीलाई सम्झिरहेछु अनेक भावमा, भङ्गीमामा । तर, अब सबै केवल स्मृति न हो, न त अब तिमिसंसगै रून पाईनेछ, न त हाँस्न नै ! हामीले थालेका केही कामहरू यद्यपि अधुरै छन् साथी । भन्न सक्दिन, तिम्रो नेतृत्व अभावमा तिनको गति के हुने हो ? आदरणीय साथी स्वनाम, मन दरो भएपछि तिमी बारेका स्मृति गाथाहरू लेखिने नै छन् । आजको यो क्षणमा भने यतिमात्र भनें( अलविदा साथी ! स्वनाम साथी । प्रिय बहिनी किरण, ज्योति र दिदीहरूमा समवेदना !
उहाँको आदर्श पछ्याउने कम्युनिस्ट पार्टी चाहिएको छ – चेतना रेग्मी
पदप्रतिष्ठा युक्त कम्युनिष्ट पार्टीका नेताहरुका घरनिवासमा भेट्न जाँदा पुरै औपचारिक डरलाग्दा र भेट्न पनि एवनर्मल हुनुपर्ने जस्तो फर्मल रुममा कुर्नु पर्ने २/३ घण्टा तर दुई कुरा राखौं भन्दा समयको सिमा लगाउने र अरुको कुरा सुन्दै नसुन्ने, बाहिर निस्किँदा बिरक्त लाग्ने ।
तर, सोनाम साथी कहाँ भेट्न जाँदा पारिवारिक बाताबरण र घरमा पाकेको जे छ सजिलैसंगै बसेर गफ गर्दै रमाइलो गरी सकेसम्म नखाई आउन नदिने ।
बा जस्तो लाग्ने कम्युनिस्ट नेता जसले रोगसँग लड्दै आज संसार छोड्नु पर्याे । उहाँको आदर्श पछ्याउने कम्युनिस्ट पार्टी चाहिएको छ आम गरिखाने बर्गलाई । राज्यलाई सम्पन्न बनाउने चित्र थियो कमरेड स्वनामसँग ।
तर सुन्न कसलाई पो फुर्सद थियो र । अधुरै रह्यो । सर्वहारावर्गिय पक्षधरले तपाईलाई बिर्सिने छैनन् । भावपूर्ण श्रद्धान्जली ! लालसलाम र सम्मान छ तपाईप्रति !
अलविदा आदरणीय गरिखानेका मित्र – यादव देवकोटा
प्रिय स्वनाम दाई !
हामी भेटिएका रहेछौं ०६० सालमा । त्यसयताको दिनका कति सम्झना मुटुभरी छन् के हिसाब !
भर्खरै शान्तिप्रक्रिया शुरु भएपछि विप्लव मनमैजुमा डेरा लिएर बस्नुभएको समय थियो । त्यहाँ तपाइँ, विप्लव दाई र मैले झण्डै ३ घण्टा कुरा गरेर विप्लब दाईको डेरामा ढिंडो खाएर फर्किएका थियौं ।
कुराकानीको क्रममा वलिदानको सन्दर्भमा विप्लव भावुक भएपछि तपाईंले भन्नुभएको थियो ‘साथी हामी कति बाँच्ने होइन, कसका लागि, के का लागि बाँच्ने र कति मानिसको मनमा बाँच्ने भन्ने मुख्य कुरा हो ।’
स्वनाम दाई !
तपाईंले सिँगै जिन्दगी गरिखाने वर्गका मानिसहरूको पक्षमा निर्भिकतापूर्वक, शालिनताकासाथ बाँच्नु भयो । हामी जस्ता अगणित मानिसहरुको मुटुमा प्रेमपूर्वक बाँच्नुभयो । बाँचिरहनु हुनेछ ।
तपाईंको महाप्रस्थानको खबर जति अपत्यारिलो छ, उत्तिकै पीडादायी र स्तब्ध बनाउने ।
तपाईंप्रति सधैं सधैं सम्झना र सम्मान ! किरणजी र हामी सबै स्वनामका स्नेहीहरुप्रति समवेदना ।
अलविदा आदरणीय गरिखानेका मित्र !
कालापानी, लिम्पियाधुराको अधुरो सपना हामी पूरा गर्नेछौं – एनी कुँवर वाला
हाम्रो सिद्धान्त अलग थियो तर गन्तव्य एउटै कालापानी, लिपुलेख ! छोटो समयमा उहाँबाट धेरै कुरा सिक्न पाएको थिएँ । उमेरले बृद्ध भए पनि जोस युवा जस्तो मैले उहाँ लाई सर भनी बोलाउदा उहाँ भनुहुन्थ्यो मलाई दाई भन्नुहोस दाई भनी बोलाउँदा म आफुलाई युवा तपाईंहरुजस्तै फुर्तिलो युवा अहिले पनि छु भन्ने महसुस गर्दछु । र कालापानी लिपुलेकको अभियानमा तपाईहरु जस्तै जोश र जागरले अभियानलाई साथ दिने छु भनेर । हदसम्म नक्सा त छापीयो तर लिपुलेख, कालापानीको लडाई बाकिँ नै छोडेर आज उहाँ हामीलाई छोडेर जानुभयो । आफ्नो,आफन्त अन्यको को मृत्युबाट अब म पनि के कुरामा जीवनसँग सहमत भएको छु भन्ने जीवनको अन्तिम सत्य मृत्यु हो र यस्लाई स्विकार गर्नु पर्छ मृत्यु सबैले एकदिन भोग्ने परिस्थिति हो भनेर । dear comrade सोनम साथी दाजु ! हजुरको आत्माशान्तिको कामना गर्दछु आशा गरौ कालापानी, लिम्पियाधुराको अधुरो सपना हामी पूरा गर्नेछौं ।
तपाईंको शक्तिशाली चेतना उर्जा अनुभुत गरिरहन पाउँ – मनोज गजुरेल
‘स्वनाम साथी’ अर्थात् क. शशी शेरचन । एक शुद्ध र सादगी नेता । त्यो भन्दा बढी एक फकड ‘समाजवादी साधक’ । ‘ध्यान योग आरोग्य साधना केन्द्र’ तथा नेपाल सरकारको ‘ध्यान योग प्रोटोकल कार्यदल २०२०’ का संयोजक । कोरोनाको कारण अस्पताल भर्ना हुनुअघि फोनबाटै सरल साधना र सहजयोगको शिक्षा दिदै हुनुहुन्थ्यो । ती नमनीय व्यक्तित्वले सधैंका लागि शरीर छोड्नु भएको छ ।
‘स्वनाम साथी’ गुरु, तपाईंको शक्तिशाली चेतना उर्जा अनुभुत गरिरहन पाउँ । यहाँको भौतिक शरीरप्रती श्रद्धा सुमन ।
जीवन भर भुल्नै नसकिने शिक्षा प्राप्त भए- बिन्दु सापकोटा
“मैले धेरै अगाडीदेखि नाम सुनी रहेर पनि भेटघाट भएर प्रत्येक्ष भलाकुसारी हुने अबसर गत ०७६ फागुनमा संपन्न प्रथम कर्णाली अर्गानिक सम्मेलन सुर्खेतमा २-३ दिन जुरेको थियो जुन भेटघाट पहिलो र अन्तिम नै हुन पुग्यो । सच्चा मनले भन्नू पर्दा एउटा वामपन्थी राजनीतिमा लागेको मानिसबाट पनि राजनीति भन्दा माथी उठेर विश्व कर्पोरेट पूँजीवादी प्रणालीको बिरुद्ध त्यस बखत जे जस्ता बिचार, मार्गदर्शन र जीवनोपयोगी शिक्षाहरु प्राप्त भए त्यसबाट म अत्यन्तै प्रभावित भएको थिए र त्यस पछि पनि उहाँसंगका हरेकपलहरू चाहे त्यो MCC को सन्दर्भमा होस, चाहे सिमा बचाउ आन्दोलनको सन्दर्भमा होस, चाहे प्रकृति-मानव केन्द्रित जन अभियानकै सन्दर्भमा होस या जैविक अभियानको सन्दर्भमा होस र चाहे पछिल्लो सञ्जीवनी समूह मार्फतको बहश कार्यक्रमको दौरान होस हरेक क्षणहरु अविष्मरणिय नै रहे, जीवन भर भुल्नै नसकिने शिक्षा प्राप्त भए ।
लामो समय बिमारी भएर कोभिडलाई परास्त गरेर पनि निमोनियाका कारण एक्कासी मृत्युको दु:खद खवरले मर्माहत बनाएको छ ।
अब उहाँका आदर्श, मूल्य मान्यता र बिचारहरुलाई सम्झना गर्दै जति सक्दो जीवनोपयोगी शिक्षालाई आफ्नो जीवनमा लागू गर्ने प्रण गर्दछु । हमीले उहाँका शिक्षाहरुलाई आफ्नो जीवनमा लागू गर्न सक्यौ भने त्यहि नै उहाँ प्रतिको सच्चा श्रद्धाञ्जली हो भन्दै उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछु साथै उहाँको जीवन साथी लगायत शोकसन्तप्त परिवार जन र मर्माहित संपूर्ण जनमा हार्दिक समबेदना प्रकट गर्दछु ।
अलविदा आदर्णिय स्वनाम दाई !!”
वि.सं.२०७७ पुस १३ सोमवार १०:१२ मा प्रकाशित




























