कम्युनिष्ट नेता तथा कार्यकर्ताको विवाह कस्तो हुन्छ ? दुईवटा फूलको माला, रातो अविर अनि सदैव देश र जनतामा समर्पित हुने र परि आएमा दम्पतीको जीवन नै क्रान्तिका लागि अर्पण गर्ने अग्रज सामु गरेको प्रतिबद्दता ।
तर, लामो समयसम्म आफूलाई कम्युनिष्ट भनेर राजनीति गर्दै आएका र एउटा प्रदेशको मुख्यमन्त्री समेत सम्हालेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विवाहमा देखिएको उनको शाहि शैलीको विवाहले सामाजिक संजाल लगायतमा निकै नै चर्चा कमाएको छ । साथै मुख्यमन्त्रीको कार्यकाल सकेपछि उनले बाँकी जीवन राजनीतिमा नै लगाउँलान कि पत्नीसँगै मोडलिङमा लाग्लान् भन्ने व्यंङ्ग पनि उनीमाथि गरेको पाइन्छ ।
बिहे हुनुभन्दा अघिल्लो दिन राजधानीको कुनै मसाज सेन्टरमा पुगेर उनले तीन–चारजना व्युटिशियनबाट हातखुट्टाका नङहरु सफा गराएको तथा मसाज गराएको भिडियो अहिले निकै चर्चामा आएको छ । कम्युनिष्ट स्कुलिङबाट आएका राईको यो भिडियोले कम्युनिष्ट आचरणविस्द्ध गरेका हर्कत भनेर आलोचना समेत गरिएको छ भने केहीले मान–सम्मान, पैसा र पावर भएपछि मानिसले आफ्नो अतित, विचार, सिद्धान्त र आचरण भुल्दो रहेछ भन्ने प्रमाण शेरधन हुन् भनेर आलोचना समेत गरिएको छ ।
त्यस्तै बिहे अघि र पछि उनले पत्नी जाङमुसँग गरेका फोटोशुट र भिडियोमा उनी कुनै प्रदेशका जनताको अभिभावक कम र कुनै फिल्मको हिरोको रुपमा बढी देखिएका छन् ।
आफनै पार्टी (नेकपा) भित्र देखिएको तिब्र विवाद, आफूमाथि ल्याइएको अविश्वासको प्रस्ताव लगायतका विभिन्न झमेलाहरुलाई छिचोल्दै मुख्यमन्त्री राईले माघ ११ गते साहि ठाँटबाटमा मोडल जाङमु शेर्पासँग बिहे गरेका छन् । उनै जाङमुले आफ्नो अफिसियल युट्युवमा ‘चोखो मायामा कुनैपनि बन्धन हुँदैनन्’ भनेर भिडियो अपलोड गरेकी छन् ।
वि.सं.२०७७ माघ १८ आइतवार १५:२९ मा प्रकाशित






























