back
CTIZAN AD

यी हुन् विश्वकपका नयाँ टिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार

402 

shares

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२ बाट बढाएर ४८ पु¥याइँदा यसपाली ४ नयाँ टिमले पहिलो पटक सहभागिता जनाउने पक्का गरेका छन् ।

अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रुपमा आयोजना गर्न लागेको विश्वकपमार्फत प्रतियोगितामा ‘डेब्यु’ जनाउने तयारीमा रहेका टिम हुन्, केप भेर्डे, उज्वेकिस्तान, कुराकाओ र जोर्डन ।

विश्वकपको ९६ वर्ष र २२ संस्करणको इतिहासमा अहिलेसम्म ८० देशले यो प्रतियोगिता खेलिसकेका थिए । यसपालीबाट यी ४ टिम थपिएसँगै त्यो संख्या ८४ पुग्ने भएको छ ।

प्रतियोगिता मुखैमा आइपुग्दा हामीले चार नयाँ टोलीको फुटबल परिचय खोज्ने प्रयास गरेका छौं ।

केप भेर्डे
सहारा मरुभुमिभन्दा दक्षिणी भागमा लगभग साढे दुई लाख जनसंख्या र ४ हजार बर्गकिलोमिटर क्षेत्रफल रहेका ससाना टापुहरुको एउटा सानो देश केप भेर्डे इतिहासकै सबभन्दा ठूलो फिफा विश्वकपलाई छानिनु आफैमा उनीहरुका लागि एउटा ठूलो उपलब्धि हो ।

सन् १९७५ मा स्वतन्त्र राष्ट्रको हैसियत पाएको टोलीले तीन वर्षपछि अन्तर्राष्ट्रिय फुटबलको यात्रा सुरु गरेको थियो । तर फुटबलको निक्कै संवृद्ध संस्कार भएको एउटा अफ्रिकी देश हुनाको नाताले केप भेर्डेसँग अन्तर्राष्ट्रिय स्तरमा प्रभाव छोड्ने क्षमता चाँही सधै थियो ।

बुबिस्टा उपनामले परिचित प्रशिक्षक पेड्रो लेइटाओ ब्रिटोको नेतृत्वले पछिल्लो समय त्यहाँको फुटबल संस्कारलाई सही आकार दिँदा यो सानो देशले विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा पहिलो पटक उपस्थिती जनाएको हो । छनोट चरणमा एकरुपको प्रदर्शन र हार नखाने खालको मानसिकता प्रस्तुत गरेर यो सानो अफ्रिकी देशले उत्तर अमेरिकाको टिकट काट्न सफल भएको थियो ।

४६ वर्षदेखि निरन्तर अन्तर्राष्ट्रिय फुटबलको मञ्चमा आफूलाई प्रस्तुत गर्दै आएको केप भेर्डेले यसअघि पनि फिफा विश्वकपमा छनोटको प्रयास गरेको थियो । तर सफल भएको भने यसपाली पहिलो पटक हो । चार वर्षअघि कतार विश्वकपका लागि पनि केप भेर्डेले अन्तिम समयसम्म छनोट प्रतियोगितामा प्रयास गरेको थियो । तर अफ्रिकी फुटबलको महारथी नाइजेरिरयासँग समूह चरणको अन्तिम खेलमा १–१ को बराबरीमा सीमित भएपछि टोलीको पहिलो विश्वकप खेल्ने लक्ष्य कम्तिमा चार वर्षका लागि पछि धकेलिएको थियो ।

त्यतिबेला निक्कै मेहनत गर्नाका बावजुद आफ्नो देशलाई कतारको लायक बनाउन असफल रहेका कप्तान रायन मेन्डेस, गोलकिपर भेजिन्हा र रक्षक लोबर्टो लोपेजजस्ता खेलाडीको समूहले यसपाली भने पूरा देशले लामो समयदेखि गरेको प्रतिक्षामा पूर्णविराम लगाइछाडे ।

बुबिस्टा केप भेर्डेका पूर्व राष्ट्रिय खेलाडी हुन् । उनले खेलाडीको रुपमा स्पेन, पोर्चुगल र अंगोलाका क्लबहरुबाट व्यावसायिक फुटबल खेले । सन् २०२० देखि केप भेर्डेको मुख्य प्रशिक्षकको रुपमा जिम्मेवारी लिएका बुबिस्टाले भेजिन्हा, मेन्डेस, लोपेज र स्ट्राइकर डेलोन लिभ्रामेन्टोजस्ता खेलाडीहरुको समूहलाई विश्वस्तरमा प्रतिस्पर्धाका लागि सक्षम बनाए । त्यसैको परिणामस्वरुप टोली अहिले विश्वकपमा छ ।

घरेलु मैदानमा निक्कै उत्कृष्ट फर्मलाई कायम राख्ने क्रममा केप भेर्डेले घरमा खेलेका सबै ५ खेलमा जित हासिल गरेको थियो । त्यसक्रममा टोलीले एउटा गोल पनि खाएको थिएन । केप भेर्डे पहिलो पटक विश्वकपलाई छनोट हुनुमा घरेलु मेदानमा खेलेका तिनै खेलको भूमिका सबभन्दा बढि थियो । एकै गोल नखाई ५ खेलमा सबै जित हासिल गर्दै विश्वकपलाई छनोट भयो ।

विश्वकप छनोट प्रतियोगितामा केप भेर्डेले आफ्नो समूहमा क्यामरुन जस्तो महारथी र अंगोलाजस्तो बलियो टिमलाई पछि पारेको थियो । केप भेर्डे विजेताका रुपमा अगाडि बढ्दा ४ अंकले पछि परेको क्यामरुन समूहको उपविजेतामा सीमित भएको थियो । केप भेर्डे फिफा विश्व वरियताको ६७औं स्थानमा छ ।

जुन १५ मा स्पेनसँग खेल्दै विश्वकपमा पहिलो पाइला राख्ने केप भेर्डेले समूह ‘एच’ को दोस्रो खेल उरुग्वेसँग जुन २२ मा तथा अन्तिम खेल जुन २७ मा साउदी अरेबियासँग खेल्नेछ ।

उज्वेकिस्तान
पूर्व सोभियत संघबाट स्वतन्त्र भएको ३६ वर्षमा ७ पटकको प्रयासपछि उज्वेकिस्तानले फिफा विश्वकप खेल्ने गन्तव्य अन्तत हासिल गरेको छ । विश्वकप २०२६ मा सहभागी हुने ४८ मध्ये ४ नयाँ टिममा उज्वेकिस्तान एक हो ।

पछिल्ला संस्करणहरुमा राम्रो प्रदर्शनका बावजुद भाग्यबाट ठगिँदै आएको उज्वेकिस्तानलाई विश्वकप खेल्ने सपना पूरा गर्न यसपाली प्रतियोगिताको आकार ३२ बाट बढाएर ४८ पुर्याउने फिफाको निर्णयले पनि फाइदा पुग्यो । तथापि टोलीले आफ्नो सपना साकार पार्नका लागि एसियाली छनोटको दोस्रो र तेस्रो चरणमा एकरुपको उच्च प्रदर्शन गरेको थियो ।
दोस्रो चरणमा इरान, तुर्कमेनिस्तान र हङकङ रहेको समूहमा ६ खेलमा ४ जित हासिल गर्दै गोलअन्तरमा मात्र इरानभन्दा पछाडि रहेर उपविजेताका रुपमा उज्वेकिस्तान तेस्रो चरणका लागि छानिएको थियो । तेस्रो चरणमा पनि मध्य एसियाली टोलीको लय कायम रहयो । जहाँ समूह ‘ए’ बाट १० खेलमा ६ जित, ३ बराबरी र १ हारको नतिजा निकाल्दै उपविजेता भएर टोली सोझै विश्वकपलाई छानियो । टोलीले भोगेको एकमात्र हार कतारविरुद्ध थियो । युएईसँग अबुधाबीमा खेलेको बराबरीले टोलीको उत्तर अमेरिकाको टिकट पक्का भएको थियो ।

तेस्रो चरणमा पनि उज्वेकिस्तान उपविजेता हुँदा समूहबाट इरान विजेता बनेको थियो । तेस्रो चरणमा उज्वेकिस्तान रहेको समूहमा युएई, कतार, किर्गिस्तान र उत्तर कोरिया पनि थिए । यसअघि अवे गोल पद्धतिमा बहराइनसँग पराजित हुँदा विश्वकप २००६ को एसियाली छनोटको पाँचौं चरणमा टोली निराश बन्नुपरेको थियो । त्यो खेल उज्वेकिस्तानका लागि यसकारण पनि थप पीडादायी छ की, टोलीले जितिसकेको खेल रेफ्रीको गल्तीका कारण पुनः खेलाइँदा मध्य एसियाली देश निराश बन्नुपरेको थियो ।

त्यसको ८ वर्षपछि फेरि उज्वेकिस्तान एसियाली छनोटको पाँचौं चरणमा त्यसैगरि निराश बन्नुपरेको थियो । जोर्डनविरुद्ध दुवै लेगको खेलमा बराबरी नतिजा भएपछि पेनाल्टी सुटआउटमा पराजित हुँदा टोली अन्तरमहादेशीय प्लेअफलाई छानिनबाट बञ्चित भएको थियो ।

तर पहिलो ९ प्रयास असफल भए पनि यसपाली विश्वकपलाई छनोट गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका सेर्भर डिजापारोभ, ओडिल अहमेडोभ र इग्नाटी नेस्टेरोभजस्ता खेलाडीहरुको समूहले उत्तर अमेरिकामा पनि उज्वेक टिमका लागि स्मरणीय प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

फिफा विश्व वरियताको ५० औं स्थानमा रहेको उज्वेकिस्तानका मुख्य प्रशिक्षक सन् २००६ मा इटालीलाई विश्वकप जिताउने कप्तान फाबियो कानाभारो हुन् ।

उज्वेकिस्तानको पहिलो विश्वकप यात्रा समूह ‘के’ मा जुन १८ मा कोलम्बियाविरुद्धको खेलसँग सुरु हुनेछ । टोलीले समूहको दोस्रो खेलमा जुन २३ मा क्रिस्टियानो रोनाल्डोको पोर्चुगल तथा अन्तिम खेलमा जुन २८ मा कंगोसँग प्रतिस्पर्धा गर्नेछ ।

कुराकाओ
विश्वकप २०२६ मा सहभागिता जनाउने तयारीमा रहेका ४८ देशमध्ये कुराकाओ जनसंख्या र क्षेत्रफल दुवै हिसावले सबभन्दा सानो राष्ट्र हो । मात्र १ लाख ५० हजार जनसंख्या तथा २७६ बर्गकिलोमिटर क्षेत्रफल भएको देश विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितालाई छानिनु आफैमा ठूलो उपलब्धिमुलक सफलता हो ।

कन्काकाफ छनोट प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा किङस्टनमा जमैकासँग गोलरहित बराबरी नतिजा निकालेपछि कुराकाओले समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै फिफा विश्वकपको टिकट पक्का गरेको थियो ।

नेदरल्यान्ड्सको पूर्व उपनिवेश भएको नाताले कुराकाओको टोलीमा धेरैजसो डच मुलका खेलाडीको बाहुल्य छ । नेदरल्यान्ड्समा जन्मेहुर्केका वा त्यहाँबाटै फुटबल करियर अघि बढाएका खेलाडीको बाहुल्य रहेको कुराकाओ सन् २०११ मा मात्र नेदरल्यान्ड्सबाट स्वतन्त्र भएको थियो ।

फिफा विश्व वरियताको ८२ औं स्थानमा रहेको कुराकाओका प्रशिक्षक पनि नेदरल्यान्ड्सकै डिक एड्भोकेट हुन् । कन्काकाफ छनोटको तेस्रो चरणमा जमैका, ट्रिनिडाड एन्ड टोबागो र बर्मुडा रहेको समूहका ६ मध्ये ३ खेलमा जित र ३ बराबरी नतिजा निकाल्दै कुराकाओ शीर्ष स्थानमा रहेर विश्वकपलाई छानिएको थियो । ३ जित, २ बराबरी र १ हार भोगेको जमैका अन्तरमहादेशीय प्लेअफमा धकेलिएको थियो ।

कुराकाओले पहिलो पटक सन् २०१४ को विश्वकपका लागि छनोट प्रतियोगिता खेलेको थियो ।
समूह ‘इ’ मा परेको कुराकाओले विश्वकपको पहिलो खेल जर्मनीसँग जुन १४ मा खेल्नेछ । टोलीको दोस्रो खेल इक्वेडरविरुद्ध जुन २१ तथा तेस्रो खेल आइभोरी कोष्टसँग जुन २६ मा रहेका छन् ।

जोर्डन
सन् १९८६ को विश्वकपदेखि नियमित रुपमा छनोट प्रतियोगितामा सहभागिता जनाउँदै आए पनि मध्यपूर्वको देश जोर्डनले विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता खेल्ने सौभाग्य यसअघि कहिल्यै पाउन सकेको थिएन । तर गतवर्ष जुन ५ मा ओमानमाथि ३–० को जित हासिल गरेपछि भने टोलीले पहिलो पटक विश्वकप खेल्ने पक्का गर्यो ।

विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणमा समूह ‘जी’ मा साउदी अरेबिया, ताजिकिस्तान रा पाकिस्तानलाई पछि पार्दै विजेताका रुपमा अगाडि बढेको टोलीले तेस्रो चरणमा पनि त्यही लय कायम राख्न सफल भएको थियो ।
तेस्रो चरणको समूह ‘बी’ मा परेको टोली उपविजेता बन्दै सोझै विश्वकपलाई छानिएको थियो । दक्षिण कोरिया १० खेलमा ६ जित र ४ बराबरी नतिजासहित विजेता बनेको समूहमा जोर्डनले ४ जित, ४ बराबरी र २ हारको नतिजा निकालेको थियो । त्यही समूहमा तेस्रो भएको इराकले पाँचौं चरणमा युएईलाई दुई लेगको प्रतिस्पर्धामा ३–२ ले हराउँदै अन्तरमहादेशीय प्लेअफमा बोलिभियालाई निराश पारेर उत्तर अमेरिकाको टिकट काटेको थियो । उक्त समूहमा ओमान, प्यालेस्टाइन र कुवेतको पनि चुनौती थियो ।

फिफा विश्व वरियताको ६३ औं स्थानमा रहेको जोर्डनले समूह ‘जे’ मा जुन १ मा अस्ट्रियासँग खेल्दै विश्वकपको यात्रा थाल्नेछ । समूहको दोस्रो खेलमा टोलीले जुन २२ मा ६ अल्जेरिया तथा अन्तिम खेलमा जुन २७ मा साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।

 

वि.सं.२०८३ जेठ २९ शुक्रवार ०९:१० मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...