काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः विद्युत् नियमन आयोगको अध्यक्षमा नियुक्त भएका छन्। सरकारले खुला प्रतिस्पर्धाबाट छनोट गर्दै उनलाई दोस्रो कार्यकालका लागि आयोगको नेतृत्वको जिम्मेवारी दिएको हो।
नवीकरणीय ऊर्जा, विद्युत् नियमन तथा ऊर्जा नीतिको क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव हासिल गरेका धिताल यसअघि पनि आयोगको अध्यक्षका रूपमा कार्यरत थिए। उनी सार्वजनिक पदाधिकारी हटाउने सम्बन्धी विशेष व्यवस्थाअन्तर्गत पदमुक्त भएपछि आयोगको अध्यक्ष पद रिक्त भएको थियो। त्यसपछि सरकारले खुला आवेदन आह्वान गरेको थियो, जसमा १० जनाले आवेदन दिएका थिए। अन्ततः प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट धिताल पुनः अध्यक्षमा नियुक्त भएका हुन्।
डा. धितालले यसअघि आयोगको नेतृत्व सम्हाल्दै विद्युत् महसुल निर्धारण, नियामकीय सुधार, निजी क्षेत्रको सहभागिता विस्तार, प्रसारण तथा वितरण प्रणालीमा प्रतिस्पर्धा प्रवर्द्धन र विद्युत् बजारको आधुनिकीकरणका विषयमा काम गरेका थिए। उनले आयोगको संस्थागत क्षमता अभिवृद्धि तथा डिजिटल प्रणालीमार्फत सेवा प्रवाहलाई समेत प्राथमिकता दिएका थिए।
यसअघि उनी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक, एसियाली विकास बैंकमा नियामकीय विशेषज्ञ तथा राष्ट्रिय सौर्य ऊर्जा संयोजकका रूपमा समेत कार्यरत थिए। साथै, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र अन्य अन्तर्राष्ट्रिय संस्थासँग ऊर्जा क्षेत्रका विभिन्न परियोजनामा पनि उनले काम गरिसकेका छन्।
वि.सं.२०८३ साउन ७ बिहीवार १९:५८ मा प्रकाशित






























