चैत १, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकले एमाले प्रवेश गरेका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आइतबार बसेको बैठकले स्थायी समितिको निर्णयअनुसार स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
‘कतिपय कमरेडहरु अर्को पार्टीमा रहनुभएको भन्ने सार्वजनिक सूचना प्राप्त भएको छ’, बैठक पछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका छन्, ‘अर्को पार्टीमा भएको हो होइन् स्पष्टीकरण माग्ने निर्णय केन्द्रीय कमिटीले पनि औपचारिक रुपमा गरेको छ ।
उनका अनुसार यसअघि स्थायी समितिको निर्णयबमोजिम नै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको छ । श्रेष्ठले बताएअनुसार सरकारमा सहभागी मन्त्री र सरकारबारेको निर्णय सोमबार पुनः बस्ने केन्द्र्रीय कमिटीले निर्णय गर्न सक्नेछ ।
यसअघि शनिबार बसेको स्थायी समिति बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई कित्ता स्पष्ट पार्न २४ घण्टे अल्टिमेटम दिएको थियो ।
यसैबीच माओवादी केन्द्रको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयले प्रवेश नपाएको पाईएको छ । प्रवक्ता श्रेष्ठका अनुसार सरकारबारे छलफल जारी छ ।
वि.सं.२०७७ चैत १ आइतवार १६:१६ मा प्रकाशित






























