११ जेठ, काठमाडौँ । अध्यादेशमार्फत ल्याइएको नागरिकता सम्बन्धमा गैरआवासीय नेपाली संघ(एनआरएनए)ले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका प्रवक्ता डिबी क्षेत्रीद्वारा जारी विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको नागरिकतासम्बन्धी अध्यादेशमा विगत लामो समयदेखि नै गैरआवासीय नेपाली संघले माग गर्दै आएको गैरआवासीय नेपाली नागरिकताका विषयमा अध्यादेश मौन रहेकोमा गम्भिर ध्यानार्षण भएको जनाइएको छ ।
संघले गैरआवासीय नेपालीहरुको माग सम्बोधनका लागि सरकारसँग आग्रहसमेत गरेको छ ।
देशमा फैलिरहेको कोरोना महामारीमा संस्थाले गरेका कार्यहरुका बारेमा जानकारी गराइएको छ । विज्ञप्तिमा नेपाल सरकारले स्वास्थ्य सुरक्षाका लागि भन्दै जारी गरेको आन्तरिकसहित अन्तर्राष्ट्रिय उडान स्थगन गरेका विभिन्न मध्यपूर्वी मुलुकमा कार्यरत नेपाली श्रमिक, विभिन्न अत्यावश्यक कामकाजका लागि नेपाल आउन आवश्यक भएका र विभिन्न कामका शिलशिलामा नेपालमा गएर कर्मभूमि फर्कन नपाएका गैरआवासीय नेपालीहरु समस्यामा परेका उल्लेख गर्दै अन्तर्राष्ट्रिय उडानलाई स्वास्थ्य सुरक्षाका प्रोटोकल अपनाउने शर्तमा तत्काल खुला गर्न आग्रह समेत गरिएको छ ।
यस्तो छ विज्ञप्तिको पूर्ण पाठ :
वैश्विक रुपमा फैलिएको कोरोना महामारीको चपेटामा नेपाल गाँजिदै गएको छ । जसका कारण विदेशस्थित गैरआवासीय नेपालीहरु अत्यन्त चिन्तित छन् । अस्पतालमा अत्यावश्यक स्वास्थ्य सामाग्रीसहित प्राणवायु अक्सिजनको अभाव, अस्पतालमा बेड अभाव लगायतका पीडादायी परिस्थितिबाट आफ्ना नेपाली दाजूभाइ दिदीबहिनीसहितका आफन्त आक्रान्त बनीरहेको कुराले हामीलाई मर्माहत तुल्याएको छ । यही गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै गैरआवासीय नेपाली संघले (एनआरएनए) आफ्नो विश्वव्यापी सञ्जाल मार्फत “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान सञ्चालन गरी आर्थिक तथा स्वास्थ्य सामग्री नेपाल पठाउने क्रम जारी छ । यही अभियानमार्फत ओमानबाट ५६० अक्सिजन सिलिण्डर र ती सिलिण्डरको लागि चाहिने ५६० रेगुलेटर चीनबाट ल्याएर नेपाल सरकारलाई हस्तान्तरण गरि सकिएको छ । यस्तै चीनबाट ५०० अक्सिजन कन्सन्ट्रेटरको अर्डर गरिएको छ र सकेसम्म छिटो नेपाल पुर्याउने पहल भइरहेको छ । साथमा विभिन्न राष्ट्रिय समन्वय परिषद्मार्फत पनि स्वास्थ्य सामाग्री खरीदका लागि प्रतिबद्धता आएको जानकारी गराउँदछौँ ।
सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने
यस अभियानको निरन्तरता र यसलाई थप परिष्कृत बनाउने उद्देश्यका साथ गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आइतबार ९२३ मे २०२१० बसेको संघका राष्टिय समिति, पदाधिकारीहरु, केन्द्रीय पार्षदहरुको संयुक्त बैठकले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ ।
यस्तै तीव्र रुपमा नेपालमा फैलिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकोले तत्काल अन्तर्राष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्ने निर्णय गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिमार्फत सम्बन्धित देशका सरकार समक्ष नेपालको लागि खोप उपलब्ध गराउन पहल गरिनेछ ।
हवाई उडान सहजिकरणको लागि आग्रह
कोरोना संक्रमणको दोस्रो लहर अनि नयाँ भेरियन्टका कारण नेपालका अधिकांश जिल्लामा निशेधाज्ञा, केही जिल्लामा लकडाउन जारी छ । नेपाल सरकारले स्वास्थ्य सुरक्षाका लागि भन्दै जारी गरेको आन्तरिकसहित अन्तर्राष्ट्रिय उडान स्थगन गरेको छ । जसका कारण विभिन्न मध्यपूर्वी मुलुकमा कार्यरत नेपाली श्रमिक, विभिन्न अत्यावश्यक कामकाजका लागि नेपाल आउन आवश्यक भएका र विभिन्न कामका शिलशिलामा नेपालमा गएर कर्मभूमि फर्कन नपाएका गैरआवासीय नेपालीहरु समस्यामा परेका छन् । पछिल्लो समय नेपालबाट भारतीय लगायत अन्य देशका नागरिकहरुले अन्तर्राष्ट्रिय यात्राका लागि सुविधा पाएपनि नेपालीहरु भने समस्यामा परेको गुनासो समेत सुनिएकोले यात्रामा नेपाली नागरिकलाई पहिलो प्राथमिकतामा राख्न समेत यो संघ अनुरोध गर्दछ ।
यसका साथै विदेशबाट नेपाल फर्कदा नेपाली दुताबासहरुबाट अनुमति लिनुपर्ने लगायतका विषयमा विद्यमान झन्झटिला प्रावधानलाई हटाई यात्रा सहजिकरण गरिदिन समेत यो संघ सरकारसँग अनुरोध गर्दछ । यसका साथै, यात्रा सम्बन्धि सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य मापदण्ड, नेपालमा पूरा गर्नुपर्ने क्वारेन्टिनको अवधि लगायतका अन्य प्रोटोकल कडाईका साथ पालना गर्न समेत संघ सम्पूर्ण गैरआवासीय नेपालीलाई आग्रह गर्दछ ।
नागरिकतासम्बन्धी अध्यादेशप्रति गम्भीर ध्यानाकर्षण
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशप्रति गैरआवासीय नेपाली संघको गम्भीर ध्यानाकर्षण भएको छ । विगत लामो समयदेखि नै गैरआवासीय नेपाली संघले माग गर्दै आएको गैरआवासीय नेपाली नागरिकताका विषयमा अध्यादेश मौन देखिन्छ । तसर्थ, गैरआवासीय नेपालीहरुको माग सम्बोधनका लागि यो संघ नेपाल सरकारलाई अनुरोध गर्दछ ।
डिबी क्षेत्री
प्रवक्ता, गैरआवासीय नेपाली संघ ।
२४ मे २०२१
वि.सं.२०७८ जेठ ११ मंगलवार १०:३५ मा प्रकाशित






























