जेठ ११, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटनका विषयमा पूर्वसभामुखहरुसँग छलफल गर्ने भएका छन् । उनले दोस्रो पटक गरिएको विघटनका विषयमा छलफल गर्न पूर्वसभामुखहरुलाई दिउँसो १ बजे सिंहदरबारमा निम्त्याएका छन् ।
सभामुखको सचिवालयले जनाएअनुसार सापकोटोले २०४८ साल पछिका सभामुख दमननाथ ढुंगाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ्ग, ओनसरी घर्ती, कृष्णबहादुर महरालाई छलफलका लागि बोलाएका छन् ।
मन्त्रीपरिसदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ को मध्यरात प्रतिनिधि सभा विघटन गरेकी थिइन् । उनले गरेको विघटनविरुद्व विपक्षी दलहरु सर्वोच्च अदालतमा पुगेका छन् ।
संसद विघटन विवादित बनिरहेको बेला केहि कानून व्यवसायीले सभामुख सापकोटालाई प्रतिनिधि सभा बैठक राख्नसमेत आग्रह गर्दै आएका छन् । प्रतिनिधि सभा विघटनको कदम विवादित बनिरहेको बेला सभामुखले पूर्वसभामुखहरुसँग परामर्श लिन खोज्नुलाई अर्थपूर्णं रुपमा हेरिएको छ ।
वि.सं.२०७८ जेठ ११ मंगलवार ११:४६ मा प्रकाशित






























