११ जेठ, रत्ननगर , चितवन । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गत आज दोश्रो चरणमा चितवनको रत्ननगर टाडी अस्पताललाई थप १५ थान अक्सिजन सिलिन्डर ( सिलिन्डर खरिद सहित ) हस्तान्तरण गरिएको छ ।
रत्ननगर नगरपालिकाकी उपमेयर बिमला दुवाडीको उपस्थितिमा रत्ननगर अस्पतालका अध्यक्ष गोपाल कर्माचार्यलाई एनआरएनए सेसेल्सकी उपाध्यक्ष अनिता थापाले उक्त सिलिन्डरहरु हस्तान्तरण गरेकी हुन् ।
समारोहमा अस्पतालका पूर्वअध्यक्ष देबेन्द्र कुमार श्रेष्ठलगायत स्थानिय समाजसेवी र अस्पताल कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

उक्त १५ थान सिलिन्डर खरिदका लागि एनआरएनएका पूर्वअध्यक्ष जिवा लामिछाने, सचिव गौरी जोशी र एनआरएनए सेसेल्सको आर्थिक सहयोग रहेको छ ।
यस अघि गएको हप्ता हस्तान्तरण गरिएको १० थान सहित कूल २५ थान अक्सिजन सहितका सिलिन्डर सहयोग रत्ननगर अस्पताललाई हस्तान्तरण गरिसकिएको छ । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियानको चितवन संयोजन सेसेल्स अध्यक्ष रामप्रसाद पन्तले गरिरहेका छन् ।
वि.सं.२०७८ जेठ ११ मंगलवार १३:१६ मा प्रकाशित






























