back
CTIZAN AD

आन्तरिक मूल्याकङ्नबाट नतिजा सार्वजनिक गर्न थाले विद्यालयहरु

वि.सं.२०७८ जेठ २२ शनिवार

615 

shares

२२ जेठ, टीकापुर । कैलालीका विद्यालयले वार्षिक परीक्षा सञ्चालनमा समस्या भएपछि आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्न थालेका छन् । गएको महिना वैशाख १५ गतेबाट वार्षिक परीक्षा गर्ने तयारीमा रहेका यहाँका विद्यालयमा कोरोना भाइरस सङ्क्रमण समुदायमा फैलिएपछि परीक्षा स्थगित भएका थिए । लामो समयको बन्द र विद्यालय खोल्ने वातावरण नभएपछि जिल्लाका स्थानीय तहले आन्तरिक मूल्याकङ्नबाट नतिजा सार्वजनिक गर्न विद्यालयलाई निर्देशन दिएका छन् ।

पालिकाको निर्णयपछि कैलालीका पालिकाले अब कक्षा एकदेखि नौसम्मका विद्यार्थीको नतिजा आन्तरिक मूल्याङ्कनबाट सार्वजनिक गर्न थालेका छन् । टीकापुर नगरपालिकामा बुधबार बसेको शिक्षा समितिको बैठकले विद्यालयमा लिइएका विभिन्न आन्तरिक परीक्षा, हाजिरी, गृहकार्य, अनुशासन र अतिरिक्त क्रियाकलापका आधारमा मूल्याङ्कन गर्न सकिने निर्णय गरेको छ । कोभिड १९ का कारण परीक्षा सञ्चालन गर्न नसकेपछि बुधबार बसेको नगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारको निर्णयानुसार आगामी असारदेखि नयाँ शैक्षिक सत्र शुरु गर्नुपर्ने भएकाले नगर शिक्षा समितिको बैठक बसी यस्तो निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले जानकारी दिए । ‘‘विद्यालय सञ्चालकहरुसँग छलफल गर्दा पनि यही विकल्प भन्नुभएको छ, यस्तो बेला परीक्षा गर्न सम्भव पनि छैन’’, ठकुल्लाले भने, ‘‘नयाँ शैक्षिक सत्र शुरु हुने समयमा हामीले यही विकल्प दिएका छौँ ।’’

टीकापुर क्षेत्रका केही निजी विद्यालयले भने कोरोना कहरमा पनि अनलाइन कक्षा नियमित राखेका थिए । उनीहरुले अनलाइनबाट परीक्षा समेत गरे । सबै विद्यालय र विद्यार्थी अनलाइनको पहुँचमा नभएका, अझ सामुदायिक विद्यालयमा अनलाइन कक्षा सम्भव नभएकाले पालिकाले विद्यालयको सहजताका लागि यस्तो निर्णय गरिदिएको शिक्षा अधिकृत नरेश अवस्थी बताउँछन्। ‘‘यहाँका विद्यार्थी अनलाइनको पहुँचमा छैनन्, त्यसैले अबको विकल्प यही हुन्छ’’, अवस्थीले भने, ‘‘दोस्रो त्रैमासिक परीक्षा र अन्य विभिन्न मापदण्डलाई आधार मानेर नतिजा सार्वजनिक गर्ने तयारी भएको हो ।’’
यस्तै, कैलालीको जानकी गाउँपालिकाले पनि नतिजा सार्वजनिक गर्न विद्यालयलाई निर्देशन दिएको छ । जानकी गाउँपालिका गाउँ शिक्षा समितिद्वारा कक्षा एकदेखि नौसम्मका कक्षाको नतिजा २० प्रतिशत आन्तरिक मूल्याङ्कन (उपस्थिति, गृहकार्य, अनुशासन र विविध) र ८० प्रतिशत अघिल्लो परीक्षाका आधारमा गर्ने गराउने औपचारिक निर्णय भएको शिक्षा अधिकृत धर्मानन्द कपाडीले जानकारी दिनुभयो । ‘‘महामारी फैलिएपछि परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई थप तयारी गर्नुस् भनेर बिदा दियौँ’’, कपाडी भन्छन्, ‘‘महामारी नियन्त्रणमा आएको देखिएन, समुदायमा भयाभह स्थिति छ । यस्तो बेलामा परीक्षा पनि सम्भव छैन, नतिजा रोकेर काम छैन ।’’

कैलालीको लम्कीचुहाले यसअघि नै निर्णय गरी विद्यालयहरु नतिजा सार्वजनिक कार्यमा जुटिसकेका छन् । लम्कीचुहामा विद्यालयहरु अघिल्लो परीक्षा र अन्य आन्तरिक आधारमा नतिजा सार्वजनिक गर्न थालेका हुन् । लम्कीचुहा मात्र होइन कैलालीका सबैजसो पालिकाले यसरी नै नतिजा सार्वजनिक थालेका छन् । ‘‘विद्यार्थीहरु परीक्षाको तयारीमा थिए, भोलिबाट हुने भनिएको परीक्षा अघिल्लो दिन विद्यालय बन्द गर्नुपरेको थियो’’, शिक्षिका टङ्कमाया पोखरेल भन्छिन् , ‘‘नानीबाबुले पढेका छन्, परीक्षा मात्र दिन पाएनन्, यसले उनीहरुको शैक्षिक विकास र सिकाइमा असर पर्दैन । नतिजा सार्वजनिक भए बरु तनाब व्यवस्थापन हुन्छ ।’’

शिक्षिका पोखरेल अब विद्यार्थी नयाँ शैक्षिक सत्रको तयारी र माथिल्लो कक्षाका पाठ्यपुस्तक अध्ययनमा लाग्ने वातावरण अभिभावकले बनाउन आवश्यक रहेको बताउँछिन् । ‘‘निषेधाज्ञा खुकुलो भए नानीबाबुका किताब उपलब्ध गराउनतर्फ ध्यान दिनुपर्छ’’, उनी भन्छिन् ‘‘फुर्सदमा रहेका बालबालिकालाई घरमा समेत पढ्ने वातावरण अभिभावकले बनाउन जरुरी छ ।’’

अभिभावकहरु कोरोना महामारीका कारण बालबालिकाको पढाई र बाल मस्तिष्कमा नकारात्मक असर परेको बताउँछन् । ‘‘भोलिबाट परीक्षा दिने भनेर तयारीमा रहेका बालबालिका अघिल्लो दिन विद्यालय बन्द भएपछि तनावमा छन् । गत वर्ष पनि राम्ररी कोर्ष पूरा गर्न पाएनन्’’, अभिभावक बन्दना जैसी भन्छिन्, ‘‘अब सरकारले, विद्यालय सञ्चालकले विकल्प खोजेर बालबालिकाले नियमित अध्ययन गर्ने, रमाउने वातावरण तयार गर्न आवश्यक छ ।’’ (दुर्गा देवकोटा, रासस)

वि.सं.२०७८ जेठ २२ शनिवार १०:३३ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...