२२ जेठ, काठमाडौँ । विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भएको मन्त्रीपरिषद् पुर्नगठनलाई निन्दनीय भएको बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा एमाले(माधव पक्ष), जसपा नेपाल, राष्ट्रिय जनमोर्चाद्वारा शनिबार साँझ संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कामचलाउ प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वाेच्चमा विचाराधीन रहेको स्थितिमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा व्यापक पुनर्गठन गरी संवैधानिक र लोकतान्त्रिक मूल्य र मान्यताको उपहास भएको भन्दै त्यसलाई निन्दनीय भएको बताएका हुन् ।
प्रधानमन्त्रीले राज्य प्रणालीलाई नै अस्तव्यस्त तुल्याएको आरोप उनीहरुको छ । उनीहरुले ‘ओली सरकारद्वारा संसदको अवमूल्यन गर्दै अध्यादेशमार्फत बजेट ल्याइनुका साथै ढुंगा, बालुवा र गिटी निकासी गर्न चुरे क्षेत्र लगायतको उत्खनन् गर्नदिने घोषणा नेपालको तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका वासिन्दाहरुलाई बाढी, ढुवान र पानीको स्रोत सुक्ने अवस्थामा पार्दै जनजीवनलाई नै जोखिमयुक्त बनाउने राष्ट्रघाती र जनघाती घोषणा भएको’ ठहर गरेका छन् ।
यस्तो घोषणा गरेर सरकारले बजेट घाटा पूर्ति गर्ने भ्रम छर्दै सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गरिरहेको उल्लेख गर्दै उनीहरुले निर्णय तत्काल खारेज गर्न माग गरेका छन् ।
साथै उनीहरुले कोभिड १९ संक्रमण, रोकथाम नियन्त्रण र उपचारमा जिम्मेवार बन्न तथा लामो निषेधाज्ञका कारण दैनिक रोजीरोटी गुमाउन पुगेका गरीब, असहाय र श्रमजीवी जनताका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्न माग समेत गरेका छन् ।
वक्तव्यमा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।
वि.सं.२०७८ जेठ २२ शनिवार २१:०९ मा प्रकाशित































