२४ जेठ, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले आफूहरु विरुद्ध फेरि अनर्गल प्रचार भएको बताएका छन् ।
भुसालले आफूहरुलाई माधव पक्षलाई छोडेर केपी ओली समूहतिर जान खोजेको भनेर अनर्गल प्रचार गरिएको बताउँदै एकताको कुरा गर्दा आत्मसमपर्ण र विवादको कुरा गर्दा विभाजनको व्याख्या गर्ने समूह नै तयार भएको टिप्पणी समेत गरेका छन् ।
पञ्चायत धराशायी हुनुमा सोहि समुहको योगदान रहेको भन्दै उनले त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको बताउँदै अहिले नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? भन्ने प्रश्न समेत गरेका छन् ।
‘फेरि हाम्रा विरुद्ध अनर्गल प्रचार शुरु भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ,’ सामाजिक संजालमा नेता भुसालले भनेका छन्, ‘पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो । पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन । त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु । आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ? धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन् ।’
वि.सं.२०७८ जेठ २४ सोमवार १६:३६ मा प्रकाशित






























