जेठ ३०, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को समर्थन छ भन्दै पृथ्वी सुब्बा गुरुङ्गले प्रदेश प्रमुखकोमा पेश गरेको दाबी पत्र फर्जी भएको कुरा खुलेको छ । जसपाले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै गुरुङ्गले पेश गरेको पत्र फर्जी भएको बताएको हो ।
जसपाको नामबाट पूर्वमुख्यमन्त्री गुरुङ्गले पेश गरेको पत्रमा अनिल परियारलाई जसपाको गण्डकी प्रदेश अध्यक्ष बताइएको छ । तर, जसपाले परियारलाई आफुँले नचिनेको भन्दै उक्त नामका व्यक्ति साधारण सदस्य पनि नरहेको स्पष्ट पारेको छ ।
‘अनिल परियार जनता समाजवादी पार्टी, नेपालको साधारण सदस्य पनि नरहेको स्पष्ट गर्दछौं। जनता समाजवादी पार्टी, नेपालको गण्डकी प्रदेश समितिको अध्यक्षमा मोति रिजाल रहनु भएको छ। हुँदै नभएको हैसियतमा फर्जी र नक्कली लेटरप्याड, स्टाम्प बनाई प्रयोग गरी दिग्भ्रमित गर्ने कार्य अनैतिक, जालसाजी र फर्जी कार्य हो’, विज्ञप्तिमा भनिएको छ।
जसपाले अनधिकृत कार्य नगर्न गुरुङ्गलाई चेतावनी पनि दिएको छ । भविष्यमा यस्ता फर्जी र जालसाजीपूर्ण कार्य गरेको पाइएमा कानुनबमोजिम सजायको भागिदारी हुनुपर्ने जसपाले चेतावनी दिएको छ।
‘जनता समाजवादी पार्टी, नेपाल कुनै पनि प्रकारको प्रतिगमन तथा प्रतिगमनकारी र संघीय लोकतन्त्र, गणतन्त्र मास्ने कार्यहरुको विपक्षमा सधै अडिग रहने कुरा पनि यस अवसरमा स्पष्ट पार्न चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ।

वि.सं.२०७८ जेठ ३० आइतवार १७:०७ मा प्रकाशित






























