जेठ ३०, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिएको छ । आइतबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।
पराजुलीले बताएअनुसार साबिकको निषेधाज्ञाभन्दा केहि खुकुलो बनाउने पनि निर्णय भएको छ । उनका अनुसार अब खाद्यान्न, तरकारी किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न दिइने छ। विकास निर्माणका काममा आवश्यक पर्ने पसललाई बेलुका चार बजेदेखि खुल्न दिने निर्णय भएको छ।
साथै होटलमा टेक अवे सेवालाई निरन्तरता दिने निर्णय भएको उनले बताए। अनलाइन डेलिभरीका लागि होटलहरूलाई बिहान ७ बजेदेखि काम गर्न दिइने छ।
विकास निर्माणका काममा स्वास्थ्य मापदण्ड पूरा गरेर मजदूरहरू राख्न पाइने भएको छ। यस्तै, बैठकले विकास निर्माणका काम र कृषिका कामलाई केही सहज बनाउने पनि निर्णय गरेको पराजुलीले बताए ।
कोरोना संक्रमण बढ्न थालेसँगै काठमाडौं उपत्यकामा गत १६ वैशाखदेखि निषेधाज्ञा जारी छ ।
वि.सं.२०७८ जेठ ३० आइतवार १७:३३ मा प्रकाशित






























