असार १, काठमाडौं । सोमबार साँझ नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा विपक्षी गठबन्धनका नेताहरुबीच निकै गर्मागरम छलफल भएको थियो । विपक्षी गठबन्धनका शीर्ष नेताहरु उपस्थित छलफलमा सबै नेताहरुले माधव नेपालमाथि नै प्रश्न उठाएका थिए ।
छलफलमा कांग्रेस सभापतिसमेत रहेका नेता शेरबहादुर देउवाले माधव पक्षीय नेताहरुका पछिल्ला भूमिकामाथि निकै गम्भीर रुपमा प्रश्न राखेका थिए । स्रोतले उल्लेख गरेअनुसार देउवाले ‘धोका दिन लागेको होइन् ?’ भन्ने प्रश्न पनि माधवसँग राखेका थिए ।
‘पार्टी एकताका लागि भन्दै तपाईँका नेताहरु दिनदिनै बालुवाटार छिरिरहेको सुनिन्छ, कुरा स्पष्ट देखिएन’, देउवाको भनाई उद्र्धत गर्दै स्रोतले भनेको छ, ‘कुरा प्रष्ट पार्नुस, तपाइँ कसरी अगाडि बढ्न चाहनुहुन्छ, हामीलाई धोका दिने काम नहोस् ।’
छलफलमा देउवाले नेता नेपाललाई ओलीको संविधान विरोधी गतिविधिमा साँक्षी नबस्न पनि सुझाएको बताइएको छ ।
कोटेश्वर स्रोतले बताएअनुसार नेता नेपालले ओलीसँग पार्टी एकता सम्भव नरहेको भन्दै स्पष्ट हुन गठबन्धनका अन्य नेताहरुलाई आग्रह गरेका थिए । ‘हामीलाई अल्मल्याउन ६ बुँदे ल्याइएको हो, हामी स्पष्ट छौं’, नेता नेपालको भनाई उद्र्धत गर्दै स्रोतले भन्यो, ‘ओलीसँग कुनै हालतमा एकता हुँदैन्, अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहनुस् ।’
स्रोतले बताएअनुसार छलफलमा गठबन्धनका कतिपयले नेताहरुले प्रदेश तहमा देखिएको मिलापप्रति पनि प्रश्न उठाएका थिए ।
कोटेश्वर बैठक पछि सुदूरपश्चिममा कारबाही
माधव पक्षको बहुमत रहेको एमाले सुदूरपश्चिम संसदीय दलले सोमबार ओली पक्षका सांसदहरुमाथि कारबाहीको डण्डा चलाएको छ । माधव पक्षले ओली पक्षीय ७ सांसदलाई १५ दिनसम्मको निलम्बन गरेको छ ।
कोटेश्वर बैठक लगत्तै गरिएको यस कारबाहीलाई यतिबेला राजनीतिक वृत्तमा जोडेर हेरिएको छ । कोटेश्वर बैठकमा देउवाले गरेको आशंकापश्चात माधव पक्षले सुदूरपश्चिममा चलाएको कारबाहीको डण्डालाई अर्थपूर्णं रुपमा लिन सकिन्छ ।
सुदुरपश्चिम कारबाहीले माधव पक्ष लडाईँमा उत्रिन तयार रहेको सन्देश पनि ओलीलाई दिएको देखिन्छ ।
प्रदेश तहमा देखिएको ‘मिलाप’प्रति प्रश्न
यतिबेला प्रदेश तहमा देखिएको ओली र नेपालबीचको मिलापप्रति एमालेभित्र मात्रै होइन् बाहिर पनि प्रश्न उठेको छ । जसलाई विपक्षी नेताहरुले समेत आंशकापूर्णं रुपमा हेरेका छन् । जुन विषय सोमबारको कोटेश्वर बैठकमा पनि प्राथमिकताका साथ उठेको थियो ।
तर माधव पक्षले उक्त घटनालाई मिलाप नभई प्रदेशसभा विघटनबाट जोगाउन प्रयोग गरिएको ‘अस्त्र’ भएको प्रष्ट पारेको छ । कोटेश्वर बैठकमा नेता नेपालले ओलीलाई सहयोग गरेको नभई प्रदेशसभा विघटनबाट जोगाउन बाध्यतामा उक्त रणनीतिको प्रयोग गरिएको प्रष्ट पारेका छन् ।
प्रदेश १, बागमती र लुम्बिनी प्रदेशमा सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गराउन माधव पक्षले सहयोग गरेको थियो । प्रदेश १ र बागमती प्रदेशमा कानूनतः एमाले एकल बहुमतमा छ ।
कानूनतः बहुमतमा रहेको सरकारले अप्ठ्यारो परेमा विघटन गरिदिन सक्ने सम्भावना हुन्छ । नीति तथा कार्यक्रम असफल भएमा उक्त कदम चाल्नसक्ने आशंकाका बीच माधव समूहले सहयोग गरेको देखिन्छ ।
सम्बन्धित समाचार
वि.सं.२०७८ असार १ मंगलवार १५:१७ मा प्रकाशित
























