असार २, काठमाडौं । नेकपा (एमाले)भित्र बेग्लै गुटको पहिचान बनाएको रामबहादुर थापा ‘बादल’ नेतृत्वको पूर्वमाओवादी समूहमा भाँडभैलौ मच्चिएको छ । एक पछि अर्का नियुक्तीमा बादलले आफ्ना अति निकट र आशेपासेलाई मात्रै समेट्न थालेपछि समूहमा भाँडभैलो मच्चिएको हो ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद पुनर्गठनमा पनि बादलले आफ्नी पत्नी नैनकला थापालाई नै अगाडि सारेका थिए । गत जेठ २७ मा भएको मन्त्रिपरिषद पुनर्गठनमा बादलले आफ्नी पत्नी नैनकला थापालाई सञ्चारमन्त्री बनाएका थिए । साथै उनले समूहभित्र छलफल नै नगरी ज्वालाकुमारी साहलाई पनि कृषि मन्त्री बनाएका थिए ।
‘बादललाई नेता मान्न सकिन्न’
सर्वोच्च अदालतको आदेशसँगै मन्त्री पद गुमाएका पूर्वमाओवादी नेताहरु एमालेभित्र निकै छटपटि अवस्थामा छन् । ‘जेठ २’ मा फर्किने ओलीको घोषणाबाट पनि उनीहरुलाई थप आततायी गराएको छ ।
जुन अन्यौंलताका बीच भईरहेका नियुक्तीहरुमा पनि उनीहरुलाई वेवास्ता गर्न थालिएको छ । समूहको नेताको रुपमा पहिचान बनाएका बादलले पनि आफ्नालाई नियुक्ती दिलाउन पाएसँगै उनीहरुसँग सरोकार राख्न छाडेका छन् ।
पछिल्लो गतिविधिले बादललाई नेता मान्न सकिने अवस्था हुन छाडेको पूर्वमाओवादी नेताहरुको ठम्माई छ । उनीहरुका अनुसार ‘नेतामा हुने एक अंश पनि गुण बादलमा भेटिएन’ ।
‘पछिल्लो घटनाहरुले हामीलाई थप अन्यौंल बनाईरहेको छ, भनिएजस्तै राजनीतिक भविष्य के हुने निश्चित छैन्’, संसार न्यूजसँग पूर्वमाओवादी समूहका एक नेताले भनेका छन्, ‘तर, बादल जीको शैली थप समस्यापूर्णं देखियो, प्रधानमन्त्री जीले उहाँलाई बुझ्ने तर, उहाँले आफैंलाई मात्रै बुझ्ने अवस्था आयो ।’
उनका अनुसार श्रीमतिलाई नै मन्त्री बनाउनु पर्ने कारण थिएन । ‘विरोधभन्दा पनि बाहिर पनि गतिलो म्यासेज गएन, बादलजी आफुँ नहुने वित्तिकै श्रीमतिलाई नै मन्त्री बनाउनु पर्छ भन्ने छैन्, अवसर नपाएका अरु साथीहरु पनि छन्’, उनले भनेका छन्, ‘एक पटक पनि सल्लाह हुन सकेन, यसरी उहाँलाई नेता मान्ने अवस्था रहन्न ।’
समूह नै ‘चरम अवसरवादी’
तत्कालिन नेकपामा विभाजन आउँदा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र मणि थापालगायतका नेताहरु ओली समूहमा लागेका थिए । प्रचण्ड–माधव समूह छाडेका उनीहरुलाई ओलीले उपहार स्वरुप मन्त्री दिलाएका थिए ।
मन्त्री पद पाएसँगै ओली समूहमा लागेका कतिपय अघिल्लो दिनसम्म नै ओलीको विरोधमा समेत देखिएका थिए । रामबहादुर थापा बादल र लेखराज भट्ट केहि अघि ओली समूहमा लागेपनि प्रभु शाहलगायतका नेताहरु भने प्रचण्ड–माधव समूहको विरोध कार्यक्रमबाटै ओली समूहमा प्रवेश गर्दै मन्त्री बनेका थिए ।
मन्त्री पद पाएसँगै समूह परिवर्तन गरेका उनीहरुमाथि ‘चरम अवसरवादी’को आरोपसमेत लाग्दै आएको छ ।
मन्त्री गुमाउने वित्तिकै माओवादी फर्किन लबिङ्ग
गत वैशाख २७ मा प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएर पदमुक्त भएसँगै ओली पुनः धारा ७६ (३) अनुसार ठूलो दलको हैसियतमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएका उनले पुरानै क्याविनेटलाई निरन्तरता दिएका थिए ।
तर, सांसद नै नभएका पूर्वमाओवादी समूहका नेताहरु पनि उनको क्याबिनेटमा निरन्तरता परेसँगै अधिवत्ता कपिलदेव ढकाल र विराज थापाले नियुक्ती बदर गर्न रोक लगाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए । जुन रिटमाथि जेठ ६ मा फैसला आएको थियो । अदालतले सातै जना माओवादी नेताहरुको नियुक्तीलाई बदर गरिदिएको थियो ।
मन्त्री पद गुमाएका उनीहरुमध्ये केहिले लगत्तै पुरानै पार्टी (माओवादी)मा फर्किन गरेको लबिङ्गले निकै चर्चा पाएको छ । सुत्रहरुमार्फत माओवादी केन्द्र फर्किन गरेको लबिङ्ग अस्वीकृत भएको विषयसमेत बाहिर आएपछि नेता टोपबहादुर रायमाझीले ‘अनर्गल प्रचार’ भन्दै विज्ञप्ती नै निकालेर खण्डन गरेका थिए । तर, उक्त घटनाका कुराहरु तथ्यपरक रुपमा सार्वजनिक भईसकेका छन् ।
वि.सं.२०७८ असार २ बुधवार १४:३७ मा प्रकाशित






























