६ असार, काठमाडौ । चालु आर्थिक वर्षको १० महिनामा सात लाख बढी करदाता थपिएका छन् ।
अर्थ मन्त्रालयद्वारा प्रकाशित वैशाख महिनाको अर्थ बुलेटिनमा उल्लेख भएअनुसार साउनदेखि वैशाख मसान्तसम्म सात लाख ६ हजार ३०२ उनीहरुले स्थायी लेखा (पान) नम्बर लिएका हुन् ।
थपिएका करदातामध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिने सबैभन्दा बढी चार लाख ६८ हजार १३४ रहेको जनाइएको छ । यसैगरी थप दुई लाख ३४ हजार १४० जनाले व्यवसायिक स्थायी लेखा नम्बर लिएका छन् । उक्त अवधिमा करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर चार हजार २८ रहेको छ ।
यसैगरी मूल्य अभिवृद्धि करतर्फ ३२ हजार ७४५ र अन्तः शुल्कतर्फ १७ हजार १९९ करदाता थपिएको बुलेटिनमा उल्लेख छ ।
यससँगै स्थायी लेखा नम्बर लिने करदाताको कूल संख्या ४० लाख ४३ हजार ७९४ पुगेको छ ।
वि.सं.२०७८ असार ६ आइतवार २१:१६ मा प्रकाशित






























