असार १०, काठमाडौं । सत्तारुढ नेकपा (एमाले)मा एकताको प्रयास हुँदै गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष भने सिंगो माधवकुमार नेपाल पक्षसँग एकता सम्भव नरहेको निष्कर्षमा पुगेको छ । पार्टी एकताभन्दा विपक्षी गठबन्धनसँग मोर्चा बनाउन माधव पक्ष कस्सिए पछि ओली पक्षले यस्तो निष्कर्ष निकालेको हो ।
ओली पक्षीय ‘कोर टिम’का एक नेताले संसार न्यूजसँगको कुराकानीमा सिंगो माधव समूहसँग एकता सम्भव नरहेको निष्कर्षमा आफुँहरु पुगेको बताए । उनका अनुसार माधव पक्षमा देखिएका केहि नेताहरु भने समूहगत रुपमै छिट्टै एमालेमा फर्किँदैछन् ।
‘माधव जी देउवा र प्रचण्डको शरणमा हुनुहुन्छ, पार्टी अध्यक्षले छलफल गर्न बोलाए पनि इगो साँधेर आउनु हुन्न’, ति नेताले भनेका छन्, ‘पछिल्लो स्पष्ट निष्कर्ष हो– अब माधव जी नेतृत्वको टिमसँग एकता सम्भव छैन्, उहाँहरु लाईन बाहिर गईसक्नुभयो ।’
‘घनश्याम होइन् योगेश’
उनले बताएअनुसार माधव पक्षका केहि नेताहरुसँग निरन्तर संवाद भईरहेको छ । सिंगो माधव समूह नआउने अवस्थामा निश्चित नेताहरुलाई कसरी समेट्ने भन्ने विषयमा छलफल अगाडि बढेको उनले बताए ।
दुई पक्षबीच भईरहेको छलफलमा योगेश भट्टराई स्पष्ट देखिएको उनको भनाई छ । छलफलका क्रममा घनश्याम भुसाल भने निकै चातुर्यपूर्णं रुपमा उपस्थित भएको उनले बताए ।
‘योगेश जी स्पष्ट देखिनुभएको छ, उहाँ पार्टी एक ढिक्का पार्नुपर्छ, हिजोका सबै कुरा छोडेर नयाँ ढंगले जानुपर्छ भन्ने लाईनमा देखिनुभएको छ’, उनले भनेका छन्, ‘केहि साथीहरु भुसाल जीलगायत कसरी हुन्छ अध्यक्ष जीलाई घुँडा टेकाउने भन्ने लाइनमा हुनुहुन्छ, त्यस्ता गलत योजना अब सफल हुँदैन्, हामीले पनि बुझेका छौं ।’
‘जेठ २’ मै फर्किन तयार
सर्वोच्च अदालतको फैसलासँगै ब्यूँतिएको एमालेमा ०७५ जेठ २ को अवस्थामा फर्किने वा नफर्किने भन्ने कोणबाट विवाद जारी छ । एमालेमा माधव पक्षले बहुमतको आडमा गरिएका सबै निर्णयलाई सच्याउनुपर्ने भनिरहेको छ भने ओली पक्षले बहुमतले गरेको निर्णयलाई मानेर जानुपर्ने अडानमा देखिन्छ ।
तर, दुई पक्षबीच सुरुवातदेखि नै उठेको ०७५ जेठ २ को डेटलाइनको विषयमा भने ओली पक्ष केहि नरम देखिएको छ । गत जेठ २३ मा पनि ओलीले पार्टी एकताको आव्हान गर्दै सार्वजनिक गरेको ६ बुँदे पत्रमा पार्टी संरचनालाई जेठ २ वरिपरिको अवस्थामा फर्काउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
ती नेताले बताएअनुसार जेठ २ को अवस्थामा फर्किने कुरामा ओली पूर्णं सहमत छन् । तर, माओवादी छाडेका नेताहरुलाई पाखा पन्छाउन निमल्ने लाईनमा पनि ओलीले अडान राखिरहेको उनले बताए ।
‘उहाँहरु निरपेक्ष हिसाबले जेठ२’ जेठ२’ भनिरहनु भएको छ, ल त्यो मान्न समस्या छैन्’, उनले भने, ‘तर, यति धेरै कुरा परिवर्तन भएका छन्, माओवादीका यति धेरै साथीहरु हामीसँग हुनुहुन्छ, के उहाँहरुलाई वेवास्ता गर्न मिल्छ ? के फेरिएको अवस्थामा नयाँ साथीहरुलाई जिम्मेवारी नदिने ? निरपेक्ष जेठ २ सम्भव छैन् ।’
माओवादीलाई स्थान दिन कम्प्रमाईज नगर्ने लाईनमा ओली
उनले बताएअनुसार अध्यक्ष ओली पूर्वगृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा ‘बादल’नेतृत्वको समूहलाई उचित व्यवस्थापन गरेरै जानुपर्ने लाईनमा छन् । ‘बादल जी सबै त्यागेर हामीलाई साथ दिनुभएको छ, उहाँको भरोसामा आएका साथीहरुलाई धोका दिन मिल्दैन्, हामीले जिम्मेवारी कम लिए पनि हुन्छ, उहाँहरुको व्यवस्थापन हुनुपर्छ, अध्यक्ष जी पनि यो विषय स्पष्ट राख्नुभएको छ’, ती नेताले भनेका छन् ।
माधव पक्षले पूर्वमाओवादी समूहलाई अप्ठ्यारो पार्ने गरि शर्तहरु राखिरहेको उनले बताए । माओवादीका नेताहरुलाई तर्साउन पनि माधव पक्षले गलत अफबा फैलाएको उनको भनाई छ ।
‘एमाले जोगाउने, अध्यक्ष ओलीलाई अप्ठ्यारोमा साथ दिएर यहाँसम्म आउन सहयोग गर्ने पूर्वमाओवादी साथीहरुलाई अप्ठ्यारोमा पार्ने कुरा हुन्न, माधव जीहरुको रणनीति ती साथीहरुलाई अलग्याएर नेतृत्वलाई कमजोर पार्ने भन्ने छ, तर त्यो सम्भव छैन्’, उनले भनेका छन् ।
वि.सं.२०७८ असार १० बिहीवार १७:१० मा प्रकाशित






























