असार ११, काठमाडौं । नेपाल टेलिकमभन्दा वर्ल्डलिंक इन्टरनेट प्रयोगकताहरुको रोजाईमा परेको देखिएको छ । नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले उपलब्ध गराएको २०७७ चैत्रसमम्मको तथ्यांकअनुसार नेपालमा जम्मा १४ लाख ५७ हजार ५ सय ५६ जना इन्टरनेट प्रयोगकर्ता रहेका छन् । तीमध्ये सबैभन्दा बढी वर्ल्डलिंक इन्टरनेट प्रयोग गर्नेहरु ४ लाख ६८ हजार जना रहेका छन् ।
दोस्रोमा नेपाल टेलिकमको इन्टरनेट प्रयोगकर्ताहरु रहेका छन् । नेपाल टेलिकमको इन्टरनेट प्रयोग गर्नेहरुको संख्या झण्डै २ लाख ८९ हजार रहेको छ । यो संख्या वर्ल्डलिंकको भन्दा झण्डै २ लाखले कम हो ।
कुन इन्टरनेट बढी प्रयोग ?
दुरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपालमा हाल ३ प्रकारका इन्टरनेट प्रयोगमा छ । तिमध्ये ताररहित इन्टरनेट प्रयोगकर्ताको संख्या ४६ हजार ८ सय ७७ रहेको छ भने तारसहितको इन्टरनेट प्रयोगकर्ताको संख्या २ लाख १ सय ६९ रहेको छ ।
त्यस्तै पछिल्लो पटक प्रयोगमा आएको फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या भने उल्लेख्य नै रहेको छ । प्रधिकरणका अनुसार फाईबर इन्टरनेट प्रयोगकर्ताको संख्या १२ लाख १० हजार ५ सय १० पुगेको छ । यिनीहरु मध्ये फाइबरको इन्टरनेटको प्रयोग बढेपछि तारसहितको ईन्टरनेट प्रयोगकर्ताको संख्या घटेको देखिएको छ ।
जानकारहरुका अनुसार तार सहितको इन्टरनेटमा अवरोध बढी हुने हुन्छ । तर, फाईबरमा त्यस्तो हुँदैन ।
सबैभन्दा बढी प्रयोगकर्ताको रोजाईमा वर्ल्डलिंक
प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा बढी प्रयोगकर्ताहरुको रोजाईमा वर्ल्डलिंक देखिएको छ । २०७७ साल फागुनको तुलनामा चैत्रसम्ममा वर्ल्डलिंकका प्रयोगकर्ता बढेका छन् । प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार चैत्रसम्ममा उसका ग्राहक ४ लाख ६८ हजार ४६ रहेका छन् । फागुनको तुलनामा यो संख्या झण्डै ५ हजारले बढी हो ।
नेपाल टेलिकम दोस्रो सबैभन्दा धेरै ग्राहक भएको इन्टरनेट सेवा प्रदायक हो । चैत्रसम्ममा उसको ग्राहक संख्या २ लाख ८९ हजार ६ सय १३ रहेका छन् । फागुनको तुलनामा यो संख्या करिब ६ हजार बढी हो ।
प्रयोकर्ताको रोजाईमा सुबिसु, भाइनेट र क्लासिक टेक क्रमशः तेस्रो चौथो र पाँचौ स्थानमा रहेका छन् ।
फाइबर इन्टरनेटमा वर्डलिङ्क पहिलो नेपाल टेलिकम पाँचौ स्थानमा
पछिल्लो पटक प्रविधिको विकाससँगै दु्रतगतिको इन्टरनेट सेवाको लागि फाईबर ईन्टरनेट सबैभन्दा प्रभावकारी देखिएको छ । फाईवरको इन्टरनेटको विस्तारमा पनि निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरु नै अगाडी देखिएका छन् ।
नेपाल टेलिकम फाईवर इन्टरनेट सेवा बिस्तार गर्नेमा ५ औं नम्बरमा परेको छ । पहिलो नम्बरमा इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक परेको छ । उसले नेपालमा सबैभन्दा बढी प्रयोगकर्ताको माझमा आफ्नो फाइबर इन्टरनेट सेवा विस्तार गरेको छ । उसको ४ लाख ६६ हजार ४३ जना प्रयोगकर्ताहरु रहेका छन् ।
फाईबर इन्टरनेट सेवा विस्तारमा नेपाल टेलिकम भने पाँचौं स्थानमा रहको छ । चैत्रसम्म नेपाल टेलिकमका १ लाख ५ हजार ६ सय ४ जनामा प्रयोगकर्ता रहेका छन् । तर नेपाल टेलिकम भन्दा अगाडी सुबिसुका १ लाख ५८ हजार, भाईनेटका १ लाख ३८ हजार तथा क्लासिक टेकका १ लाख ३६ हजार प्रयोगकर्ता रहेका छन् ।
फाईवरले तारसहितको इन्टरनेट सेवा विस्थापित गर्दै
फाइवर इन्टरनेटको प्रयोगले तारसहितको ईन्टरनेट सेवा क्रमशः विस्थापित गराउँदै लगेको पाइएको छ । प्राधिकरणको तथ्यांकअनुसार फागुनको तुलनामा चैत्रमा तारसहतिको इन्टरनेट प्रयोगकर्ताको संख्या झण्डै २ हजारले घटेको छ । फागुनमा तारसहितको इन्टनेट प्रयोगकर्ताको संख्या करिब २ लाख २ हजार थियो भने चैत्रमा यो संख्या घटेर २ लाख भएको छ ।
त्यस्तै ताररहित इन्टरनेटको प्रयोगकर्ताको संख्या पनि करिब ३ सयले घटेको छ ।
ताररहित र तारसहितको इन्टरनेट प्रयोगकर्ता घट्दा फाइवर इन्टरनेट प्रयोगकर्ता भने उल्लेख्य बढेका छन् । फागुनको तुलनामा चैत्रमा यो संख्या करिब २८ हजारले बढेको छ । प्रधिकरणका अनुसार फागुनमा फाईवर इन्टरनेट प्रयोगकर्ताको संख्या करिब ११ लाख ८२ हजार रहेकोमा चैत्रसम्मा यो संख्या १२ लाख १० हजार पुगेको छ ।

वि.सं.२०७८ असार ११ शुक्रवार १७:०८ मा प्रकाशित






























