असार १७, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय समिति बैठकमा उपस्थितिका लागि माधवकुमार नेपालसहित उनी पक्षीय नेताहरुलाई पनि निम्ता पठाइएको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएअनुसार निलम्बन फुकुवा गरिएका वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालसहितका नेताहरुलाई पनि निम्ता पठाइएको हो ।
उनले बताएअनुसार शुक्रबारको बैठकमा सहभागी हुन सबै नेताहरुलाई इमेलमार्फत पत्र र मोबाइलमार्फत एसएमएस गरिएको छ । साथै केही वरिष्ठ नेताहरुलाई टेलिफोनसमेत गरिएको उनले जनाए ।
बुधबार अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक राख्दै आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेका थिए । सो निर्णयसँगै माधव पक्षका ११ नेतामाथि गरिएको कारबाही पनि स्वतः निष्प्रभावी भएको बताइएको छ ।
कारबाही मुक्त भएका माधव पक्षका नेताहरुलाई पनि बैठकमा बोलाइएको हो । तर, माधव पक्षले भने शुक्रबार बोलाइएको बैठकमा उपस्थिति हुने/नहुने निर्णय लिईसकेको छैन् । माधव पक्ष बैठकमा जाने/नजानेबारे अहिले छलफलमा छ ।
वि.सं.२०७८ असार १७ बिहीवार १७:३३ मा प्रकाशित






























