असार १७, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद दीनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णं रुपमा असफल भएको टिप्पणी गरेका छन् । बिहिबार राष्ट्रिय सभाको आठौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै शर्माले यस्तो टिप्पणी गरेका हुन् ।
उनले देशमा कोभिड महामारीभन्दा ठूलो प्रतिगमनको संकट रहेको बताए । ‘ मुलुकमा कोभिड महामारीको संकट छ, त्यो संकटभन्दा ठूलो संकट प्रतिगमनको संकट हो’, बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हामीलाई सुरुमा दुई तिहाइको दम्भ देखायौँ । त्यसपछि हामीले न पार्टी जोगाउन सक्यौँ, न जनप्रतिनिधि संस्थालाई जोगाउन सक्यौँ । हामी असफल भयौँ ।’
शर्माले पटक–पटक प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गिनिज बुकमा नाम लेख्ने अवसर पनि आएको बताए । उनले अब तेस्रो पटक पनि विघटन गरे गिनिज बुकमा अवश्य नाम लेखिने टिप्पणी गरे ।
‘अब पनि अवसर मिल्यो र तेस्रोपटक विघटन गर्नुभयो भने गिनिज बुकमा नाम लेखिनेछ। र, नेपालको गौरव सबैभन्दा माथि हुनेछ। यस्तो किसिमको स्थिति नआओस्। हामीलाई संसद् विघटन गरेर गिनिज बुकमा नाम लेखाएर देशको नाम लेख्नुपर्ने आवश्यकता छैन’, उनले भने।
वि.सं.२०७८ असार १७ बिहीवार १७:५३ मा प्रकाशित






























