असार २९, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सकिएको छ ।
पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागिताका बारेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेर मात्रै टुंग्याउने निर्णय गरेको छ । स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भावी प्रधानमन्त्री देउवासँग मन्त्रिपरिषद् गठन, सरकार सञ्चालनको विधिलगायतका बारेमा छलफल गरेर निर्णय लिने बताए ।
उनका अनुसार देउवा नेतृत्वको सरकारमा सहभागी हुने विषयमा भने माओवादी सकारात्मक छ ।
‘आज नै प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त हुने र मन्त्रिपरिषद् गठन गर्ने सन्दर्भमा पार्टी अध्यक्ष प्रचण्डले तुरुन्तै भावी प्रधानमन्त्री देउवासँग सरकार सञ्चालनको निम्ति आवश्यक विविध विषयमा प्रारम्भिक छलफल गर्ने र सरकारको स्वरुपका बारेमा ठोस छलफल गरेर आजको मन्त्रिपरिषद् गठनलाई अघि बढाउने निर्णय भएको छ’ प्रवक्ता श्रेष्ठले भने।
प्रवक्ता श्रेष्ठका अनुसार सरकारमा सहभागी हुने मन्त्रीहरुको नामका बारेमा छलफल भईसकेको छैन् ।
वि.सं.२०७८ असार २९ मंगलवार १२:११ मा प्रकाशित




























