१२ भदौ, काठमाडौँ । सत्तारुढ दल नेपाली काङ्ग्रेसको निर्वाचन समितिले थप पाँच जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक गरेको छ ।
पार्टीको १४ औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँचीका क्रियाशील सदस्यको नामावली निर्वाचन समितिले सार्वजनिक गरेको हो । यसअघि समितिले ४८ जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक गरिसकेको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार सम्बन्धित जिल्लामा निर्वाचन अधिकृतसमेत खटाइसकिएको छ ।
यसैबीच क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै रिले अनशनमा बसेका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका काँग्रेस जिल्ला सभापतिहरुले अनशन अन्त्य गरेका छन् ।
उनीहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका लागि बनाइएको दोहोरो मापदण्ड हटाई एउटै बनाउनुपर्ने र क्रियाशील सदस्यता विवाद मापदण्ड अनुसार अन्त्य गर्नुपर्ने माग राख्दै आएका उनीहरुले आफूहरुको माग पुरा भएको भन्दै मंगलबार देखिको अनसन तोडेका हुन् । क्रियाशील सदस्यता विवाद टुंग्याउने जिम्मा पाएका नेताहरु कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकले शनिबार साँझ पार्टी कार्यालय सानेपा पुगेर अनशन बसेका जिल्ला सभापतिलाई अनसन तोड्न आग्रह गरेका थिए ।
नेता सिटौलाले सबै माग पूरा भइसकेको भन्दै जिल्ला सभापतिहरुलाई महाधिवेशनको तयारीमा लाग्न आग्रह गरेका छन् ।
नेपाली काँग्रेस नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले पनि आफूहरुको माग पुरा भएका कारण मंगलबार देखि सुरु भएको २४ घन्टे रिले अनसन स्थगित गरिएको जानकारी दिए । उनले अब आफूहरु सबै १४ औ महाधिवेशनको महान पर्बमा सहभागि हुने बताएका छन् ।
वि.सं.२०७८ भदौ १२ शनिवार २०:४५ मा प्रकाशित






























