काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत खानेपानी, स्वास्थ्य तथा सरसफाइ सम्बन्धी सचेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ।
नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व ९सिएसर० कार्यक्रम अन्तर्गत उक्त तालिम विद्यालय परिसरमा भव्य रूपमा आयोजना गरिएको हो ।
विद्यालयका विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूलाई स्वच्छ खानेपानीको प्रयोग, व्यक्तिगत सरसफाइ, वातावरणीय स्वच्छता र स्वस्थ जीवनशैली अपनाउने विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो। साथै, दूषित पानीका कारण मानव स्वास्थ्यमा पार्ने असर, विभिन्न रोगहरू र त्यसबाट बच्ने उपायका बारेमा समेत व्यवहारिक जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा प्रशिक्षकहरूले दैनिक जीवनमा हात धुने सही तरिका, शौचालयको उचित प्रयोग, पानी सुरक्षित राख्ने विधि तथा विद्यालय र घरपरिवारमा सरसफाइ कायम राख्नुपर्ने विषयमा विशेष जोड दिएका थिए। स्वच्छ खानेपानी र सरसफाइ नै स्वस्थ समाज निर्माणको मुख्य आधार भएको उनीहरूको भनाइ थियो ।

उक्त विशेष कार्यक्रममा सम्बन्धित संस्थाका प्रतिनिधि सुमन काफ्ले, विद्यालयका प्रधानाध्यापक मीन बहादुर दहाल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रितम भुजेलको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक मीन बहादुर दहालले यस्ता सचेतनामूलक तथा व्यवहारिक कार्यक्रमले विद्यार्थीहरूको ज्ञान र चेतनास्तर अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। विद्यार्थीहरूले यहाँ सिकेका कुरा घरपरिवार र समुदायसम्म पुर्याउन सके मात्र समाजमा सकारात्मक परिवर्तन आउने विश्वास उनले व्यक्त गरे।
त्यसैगरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रितम भुजेलले विद्यार्थीहरूलाई स्वच्छता र स्वास्थ्यप्रति जिम्मेवार बनाउन यस्ता कार्यक्रम अपरिहार्य रहेको उल्लेख गर्नुभयो। आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्ने बताउँदै उहाँले विद्यालयमा शैक्षिक गतिविधिसँगै जीवन उपयोगी सीप र व्यवहारिक शिक्षालाई प्राथमिकता दिइनुपर्नेमा जोड दिए।
तालिम निकै उपयोगी र ज्ञानवर्द्धक रहेको प्रतिक्रिया दिँदै सहभागी विद्यार्थीहरूलाई कार्यक्रमको अन्त्यमा प्रमाणपत्र समेत वितरण गरिएको थियो। विद्यालय परिवारले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो सराहनीय कार्य गरेकोमा नबिल बैंक तथा सम्बन्धित संस्थाप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा राखेको छ ।
वि.सं.२०८३ जेठ ७ बिहीवार २१:२२ मा प्रकाशित






























